१२ असार २०७९ आइतबार
कला

पृष्ठको मापदण्ड

लघुकथा

दामोदर ढकाल दीपक

एउटी कवयित्री मेरो कार्यालयमा आइन् र भनिन्, ‘दाइ, मलाई एउटा सानो पुस्तक छाप्न मन लागेको छ।’

मैले उनीतिर हेर्दै भने, ‘किन सानो निकाल्ने बहिनी, सामाग्री कम छ हो?’

उनले कारण खुलाइन्,‘सामाग्री धेरै छन् तर पैसा कम छ।’ उनको अवस्था बुझेर मैले उनका रचनाहरू मिलाउन थालें। चिटिक्क परेको पुस्तक निस्कियो। उनले पुस्तक  सुम्सुम्याइन्। बच्चाले नयाँ खेलौना भेटे जस्तो खुसी भइन्। म उनको खुसी हेरेर आफ्नो पहिलो पुस्तक निकालेको क्षण सम्झिन पुगें।

केही दिनपछि पुस्तक विमोचन भयो। त्यसपछि पुस्तकको समीक्षा भयो। पुस्तक पढेर समीक्षा गर्ने कम भए। उनको लेखन क्षमताको सम्भावना कसैले देखेनन्। थोरै पृष्ठ मात्र देखे।

‘यो पुस्तकले राष्ट्रिय–अन्तर्राष्ट्रिय मान्यता पाउँदैन र पुरस्कार योग्य कृति बन्दैन।’

उनले निराश हुँदै सोधिन्,‘दाइ, के कम पेजको पुस्तक निकाल्नु नहुने हो? के यो मेरो पुस्तक नै भएन र?’

मैले उनलाई पूजा–कोठामा जाऊ भने। उनी पूजाकोठामा पुगिन् र आमाले पाठ गर्ने ‘हनुमान चालिसा’ भेटेको बताइन्।

लगत्तै बुबाको कोठामा जाउ भनें। उनी बुबाको कोठामा पुगेर सिरानीमा हेरिन्। उनले बुबाले सधैं पढ्ने गरेको ‘मुनामदन’ र ‘गौरी’ भेटेको बताइन्।

मैले उनलाई बताएँ, ‘कृति मान्यता र पुरस्कार पाउन कि मन जित्न लेखिने रहेछ? तिम्रा बुबाआमाले अन्तर्राष्ट्रिय मान्यता पाएको थाहा पाएर ती पुस्तक किन्नुभ’को हो त? एकपटक सोध त!’

उनी बल्ल खुसी भइन् र हाँस्दै भनिन्,‘सोध्नै पर्दैन दाइ!’

मैले भनें,‘सानो ऐंसेलु पनि फल हो। ठुलो कटहर पनि फल हो। कटहरलाई मात्र फल देख्नेहरूका कुराको पछि नलाग। पृष्ठ थोरै भयो भनेर पिर नगर। मान्छेले पिउने पानी जरुवाकै शुद्ध र  मिठो हुन्छ। अर्को कुरा मान्छे जन्मिंदै जवान भएर जन्मिंदैन।’

मैले यति भनेको केहीबेरमा उनले फेसबुकमा स्टाटस राखिछन्, ‘पुस्तक पृष्ठको बहस गर्नेलाई होइन, सिर्जनात्मक क्षमताको बहस गर्नेलाई स्वागत छ।’

मैले स्टाटस हेरेर महसुस गरें,‘मान्छेहरू बिरुवा रोप्न होइन, उखेल्न छिटो तम्सिँदा रहेछन्।’

प्रकाशित: ६ असार २०७९ ११:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App