विवि याक्खा
उसका पाइलाहरू फटाफट अघि बढिरहेको थियो। चुपचाप बाटामा भेटिने होटलेले बोलायो,‘ए मनुवा! भोक मेटेर जाऊ!’
उसले जवाफ फर्कायो,‘मेरो चाहना पेटको भोक हैन।’
त्यस्तै मधुशालाले बोलायो, ‘आउ मनुवा! मदहोस बनेर रमाउन।’
फेरि कहिले पनि बेहोसीमा जिउने बानी छैन भन्दै अघि बढयो। उनको अन्त कतै बिना अलमलले सबैले अनौठो मान्दै नै थिए।
एकाएक उनको पाइलाहरू एउटा लाइबेरीभित्र पुगेर रोकियो। हातमा पुस्तकका ठेली लिएर ऊ केही छिनपछि उनै बाटो हुँदै घरतर्फ फर्किंदै खुशीले सबैलाई मुसुक्क हाँस्दै भने,‘पँधेरासम्म पुगेर आएको।’
प्रकाशित: ९ असार २०७९ ०५:४१ बिहीबार