१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

चिन्तन र दर्शनका कविता

पुस्तक

आकाशमा

आकाश देख्नु

आकाश नदेख्नु हो

यस कविताबाट सुरु हुन्छ, कविता र कवितात्मक रचनाहरूको सँगालो ‘कवितामा आकाश’ पुस्तक। सङ्क्षिप्त शब्दमा गहिरो दर्शन उजागर गर्नसक्नु नै यस कृतिको मुख्य विशेषता हो। शैली र विषय दुवैबाट यो कृति प्रयोगशील बन्न पुगेको छ।

हुन त, साहित्यमा प्रयोग गर्ने प्रचलन नयाँ होइन। त्यसमा पनि कवितामै सबभन्दा धेरै प्रयोग हुँदै आएको हो। एउटै विषयमा केन्द्रित भएर कविता लेख्न थालेको पनि लामै समय भइसकेको छ। सिद्धिचरणहरू, पानी, पहाड, समुद्र, मृत्यु, गोपाल र गोपालहरूजस्ता शीर्षकमा कविताकृतिहरू प्रकाशित भइसकेका छन्। वर्तमान समय भने प्रयोगात्मक कविता अलि न्यून देखिएको अवस्था हो। यस्तो अवस्थामा युवा कवि आर. मानन्धर चल्तीको भन्दा फरक शैली र फरक विषय लिएर उपस्थित भएका छन्। आकाशकै विषयमा केन्द्रित उनको कृति ‘कवितामा आकाश’ वास्तवमै साहित्यकार अमर न्यौपानेले भने जस्तै ‘आकाश–काव्य’ बनेको छ।

कृतिको संरचना

‘कवितामा आकाश’ कविता, चिन्तन र दर्शन गरी तीन खण्ड विभाजित गरिएको छ। कविता खण्डमा उनान्चालीस वटा विनाशीर्षकका कविता छन्। चिन्तनमा छत्तीस र दर्शनअन्तर्गत चौँतीस वटा कवितात्मक रचना रहेका छन्। पुस्तकको सुरुवातमा रहेको ‘प्रार्थना’ कविता र अन्त्यमा उपसंहार पनि जोड्दा पुस्तकले जम्माजम्मी एकसय तेइस रचना सँगालेको छ।

कवितासङ्ग्रहको प्रारम्भ परम्परागत शैलीमा हुन्छ, ‘प्रार्थना’ कविताबाट। तर त्यो प्रार्थना देवीदेवतासँग होइन, आकाशसितै गरिएको छ-

हे आकाश!

तिमी मलाई आफूजस्तै

अनन्त हुन सिकाइदेऊ

आफूजस्तै व्याप्तिन सिकाइदेऊ!

यी हरफबाट सुरु हुने सो प्रार्थना आकाशको गुणधर्मको स्तुति गर्दैगर्दै यसरी टुंगिन्छ-

तिमी मलाई आफूजस्तै

अम्लान हुन सिकाइदेऊ!

कविता खण्ड

कविता खण्डका रचनाहरू चार हरफका बाइस र तीन हरफका सत्ताइस वटा छन्। यी कविताहरू झट्ट हेर्दा मुक्तक, हाइकुजस्ता देखिए पनि आफैंमा छोटा तर पूर्ण कविता हुन्। स्वरूपले लघु भए पनि यी कविताले गहिरा दर्शन बोकेका छन्। पाठकले जति गहिरिएर पढ्न सक्यो त्यति नै गम्भीर अर्थ लाग्ने खालका कविता छन्। थोरै शब्दमा धेरै भन्ने आर. मानन्धरको विशेषता नै हो। केही उदाहरण हुन्:

नहुनुमा नै कति

चुलिँदो छ आकाश

चुनौती मेरो ‘हुनु’लाई

       ०

आकाशको शून्यता

त्यो क्षितिज हो

जहाँ म असङ्ख्य बुद्धहरू देख्छु

चिन्तन खण्ड

जहाँ कविता खण्ड आकाशको व्यापकतामा केन्द्रित छ, त्यस विपरीत ‘चिन्तन’ खण्ड मानिसको सङ्कुचित प्रवृत्ति उजागर गर्न प्रेरित छ। छोटो भएर पनि मनमथिङ्गल हल्लाउन सक्ने शक्ति यी रचनामा छ। उदाहरणका लागि ‘स्वार्थ’ शीर्षकको रचना छ:

मान्छेले माटो निचर्नसम्म निचर्‍यो, पैसाको निम्ति।

पानी निचर्नसम्म निचर्‍यो, पैसाको निम्ति।

हावा निचर्नसम्म निचर्‍यो, पैसाको निम्ति।

प्रकाश निचर्नसम्म निचर्‍यो, पैसाको निम्ति।

जम्मै सखाप भएर केही नफल्दा

पैसै पो निचर्ने हो कि मान्छेले!

वास्तवमा यस खण्डमा धेरै रचना प्रश्नवाचक छन्। मान्छेको प्रवृत्तिमा प्रश्न गरिएको छ। यिनै प्रश्नले पाठकलाई सोच्न वाध्य बनाउँछ। चिन्तन खण्ड वास्तवमै चिन्तनप्रधान छ। अझ, वातावरणीय सचेतता पनि यस खण्डका केही रचनाले समेटेका छन्।

त्यस्तै, ‘गोप्य अङ्ग’ कवितामा कवि मानन्धरले भनेका छन्-मानिसका गोप्य अङ्गहरू त्यति अश्लील होइनन्, जति मान्छेको मन। अत्यन्त अश्लील भएकैले भगवान्ले सबैको मन कसैले कसैको नदेख्ने गरी छपक्कै छोपिदिएका हुन्। ‘नग्नता’ कवितामा पनि भनेका छन्-प्रकृति र सबै प्राकृतिक सिर्जना नाङ्गा नै हुन्छन्। मात्र मानिस पापका पोकाझैं आफूलाई छोपिरहन्छ।

‘बुद्ध र हामी’ रचनामा बुद्धले रोगी, बृद्धा, मृतक र भिक्षुक देखेपछि गृहत्याग गरेका थिए। हामी भने तिनैलाई हेरेर झनै पापी हुँदै गइरहेको भाव व्यक्त गरेका छन्। उनले बुद्ध र हामीमा भएको अन्तरलाई सजिलोसँग कवितामा अभिव्यक्त गरेका छन्।

दर्शन खण्ड

‘दर्शन’ खण्डका कविताहरू प्रायः बुद्ध र बौद्ध दर्शनमा आधारित छन्। त्यसैले उनी कुद्नुमा भन्दा रोकिनुमा वेग भएको मान्छन्। शब्दलाई अभिव्यक्तिको छेकवार ठान्छन्। साँच्चैको बोलाइ मौनतामा हुने बुझ्छन्। दुःखलाई सीमिततामा फल्ने फल ठान्छन्। उनी मान्छन्, हामी जति खुम्चिन्छौँ, त्यति नै दुःखको भ्रम फराकिँदै जान्छ। त्यसैले भन्छन्, अनन्त दुःख नै अनन्त सुखको टुप्पो हो।

कवि आर. मानन्धरले बाल्यकालमा नै पाँच वर्ष बौद्धअध्येता भई थाइल्याण्डमा धर्मदर्शनको अध्ययन गरेका हुन्। त्यसैले उनका रचनामा बुद्ध र बौद्धदर्शन सहजै छचल्किन्छ। उनी बुद्धलाई आकाशको अनन्तता ठान्छन्। क्षितिजमा असङ्ख्य बुद्धहरू देख्छन्। अनि, आकाशलाई उडेर छुन नसकिने, तर आफैंलाई छुन सक्नेले सजिलै आकाश छुनसक्ने गहिरा भावका कविता प्रस्तुत गर्छन्। सृष्टिलाई आग्रहविहीन आँखाले हेर्न सकेमात्र वास्तविक धर्मलाई देख्न सक्ने विश्वास गर्छन्।

उनी ‘देख्नु’ कवितामा यसरी अभिव्यक्त भएका छन्–

संसार देखिन्छ

आकाश देखिँदैन

जीवन त देखिन्छ

मृत्यु देखिँदैन

आवाज त सुनिन्छ

मौन सुनिँदैन

हुनु त देखिन्छ

नहुनु देखिँदैन

हुनुलाई देख्नु नै

आफूलाई देख्नु हो कि?

निष्कर्ष

कृतिको उपसंहारको कविता भन्छ-

कविता त आकाशमै फल्ने हो

तर कुनै कुनै कविता

आकाशभन्दा पनि

गहिरिँदो रहेछ !

चिन्तनमा बौद्धिक परिपाक, दर्शनमा गम्भीरता र कवितामा सुन्दर कलात्मकताले यस सङ्ग्रहलाई मौलिक र विशिष्ट बनाएको छ। नेपाली साहित्यमा दर्शन विषयक कविताको न्यूनतालाई यस कृतिले राम्रैसित पुर्ने अग्रसरता लिएको छ। साहित्य, दर्शन, अध्यात्ममा अभिरुचि राख्ने जो कसैलाई यो पुस्तक रुचिको विषय हुनसक्छ।

यसअघि कवि आर. मानन्धरको ‘क्षितिजको स्पर्श’, ‘दर्शन–साहित्य’ र ‘कन्सियस लिडरसिप: अजर्नी विडइन’ अङ्ग्रेजी पुस्तक प्रकाशित भइसकेका छन्। उनी दशकौँदेखि नेपालभाषा साहित्यमा निरन्तर साधनारत सर्जक हुन्। उनका कृति हेर्दा मातृभाषामा गरिएको साहित्यिक अभ्यासले नेपाली साहित्यलाई प्रशस्त लाभ भएको देखिन्छ। मातृभाषामा गरिएको साहित्यिक लगानी नेपाली भाषाका लागि पनि सुखकर भएको छ। यसले मातृभाषा र समग्रमा नेपाली साहित्यकै उत्थानका लागि पनि राज्यले मातृभाषा साहित्यको विकासमा लगानी गर्नु फलदायक नै हुने सुझाउँछ।  

प्रकाशित: २१ जेष्ठ २०७९ ०१:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App