१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नियात्राकार आलोकको ‘पहाड र लमतन्न समुद्र’माथि अन्तरक्रिया

नियात्राकार पवन आलोकको ‘पहाड र लमतन्न समुद्र’ कृतिमाथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शनिबार नियात्रा समाज नेपालद्वारा आयोजित अन्तरक्रियामा उक्त नियात्राकृतिबारे बृहत छलफल भयो।

कार्यक्रममा नगेन्द्रराज शर्माले शुभकामना दिने क्रममा नियात्राकार आलोकको केही नियात्रामा आफू पनि रहेको बताए। म नियात्राकार सँगसँगै धेरै ठाउँ गएको छु। त्यसैले नियात्रामा म पनि ठाउठाउँमा आएको रहेछु। शर्माले आलोकको नियात्राको भाषा प्राञ्जल र सलल बगेको पनि बताए।

शुभकामना दिने  क्रमैमा रोचक घिमिरेले नियात्रामा पहाडी यात्राको सकस, देशको दूर्गति र नेताको आफूचिन्ते व्यवहार घनीभूत रूपमा आएको बताए।

साहित्यकार शैलेन्द्र साकारले आलोक नियात्राको भाषा सलल बगेको बताए।

अन्तरक्रियामा प्राडा लक्ष्मणप्रसाद गौतमले नियात्रामा प्रभावपूर्ण भाषा रहेको बताए। भाषामा कृत्रिमता छैन। नियात्रामा निजात्मक शैलीमा शक्तिशाली अनुच्छेद आएको छ। उनमा विम्ब  सिर्जनामा अद्भूत क्षमता देखिन्छ। उनले नियात्रामा अनुभूति पक्ष बलियो हुनुपर्नेमा जोड दिए।

समालोचक ज्ञानु अधिकारीले नियात्रामा गुगलले बताए जस्तै जानकारीको थुप्रो नभएको बताइन्। उनको नियात्रामा लम्बेतान वर्णन र बडपन्न प्रदर्शन छैन। नियात्राकारको शालीन र शिष्ट व्यक्तित्वको प्रभाव नियात्रामा परेको छ। उनले नियात्रामा सांस्कृतिक पक्ष सबल रूपमा आउनुपर्ने कुरा सुझाइन्।

समालोचक प्रमोद प्रधानले नियात्रामा लेखकको छुट्टै आँखा हुनुपर्ने बताए। उत्कृष्ट नियात्रा हुन लेखकीय आँखा हुनै पर्छ नत्र नियात्रा सामान्य यात्रा विवरणजस्तै हुन्छ। उनले  लेखकको उद्देश्य, रुचि र उमेरअनुसार नियात्रामा फरकफरक कुरा आउने र नियात्रामा झूट नटिक्ने भन्दै यात्रामा घटेका घटनाहरूले नियात्रा रोचक बनाउने पनि बताए।

डा.दामोदर पुडासैनीले नियात्रा गतिशील हुनुपर्नेमा जोड दिए। जीवनमा सबै कुरा मिसिएझैं  नियात्रामा  कथा, कविता, उपन्यास, निबन्ध अनेक विषयको सुगन्ध आउने पनि बताए।

 नियात्राकार पवन आलोक र समाजका अध्यक्ष प्रतीक ढकालले नियात्रासंग्रहबारे बोलेका थिए। नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालको सभाध्यक्षमा  सम्पन्न कार्यक्रम साहित्यकार श्रीओम श्रेष्ठ रोदनले सहजीकरण गरेका थिए।

प्रकाशित: १३ असार २०७९ ०५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App