राजेन्द्र शर्मा
पितृसत्तात्मक समाज भएकाले होला मोहनलाई आमाको भन्दा बढी बुबाको आडभरोसा लाग्थ्यो।
बुबा सधैं रक्सी खाएर राति अबेर घर आउनुहुन्थ्यो। आमा भने खाना नखाई बुबालाई कुरेर बसेको देख्दा उसलाई साँच्चिकै आमाभन्दा बुबा महान् हुन भन्ने लाग्थ्यो।
एकदिन मोहनको नजर आमाको धोतीको सप्कोमा गयो। उसले झटपट आमालाई सोध्यो, ‘आमा, सप्कोमा केको गाँठो पारेर बाँध्नुभा’को नि?’
‘केही होइन’ भन्दै आमाले कुरो टार्न खोज्नुभयो र काममा व्यस्त हुनुभयो।
तर, मोहनलाई भने कौतुहलता जागिरह्यो। उसले यसको जवाफ बुबासँग खोज्ने निधो गर्यो। ऊ भित्र खटियामा पल्टेका बुबा नजिक गयो र सोध्यो, ‘बुबा, आमाले दुईतीन दिनदेखि धोतीको सप्कोमा बाँधेको गाँठोभित्र के छ?’
‘खोई,म पत्ता लगाएर भनौला’ यति भन्दै बुबा जुरुक्क खटियाबाट उठेर बाहिर निस्किए।
त्यस साँझ सबेरै चुलोचौको सकेर सबै छिट्टै सुते।
भोलिपल्ट बिहान मोहन उठ्दा बुबा घरमा हुनुहुन्थेन। आमा भने घोसेमुन्टो लगाउँदै भान्साकोठामा बस्नुभएको थियो। भान्सामा चुलो बलेको थिएन।
आमाले मोहन आएको चाल पाई झटपट आँसु पुछ्न धोतीको सप्को समात्न खोज्नुभयो। तर, सप्को च्यातिएकाले हातमा आएन। मोहनले ध्यान दिएर हेर्यो, आमाका आँखामा आँसु टिलपिलाएको थियो र सप्कोमा बाँधेको गाँठो पनि थिएन।
उसले आश्चर्य मान्दै आमालाई सोध्यो, ‘आमा, किन रुनुभएको अनि सप्कोमा बाँधेको गाँठो खोई?’
आमाले रुन्चे स्वरमा जवाफ फर्काउनुभयो, ‘नखाई नलाई दैनिक गुजारा चलाउन भनी तिम्रो बुबाबाट बँचाएर सप्कोमा बाँधी राखेको रुपैयाँ हिजो राति खोई कुन चोरले लगेछ!’
आमा बिलौना गर्दै हुनुहुन्थ्यो। यत्तिकैमा ढोका नजिक कोही जोरजोरले कराएको आवाज आयो। आमाछोरा दुवै आत्तिएर ढोका नजिक पुगे।
ढोकाछेउमै मोहनका बुबा अचेत भएर लडेका थिए। उनको मुखबाट जाँडको डुङडुङती गन्ध आइरहेको थियो र गोजीमा च्यातिएको धोतीको सप्को लत्रेको थियो।
प्रकाशित: ११ असार २०७९ ०६:४० शनिबार