१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

यसपालिको गणतन्त्र दिवस

लघुकथा

तुलसीराम खरेल

झ्याम्म परेको समीको बोट, दुईचार कुर्सी अनि आधा दर्जन जति शिक्षकका बिच एकजना महिला आफ्ना व्यथा पोखिरहेकी छिन्। पच्चीस सय जति विद्यार्थी पढ्ने सो विद्यालयमा उनका एक छोरा र एक छोरी कक्षा सात र नौमा पढ्दारहेछन्। लोग्ने कालो जन्डिसले थला परेका छन्। सासू विष खाएर मरिन्। ससुरा अर्बुद रोगसँग लडिरहेका छन्।

‘म दुखीलाई दैवले किन बँचाएको होला! बरु मर्न पाए हुन्थ्यो।’ आँखाभरि आँसु पारेर उनी एकोहोरो बोलिरहेकी छिन्।

विद्यालयभन्दा झण्डै पाँच किमी टाढा उनको सानो घर छ। साप्ताहिक बजार भर्न आउँदा छोराछोरी पढ्ने स्कुल हेर्न आएको उनको ब्यहोरा सुनाइरहेकी थिइन्। उनले आफ्ना नानीहरूको अंग्रेजी या नेपाली माध्यम समेत बताउन सकिनँ न त सम्बन्धित कक्षाकै सेक्सन। वर्ग शिक्षककै सहयोगमा उनका छोराछोरीलाई बोलाएर उनीसँग भेट गराइयो।

उनी एकोहोरो बोलिरहेकी थिइन्, ‘पैसा छैन। घरमा सबै रोगी छन्। ड्रेस किन्ने पैसा नभएर पुरानै ड्रेसमा आएका छन्। मेरा छोराछोरी नकुटिदिनु है सर-मिस!’

उनले झोलाबाट दुई ओटा स्याउ निकालिन् र आफ्ना नानीहरूलाई दिइन्।

बच्चाबच्ची अलि लजाए जस्ता देखिए। छोरीले भनिन्,‘भरे घरमै गएर खाउँला आमा।’

छोरीको बोली झर्नै नपाई आमा बोलिन्, ‘खाओ-खाओ। भरे घरमा बाबु र हजुरबाबुले लुछेरै खान्छन्। तिम्ले खान पाउँदैनौं।’

आमाको माया देखेर छेउका एक शिक्षकका आँखा रसाए। गरीवीले थिचेको सुगम जिल्लाका एक अभिभावकको रोदन सुनेर मन अमिलो भयो। उनका मनमा सहीदका कोटामा नेता सन्ततिले छात्रवृत्ति पाएर पढ्न विदेश गएको दृश्य घुम्यो। त्यसैबेला ती शिक्षकले विभिन्न भ्रष्टाचार काण्डमा  मुछिएका बहालवाला मन्त्रीदेखि वडाध्यक्षसम्मको संलग्नताको बाहिर आएको खबर अखबारमा भर्खरै पढेका थिए। त्यही दिन मुलुकले गणतन्त्र दिवस मनाइरहेको थियो।

प्रकाशित: १६ जेष्ठ २०७९ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App