२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

गुट मिल्नुपर्छ

लघुकथा

ढाकामोहन बराल

पढाइ सकिएको पनि तीन वर्ष भएको थियो। प्राविधिक पढाइ हो, सकिनेबित्तिकै काम पाइन्छ भन्ने घमण्ड थियो। तर कतै काम पाउन सकिन।

बुबाको सुझाव हुन्थ्यो, ‘यो बुढो हड्डी मात्र कति घोट्ने हो। अब त तिमी पनि काम खोज।’

मलाई पनि बुबाको दुःख देख्न मन त कहाँ हो र तर के गर्नु। मंसिर र असारमा बुबालाई सहयोग गर्न गाउँ बसे पनि अन्य महिना काम खोज्दा नै चप्पलको तलुवा खिइन्थ्यो। सानैदेखि राजनीतिक पार्टीहरूको समर्थन वा विरोध नगरी तटस्थ रहन मन पराउँथें म।

सँगै पढेको गोपालले भन्यो,‘हेर भाइ, यहाँ यस्तै हो। कुनै नेताको पछि नलागे काम पाउन मुस्किल छ।’

म पनि उसैको सल्लाहमा एउटा पार्टीको समर्थक भएँ। एक दिन नेतासँग भेट भयो। समयको खेल वा मेरो भाग्य तीन महिनाका लागि जागिर पनि मिल्यो। निमेकमा असारमा बाउसे र मंसिरमा धान चुट्न गइन्थ्यो भने खाली बस्नुभन्दा तीन महिने जागिर पनि ठुलै भयो। तीन महिनाको जागिर तन्काएर आधा वर्ष त बनाइयो पनि। फेरि गोपालसँग ‘नेतालाई भेट्न जानुपयो’ भनेको त ऊ झन् झर्कदै भन्यो, ‘तिमी पनि उस्तै छौ। कसरी कुरा गर्ने?’

मलाई अचम्म लाग्यो। मैले सोधें, ‘हैन के भयो र?’

उसले भन्यो, ‘तिमीले चिया पसलमा नेता नरेशको खुलेर समर्थन गर्दै कुरा गरेछौ नि त।’

जसरी पनि तटस्थ बस्न सकिएन त एकातर्फ खुल्दा के पो होला र भन्दै त्यो दिन अलि बढी नै बोलेको थिएँ म।

मैले गोपाललाई भने, ‘के भयो अब! नरेशको र उनको एउटै पार्टी हो क्यारे।’

ऊ अझ रिसाउँदै भन्यो, ‘पार्टी एउटा भएर हुन्छ, गुट मिल्नु परेन।’

प्रकाशित: १६ जेष्ठ २०७९ ०७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App