सुरेश गाउँले
यो सुतिरहेको
काठमाडौंको छातीमा
जब मेरा पाइलाहरूले टेक्छन्
तब लाग्छ
वर्षाै वर्षदेखि भोकै रहेको
कुनै भोको प्राणीले झैं
टन्न खाएर
उग्राइरहे जस्तो
त्यसैले त
आवाजहरूको भिडमा पनि
ऊ चुपचाप सुतिरहेछन्
आजकाल
काठमाडौं चटपटाउँदैन
किनकि
अजिंगरले ठूलो संघर्षपछि
कुनै बडेमानको जन्तु खाएझैं
ऊ बिनाहलचल
लम्पसार परेर सुतिरहेछ
लाग्छ
खानलाई उसले कहिल्यै
संघर्ष गर्नु नपर्ने भो
त्यही भ्रममा ऊ चुपचाप सुतिरहेछ
मेरो काठमाडौं
वरिपरिको खल्याङबल्याङ
सुन्न ऊ चाहँदैन
वरिपरिको चिच्याहट पनि त
ऊ सुन्न चाहँदैन
स्वयम्भूका आँखाबाट
झर्दै गरेको आँसु
ऊ हेर्नै चाहँदैन
किनकि,
मध्यरात घण्टाघरमा
घडीका सुईहरूले
आत्महत्या गरिरहँदा
घण्टाघरले
जोडजोडसँग घण्टा बजाउँदा
तर्सिएर ऊ बिउँझिन चाहँदैन
हिमालहरू पर्खिरहेछन्
पहाडहरू पर्खिरहेछन्
र,पर्खिरहेछन् तराईका फाँटहरू
तिमी बिउँझिएको हेर्न
र देखाउने छन् तिमीलाई
लामो समयदेखि चाउरिएका
आफ्ना बूढा पीडाहरू
अरे ओ, मेरो काठमाडौं
अब त बिउँझ
गाउँका सुरिला रूखहरू
हराउन थालिसकेका छन्
आमाहरू हराएका
आफ्ना सिन्दूरहरू खोज्दै छन्
युवाहरू मेरो देश खोई भन्दै
नागरिकता र पासपोर्ट
देखाईदेखाई विलाप गर्दैछन्
अब त बिउँझ
अरे ओ, मेरो काठमाडौं!
प्रकाशित: ४ असार २०७९ ०४:५३ शनिबार