coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘कविताको कथा, गीतको कथा’ भित्रको अन्तरकथा

ऊ चाउरे पनि हो

ऊ काले पनि हो

अरूबाट आफ्नो सक्कली नाम सुन्न

जसले बाबुको सराद्धे पर्खनुपर्छ...  

प्रायः आफूभन्दा निम्न वर्गका अलि हेप्न मिल्ने व्यक्तिहरूलाई उसको शारीरिक बनोट, रूपरङ्गअनुरूप रतिभर नहिच्किचाउँदै यस्तै अनेक उपनामहरूले बोलाउने बानी परिसकेको छ। गाउँघरतिर त झन् यसरी बोलाउँदा सायद आफ्नो प्रतिष्ठा नै उच्च भएको सम्झने गर्छौं होला हामी।  

गाउँका एक पौरखी किसान हर्कबहादुर ऊ साहुको जग्गामा सानो कटेरो हालेर परिवारसहित बस्ने गर्छ। साहुको जग्गामा बसेकाले उसले साहुको घरमा ज्यालामजदुरी पाउने गरी काम गर्ने, अन्य समयमा गाउँलेहरूकहाँ हलो–कोदालो गरेर आफ्नो परिवार पाल्ने एक पौरखी किसान हो हर्कबहादुर। हर्कबहादुर सिन्धुलीमाढी जाने ठुलो कच्ची बाटाको दक्षिण दिशातिर साहुको जग्गामा बसेको एक साधारण किसान हो।

सर्लाही जिल्ला हरिवनमा जन्मेका कवि दिनेश अधिकारी यौवनकालमा उच्च शिक्षाका निमित काठमाडौंमा पढ्नेताका जब बिदामा प्रत्येकपटक गाउँ पुग्थे, उनले हर्क दाइ भनी सम्बोधन गर्ने गरेका उनै हर्कबहादुरको कटेरोमा पनि जान्थे। कहिले बिँडीको तलतल मेट्न त कहिले गफिन पुग्ने कवि उसको पौरखीपन, जिजीविषादेखि निकै प्रभावित भएर उनैलाई ध्यानमा राखी हर्कबहादुर कविता लेखिएको बताउँछन्।

शिखा बुक्सको प्रकाशनमा हालै बजारमा आएको कवि तथा गीतकार दिनेश अधिकारीको पूर्वप्रकाशित कविता तथा गीत र त्यससँग जोडिएका आफ्ना अनुभूतिहरूका कथा समेटिएको पुस्तक हो– कविताको कथा गीतको कथा।  

पुस्तक दुई भागमा विभक्त गरिएको छ। जसमा प्रथम खण्डमा एघार वटा कविता र त्यससँग जोडिएका कथा एवम् दास्रो खण्डमा गीतकार दिनेश अधिकारीका सत्र वटा लोकप्रिय गीतसँगै ती कसरी सिर्जना भए भन्ने रोचक तथा जानकारीमूलक प्रसङ्गहरू कवि स्वयम्ले आफ्नै शैलीमा पोखेका छन्।  

नेपाल सरकारको उच्चतहका कर्मचारीका रूपमा निकै लामो समय बिताइसकेका लेखक कानुनी अनुसन्धानको सिलसिलामा देशका कुनाकाप्चा पुगेका बेला मानवीय व्यथा, सुखदुःख, गाउँसमाजमा व्याप्त व्यथितिहरूलाई नजिकबाट नियाल्न पुगे। कहिले आफू स्वयम् घरपरिवारबाट टाढा रहनु पर्दाका पीडालाई, कहिले कविता त कहिले गीतका माध्यमबाट कसरी कस्तो परिस्थितिमा ती रचिए भन्ने तथ्य नेपाल सरकारका एक उच्चतहका कर्मचारी दिनेशहरि अधिकारीभित्र रहेको कविगीतकार दिनेश अधिकारीका जीवनभोगाइहरूका कथा यस पुस्तकमा समेटिएका छन्।  

रारा महोत्सवका लागि मुगु जिल्ला पुग्दा त्यहाँको चिसोले कविलाई खातमाथि खात लुगा लगाउन बाध्य पार्छ। यस्तो चिसो चिसो सहन गाह्रो परिरहेको त्यस बेलामा कविको साथमा सहयोगीका रूपमा रहेका गाउँका स्थानीय मानिस भने घेरा च्यातिएको टोपी र कमिजसँगै चिथ्रो भइसकेको ज्वारीकोट लगाएका हुन्थे। त्यस्तो जाडोमा ती व्यक्तिले कसरी रात काट्दै होलान् भन्ने कुरा काँडाझैं मनमा बिझेपछि ‘नीलो बह’ कविता सिर्जना भएको कुरा पढ्दा कविका कविता कल्पनाबाट मात्र होइन, वास्तविक भोगाइबाट पनि जन्मन्छन् र त्यसले सबैको मनमा छुन पुग्छ भन्ने आभास गराउँछ।  

‘पच्चीस वर्ष लाऊँ–लाऊँ र खाऊँ–खाऊँको उमेरमै ऊ मरी... कवि अधिकारी २०४२ सालमा बैतडी जिल्लामा सरकारी वकिलको हैसियतले रहँदा एक गाउँमा एकै परिवारका ४ व्यक्तिको हृदयविदारक हत्याको अनुसन्धानका लागि पुगेका थिए। त्यस घटनामा मृतकमध्येका भर्खर पच्चीस वर्षीय युवती, जसको आफ्नो सानीनानीका साथ सुतिरहेको अवस्थामा विभत्स हत्या भएको थियो। यो घटनाको खोजतलासका क्रममा हत्या भएकी युवतीको लोग्नेको पनि केही समयपहिले हत्या भएको थाहा हुन्छ। 

युवतीले सानो सुट्केसभित्र आफ्नो मृतक लोग्नेको फोटोका साथमा लोग्नेको हस्ताक्षर भएको कपी, लोग्नेको कमिजसँग आफ्नो चोलो, टोपीसँग पछ्यौरा, गन्जीसँग आफ्नो ब्रा गरी लोग्नेको शरीरका हरेक अंगसँग मिल्ने आफ्ना हरेक अङ्गका लुगाफाटाहरू तहतह गरी मिलाएर सुटकेसमा राखिएको दृश्यले एक अनुसन्धाताभित्र रहेको कविमनलाई निकै पछिसम्म पनि विचलित गराउँछ। पतिपत्नीबीचको सम्बन्धको यति सुन्दर र सशक्त अभिव्यक्ति अर्को केही हुन सक्दैन भन्दै त्यस घटनाबाट अभिप्रेरित भएर ‘निशब्द अभिव्यक्ति’ कविता रचिन पुगेको छ। पुस्तकमा कवि आफैले देखेकाभोगेका मानवीय जीवनका संवेदनाहरूलाई कविताका माध्यमबाट पोखेको लामो अन्तरालपछि कोरोनाकालीन समयको सदुपयोग गर्दै यो पुस्तक लेखिएको कुरा पुस्तकको प्रथम पेजमा लेखक अधिकारीले उल्लेख गरेका छन्।  

पुस्तकको प्रथम खण्डमा एघार कविता भित्रका कथाहरू रहेका छन् भने पुस्तकको दोस्रो खण्डमा गीतकार दिनेश अधिकारीका सत्रवटा गीतहरू तथा सम्बन्धित गीतका कथाहरू समेटिएका छन्, जुन रोचक, रमाइला र जानकारीमूलक लाग्छन्। जसमा स्वरसम्राट नारायण गोपालद्वारा गाइएको गीत ‘तिमी जुन रहरले ममा फुल्न आयौ’, यो सम्झिने मन छ म बिसूँ कसोरी’ स्वरकिन्नरी तारादेवीद्वारा गाइएको ‘सोचे जस्तो हुन्न जीवन’, ‘जीवनभन्नु त घात छ’, लगायत नेपाली चलचित्र झुमाको गीत ‘बोल बोल पाखाहरू’ गीत कसरी लेखिए, गीतमा समावेश मनाङमा गाइने स्थानीय तिब्बती भाषाको प्रयोग गरिएका उक्त गीतका दुई लाइन कसरी समावेश भए भन्ने तथ्य लेखकले यस पुस्तकमा खुलाएका छन्।  

यसैगरी आजपर्यन्त पनि प्रत्येक तिहारको भाइटीकामा बज्ने नेपाली कथानक चलचित्र ‘विजय–पराजय’मा आशा भोस्लेद्वारा गाइएको ‘ निधारमा लर्काएर सप्तरङ्गी टीका’ गीतको प्रसंगमा गीतकार दिनेश अधिकारीले आफू जागिरको सिलसिलामा २०४१ सालमा काठमाडौंदेखि टाढा बैतडी जिल्लामा रहेकाले जीवनमा पहिलोपटक तिहारको बेलामा घर आउन नपाएकाले आफ्नी दिदीबहिनीको हातबाट भाइटीका लगाउनबाट बन्चित हुनु पर्दा मन साह्रै खिन्न भएको कुरा व्यक्त गर्दै पछि चलचित्रमा जब तिहारको भाइटीकासँग सम्बन्धित गीत सम्पूर्ण नेपालीहरूका लागि उत्सवमय चाड भाइटीकाको महत्व, दाजुभाइ–दिदीबहिनीबीचको आपसी प्रेमलाई दर्शाएर लेखिएको कुरा व्यक्त गरेका छन्।  

यसरी पुस्तक ‘कविताको कथा गीतको कथा’मा समग्रमा कविता र गीत कसरी लेखिए भन्ने लेखक आफैले यसरी विस्तृत रूपमा उल्लेख गरेका छन्। सम्भवतः नेपाली साहित्य क्षेत्रमा यसरी कविगीतकार आफैले ती कसरी कस्तो परिस्थितिमा लेखिए भन्ने कुरा पुस्तकका रूपमा लेखिएको विरलै पाइन्छ।  

पुस्तक विश्वविद्यालयमा अध्ययन गर्ने सम्बन्धित प्राध्यापक, शिक्षक तथा विद्यार्थी वर्गका लागि सन्र्दभ सामग्री पुस्तकका रूपमा प्रयोग गर्न उपयोगी हुनसक्छ। पुस्तक नेपाली संगीतसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने सञ्चार क्षेत्रका व्यक्तिहरूका लागि जानकारीमूलक सावित हुन सक्ने देखिन्छ।

प्रकाशित: ३२ असार २०७९ ०४:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App