२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

शिक्षक

लघुकथा

हरिप्रसाद भण्डारी

चोरमाराबाट गिरुबारी जाने बस हिंड्नै लागेको थियो। त्यस्तैमा एउटी महिला हातमा करिब दुई वर्षको बच्चा समाएर सकिनसकी गाडीमा चढिन्। गाडी चालु अवस्थामा भएको हुँदा झण्डै लडिनन् र ‘ए मेरो बाबु लड्न लाग्यो’ भन्दै आत्तिइन्। म मेरो बुबासँगै अगाडिकै सिटमा बसेको हुँदा मानवीय हिसाबले पनि बच्चालाई लड्न दिन चाहिनँ र समाएर काखमा लिएँ।

बच्चा सानो र असाध्यै राम्रो थियो। उसका हातमा एक चौथाई खाएको स्याउ थियो। खाँदै थियो–मेरो मायालु काख पाएर निदाइहाल्यो। उसको त्यस्तो मायालुपन देखेर म पनि खुसीले रमाएँ। उसको निद्रा भङ्ग नहोस् भन्ने कुरामा ध्यान केन्द्रित गरिरहें।

एकैछिनपछि बच्चाकी आमाले पनि सिट पाइन् नजिकै। साथमा उनकी गाउँले साथी रहिछन् सँँगै बसे र कुराकानी गर्न लागे। बच्चा आनन्दले मेरो काखमा सुतेको देखेर बच्चाकी आमा खुसी देखिन्थिन् र लजाउँदै घरीघरी मतिर हेर्दै थिइन्। बच्चाले दुःख दिएको भान भइरहेको थियो सायद उनलाई र बच्चा माग्ने साहस गर्न खोज्थिन् तर बच्चालाई माया गरेर सजिलोसँँग समाएको देखेर होला सिधै माग्न पनि सकिरहेकी थिइनन्।

बाटामा गाडी उफ्रिँदा बच्चा तर्सियो र बिउँझियो पनि। बिउँझिएको मौका पारेर उनले आऊ भनेर बोलाइन्। तर, उसले सुनेको नसुन्यै गर्‍यो र पुनः आँखा जोड्यो। म झन् खुसी भएँ र उसलाई अझै मायालु पाराले काखमा सुताएँ। उनीहरूले घरीघरी मलाई हेर्दै केही बोल्न खोजेको देखिन्थ्यो तर त्यत्ति नजिक नभएको र विषयवस्तु पनि खासै नभएको हुँदा बोल्न सकिरहेका थिएनन्।

झन्डै पौने घण्टाको हिंडाइपछि गाडी गएर गिरुबारीनिर रोकियो। उनीहरू पनि त्यहीं झर्ने रहेछन्। हामी पनि त्यहीं झर्‍यौं। गाडीबाट झरेपछि मैले निदाइरहेको बच्चा उनलाई दिएँ। बच्चो समाएपछि उनले मेरो अनुहारमा हेरिन् र मेरो परिचय लिन खोजेको भाव व्यक्त गरिन्। उनका धेरै प्रश्नको एउटै उत्तर दिँदै मैले भनें, ‘म शिक्षक हुँ।’

उनले आफूले देखेजानेका सबै शिक्षकको अनुहारसँग मेरो अनुहार जोडेर हेर्न खोजेको जस्तो लाग्यो मलाई तर कतै मेरो अनुहार पाइन् कि पाइनन् कुन्नि?

प्रकाशित: १६ जेष्ठ २०७९ ०७:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App