प्रेम राई परीक्षित
चैतमान रुखको हाँगामा खुट्टाले च्यापेर उँधोमुन्टो भई चिच्याउँदै थियो, ‘ल हेर्नुस्,आकाशलाई मैले आज तलतिर पारें।अब त घाम पनि म मुनि पो छ त। कोही म जस्तो गर्न सक्छ?’
अलिअलि मानिस भेला हुन थाले। उसको पागलपन देखेर कोही हाँस्न थाले। कोही खासखुस कुरा गर्न थाले।
यो चैतमानले आज मुन्टो भाँच्ने भो।
चैतमान चिच्याउन छाडेको थिएन। अझ नयाँनयाँ उधुम गर्दै थियो ऊ।
–ल हेर्ने जति सबैले पैसा दिनुस्। अझ अरू नयाँ आइटम देखाउनेछु।
मानिसहरू पैसा ऊतिर फालिरहेका थिए। चैतमान उँधोमुन्टी अवस्थामै तलतिर हेरेर पैसा गनिरहेको थियो। अचानक सबै अँध्यारो भएर आयो। उसले केही देखेन। अचानक खुट्टा खुस्कियो र ऊ तल बल्ड्याङ पछारियो।
बिउँझिदा घरको सिकुवामा चैतमानको आमाले उसलाई सुमसुम्याइरहेकी थिइन्। चैतमानको बोल्न आक्ने अवस्था थिएन। छेउमा जम्मा भएको पैंतिस रुपैयाँ बेवारिसे लडिरहेको थियो। साथै चारओटा स्लाइनका बोटल अनि करीब हजार रुपैयाँको औषधिको बिल पनि।
चैतमान ट्वाल्ल परेर हेरिरहेको थियो।
गाउँभरि हल्ला फिंजियो चैतमानको बहादुरीको!
प्रकाशित: १६ जेष्ठ २०७९ ०७:५५ सोमबार