अन्तर्बोध (साहित्यिक त्रैमासिक पत्रिका) मार्फत साहित्यिक पत्रकारितालाई निरन्तरता दिइरहेका होमशंकर बास्तोला नेपाली साहित्यवृत्तका बलिया खम्बा हुन्। उनी आफ्नो लेखनसँगै अरू सर्जकलाई पनि सँगसँगै लैजाने गर्दछन्, अन्तर्बोधमार्फत। उनका आँसुका झरनाहरू(कथा, २०५८), घाम हराएको दिन (गजल, २०६१), बन्दुकको छाया (कथा, २०६७) र हिमाल पहाडका कथा (२०७१) आदि कृतिहरू प्रकाशित छन्।
साहित्य साधनामा निरन्तर लागिरहेका बास्तोलाको नवीन कवितासङ्ग्रह ‘भोका सपनाहरू’ प्रकाशित भएको छ। भोका सपनाहरूमा विविध शीर्षकका पैँतीस थान कविताहरू रहेका छन्। व्यवस्था बदलिए पनि जनताका अवस्था ज्युँकात्युँ रहेको वर्तमान परिवेशका बेतिथिहरू कविता बनेर आएका छन्।
हामीले पढ्दा यी कविताहरू नै हुन्, तर यथार्थ पनि त्यही हो, जुन कविताले बोलेका छन्। कवि हुनु र नहुनु, कविता बुझ्नु र नबुझ्नु आफ्नै कुरा हो तर हाम्रा भोगाइबाट हामी टाढिन सकिरहेका छैनौं। हामीलाई मार्ग निर्देशन गर्नेहरू उल्टो यात्रामा छन्, यानी सरकार भन्ने जिनिस उल्टो यात्रामा छ। यसलाई सुल्ट्याउन हामी सर्जकहरूले भरमग्दुर प्रयास गरिरहेका छौं, कवि होमशंकर बास्तोलाको पनि त्यही प्रयास हो ‘भोका सपनाहरू’ कवितासङ्ग्रह।
प्रकृतिप्रेम, राष्ट्र र राष्ट्रियताप्रतिको स्नेह, पर्यावरणीय चेतनाका स्वरहरू, सामाजिक असहजताका सामुहिक आवाज उनका कविताका विषयवस्तु हुन्। जसरी एउटै बगैँचामा विविध फूलहरू आआफ्नै सुगन्ध बोकेर फक्रिरहेका हुन्छन्, होमशंकरका कविताहरूमा पनि यस्तै विविधता झल्किएका छन्।
उनको कविताको मूल उद्देश्य भनेकै मानवीय संवेदनासँग जोडिनु हो, उनीहरूको दुःखदर्दमा आफू सामेल हुनु हो। कविमा हाम्रो समाजको गुणदोष केलाउन सक्ने क्षमता प्रगाढ छ, त्यसैले यी कविताहरू जन्मिएका हुन्।
मानवको भावनासँग खेल्ने सबै मान्छेका शत्रु नै हुन्, त्यसकारण उनीहरू विरुद्धको विद्रोह हो भोका सपनाहरू। नेपालको राजनीति प्रणाली र नेताहरूको रवैयाले उब्जिएका समस्याको समाधान खोज्नुभन्दा पनि त्यसलाई बढाउने उनीहरूको प्रवृत्तिले दिक्क बनेका कवि, भोका सपनाहरूमार्फत सजग गराउन चाहेका छन्।
होमशंकरका कविताले कहिल्यै कसैको सर्मथन या गुनगान गाएका छैनन्। उनका कविताले सिङ्गो समाजका मुद्दालाई उठान गरेको देखिन्छ। सत्तामा रहँदा शक्तिको दुरूपयोग रोक्न उनका कविताले आग्रह गरिरहेका छन्।
भ्रष्ट राजनेताहरूको दोहोलो काढेका छन्। सत्तामा पुगेर आफ्नो हैसियत बिर्सेका नेताहरूलाई आफ्नो हैसियत नभुल भनेर सचेत गराइरहेका छन्। उनीहरूले गरिने राजनीतिले दिक्क भएका जनताका आवाजहरूलाई एककृत गरेर कविता मार्फत् व्यक्त गरेका छन्। हुन त ढुङ्गाको मन हुनेसँग जति नै चिच्याए पनि केही लाग्दैन तर, हामीले नबोले कसले बोल्छ? हामीले नलेखे कसले लेख्छ? भन्ने उनको राय छ। हो, यस्तै सुन्दर विचारले एक दिन ढुङ्गाको मन पग्लन्छ, त्यो सामथ्र्य होमशंकरको कवितासङ्ग्रह भोका सपनाहरूले बोकेको छ।
मानवीय मूल्य मान्यतासँगै उनका कविताहरूमा जीवनदर्शनका प्रतिछायाहरू प्रशस्त भेटिन्छन्। हाम्रै समाजमा भएका यथार्थता–चित्रण कवितामार्फत् शालीन रूपमा उजागर गर्न खप्पिस देखिएका छन्, होमशंकर भोका सपनाहरूमार्फत। कविताको मूल कुरा बिम्ब हो, कविले कविता मार्फत प्रस्तुत भएका सरल, बोधगम्य शैलीका बिम्बले कवितालाई चिटिक्क पारेका छन्।
सधैँ सबैले पोख्ने वेदना उनीबाट पोखिएका देखिँदैनन्, यसलाई पृथक प्रस्तुतिबाट प्रयोग गर्नु उनको अर्को विशेषता हो। आजकल धेरै कविताहरू विभिन्न वाद–प्रतिवादमा रहेर लेखिएका भेटिन्छन्, नाराजस्ता लाग्ने ती कविताहरूको कुनै मूल्य हुँदैनन्। सीमित वर्गहरूलाई लक्षित गरेर लेखिएका कविताहरू जीवन्त रहन सक्तैनन्, त्यसर्थ होमशंकरका कविताहरू युगौँयुगसम्म जीवन्त रहने कविताहरू हुन्।
उनले कवितामार्फत प्रगतिशीलता, राष्ट्रवादी, जनपक्षीय र परिवर्तनकामी समाजको निमार्णमा जोड दिएका हुनाले उनका कविताहरू देश र समाजप्रति उत्तरदायी देखिन्छन्। सकारात्मक सोच भएका कविका रूपमा पनि लिन सकिन्छ उनलाई। उनका कविताहरू पढ्दा यस्तो लाग्छ, उपदेशभन्दा पनि सोच राम्रो भयो भने सबै कुरा राम्रो हुन्छ भन्ने कुराका प्रस्ट हुन्छ।
हामी समाज परिवर्तनका लागि नै साहित्य लेख्छौँ भने हाम्रो विचार सधैँ सकारात्मक हुनु जरुरी छ। होमशंकर कविता लेख्नु खाली शब्दहरूको जन्जालमात्र होइन, निश्चित उद्देश्य बोकेर देश, जनतासँगै शासक वर्गलाई सधैँ सचेत गराउनु पनि एउटा सर्जकको कर्तव्य हो भन्ठान्छन्। यस्तै उद्देश्यका साथ लेखिएका यी कविताहरूलाई समाजप्रति उत्तरदायी कविताका रूपमा लिन सकिन्छ।
प्रकाशित: १८ असार २०७९ ०३:१६ शनिबार