४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

'स्वर्ग जाने बाटो' मञ्चनसँगै सुरु भयो बहुभाषिक नाटक उत्सव

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आईतबारबाट काठमाडौंको थापागाउँस्थित आरोहण गुरुकुल नाटक घरमा ‘बहुभाषिक नाट्य उत्सव २०७९’ सुरु भएको छ।

सो उत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब श्यामप्रकाश तमोट र अग्रज नाट्यकर्मी अशेष मल्लले उत्सवको संयुक्त उद्घाटन गरे।

दुई वर्षअघि नै आयोजना हुने भनिएको यो नाटक उत्सब कोरोना महामारीका कारण बल्ल आफूहरुले आयोजना गर्न सकेको उत्सव संयोजक एवम् प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य निशा शर्माले बताईन्। आइतबारबाट सुरु भएको यो उत्सव सप्ताहव्यापी रुपमा आयोजना हुने उत्सव संयोजक शर्माले कार्यक्रममा जानकारी गराईन्।

उत्सवको उद्घाटन समारोहमा बोल्दै उपकुलपति डा. गुरुङले यस्ता नाटक उत्सवले भाषा भाषिकाका नाटकहरुलाई पनि मुलधारमा ल्याउन मद्दत पुर्‍याउने बताए।

उत्सवको पहिलो दिन सोङकित लाप्चाको निर्देशनमा लाप्चा भाषाको नाटक ‘स्वर्ग जाने बाटो’ मञ्चन गरियो। यो नाटकलाई इलामका लाप्चा समुदायले प्रस्तुत गरेका थिए। सोङकित लाप्चा, ज्ञान बहादुर लाप्चा, ओङछिरिङ लाप्चा, दीमित लाप्चा, मिनमित लाप्चा, पेमकित लाप्चा, राजेन्द्र कट्टेल, सृष्टी राई र संजोक घिमिरेले यो नाटकमा अभिनय गरेका थिए।  

यो नाटकका मुख्य पात्रले आफू सपनामा स्वर्ग गएको रमाईलो कथा सुनाउँछन्। उनको कुरा सुनेपछि गाउँलेहरु मिलेर स्वर्गजाने बाटो बनाउने निर्णय गर्छन। उनीहरुले आफ्नो पुजा बिधी सम्पन्न गरेर बाटो पनि खन्छन्। तर माथि डाँडामा पुगेपछि सो बाटो लड्छ र स्वर्गजाने सपना जाने चाहना भातभुँग हुन्छ। इलामको लाप्चा उत्थान मञ्चले पहिलो पटक आफ्नो भाषामा यो नाटक मञ्चन गरेको हो। नाटकलाई दर्शकले मन पराए।

आइतबारबाट सुरु भएको यो उत्सब १८ असारसम्म जारी रहने छ। महोत्सवमा सोमबार थारु भाषाको कनन हरलता नाटक मञ्चन गरिने भएको छ। यस्तै मँगलबार बाम्बुले भाषाको नाटक सुम्निमा, बुधबार चाम्लिङ भाषाको नाटक सेमुना, बिहिबार पुमा भाषाको नाटक होङछा, शुक्रबार लिम्बु भाषाको नाटक सुविउ चरी र शनिबार खस भाषाको नाटक कुटिरो मञ्चन हुने भएको छ। 

आरोहण गुरुकुल सह आयोजक रहेको यो नाटक महोत्सब गर्नुको उदेश्य नेपाल बहुजाती बहुभाषी मुलुक भएको र ती भाषाको गीत संगीत नाटक, नाचगानको प्रोत्साहन गर्नु आफूहरुको दायित्व रहेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठको कथन छ।

प्रकाशित: १२ असार २०७९ १४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App