२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

सिलवालको 'बाको कोट' लोकार्पण

लघुकथाकार राजन सिलवालको लघुकथासंग्रह बाको कोटको केन्द्रीय तथ्यांक विभागमा एक भव्य कार्यक्रमबिच लोकार्पण भयो।

प्रमुख अतिथि लेखक तथा नेपाल सरकारका सचिव श्यामकुमार भट्टराई, वरिष्ठ साहित्यकार महेश प्रसाई, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्राध्यापक डा.भरतकुमार भट्टराई, केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठ, कवि देवु लुइँटेल, कृतिकार राजन सिलवाल र लघुकथाभित्रका पात्रहरूको प्रतिनिधि पात्र देवेन्द्रलाल कारञ्जितले संयुक्त रूपमा बाको कोटको लोकार्पण गरे।

कार्यक्रममा ओम रिजाल, कार्यक्रम सञ्चालक एलिना दुलाल र कृतिकार राजन सिलवाल समेतले कृतिका एकएकवटा लघुकथा वाचेका थिए। कार्यक्रममा प्राध्यापक भरतकुमार भट्टराईले राजन सिलवालको लघुकथाकारितामाथि टिप्पणी गर्दै सिलवालका लघुकथा उनका मुक्तक जत्तिकै सशक्त र विविध विषयलाई तीक्ष्णतापूर्वक अभिव्यक्त गर्दै पाठकहरूको मनमस्तिष्कमा छाप छोड्न सफल रहेको बताए। 

उनले आफ्नो चेलो आफूभन्दा मेधावी र श्रेष्ठ भएकामा गौरव लाग्छ भन्दै सिलवाल अध्ययनका लागि चेलो भए पनि मुक्तक र लघुकथामा आफूले पनि गुरु सम्झेको बताए। उनले सिलवालका लघुकथाहरूमाथि कसैले विद्यावारिधि गर्न सक्छ भन्ने दाबीसमेत गरे।

अर्का अतिथि महेश प्रसाईले सिलवालका लघुकथाहरू पछिल्लो समयमा समकालीन लघुकथाको एउटा धार र प्रवाहका रूपमा अगाडि आएको र ती भाव, शैली, विचार, भाषा आदिको दृष्टिले अत्यन्त शक्तिशाली रहेको बताए। उनले भविष्यमा आमाको आँचल वा आमाको सारी विषयको कृति पढ्न पाइयोस् भन्ने कामना गरे। उनले भने, ‘कमै स्रष्टाले यति सशक्त लघुकथा लेखेका छन्।

अर्का अतिथि वक्ता केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले लेखकसँगको २५ बर्से संगत र सहकार्य सम्झिदै विभागको हलमा यसप्रकारको कार्यक्रम पहिलोपटक गर्न पाएकोमा खुसी हुँदै लेखकको काम, क्षमता र लेखनीबाट आफू मुग्ध रहेको बताए।

लेखकका सहकर्मी रामहरि गैह्रेले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा लेखककी पत्नी नीता सिलवालले लेखकसँगको २४ बर्से लामो दाम्पत्य जीवनका रोचक विविध प्रसङ्ग सम्झिदै लेखकको पत्नी हुन पाउँदा गर्व लागेको बताइन्।

प्रकाशकले लेखकलाई पाठकसँग जोड्न पाउँदा खुसी लागेको अनुभव श्रीमती सिलवालले गरिन्। उनको प्रकाशकीय मन्तव्यमा सम्पूर्ण सहभागी भावविभोर भएका देखिन्थ्यो। लघुकथाकार सिलवालले सहभागीको अनुरोधमा आफ्नो सर्वप्रिय मुक्तकसहित कृतिको ‘जुत्ता’ लघुकथा वाचेका थिए।

संग्रहका पात्रहरूमध्येबाट मञ्चमा उभ्याइएका पात्र देवेन्द्रलाल कारञ्जितले आफूमा लिखित एउटा लघुकथा वाचेर लघुकथाकार मित्र सिलवाललाई बधाई दिए।

करिब ९० जनाको शान्त र सभ्य उपस्थिति रहेको सो कार्यक्रममा सभाध्यक्ष कवि देवु लुइँटेलले राजन सिलवालको व्यक्तित्व, कलम एवं शब्दको सामथ्र्यबाट आफू प्रभावित रहेको र संग्रहका कथाहरू हरेक दृष्टिबाट पठनीय रहेको बताइन्। 

प्रकाशित: १३ असार २०७९ ०६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App