११ असार २०७९ शनिबार
कला

भाग्यमानी

लघुकथा

गीता शर्मा चापागाई

सविता र कविता मिल्ने साथी थिए। उनीहरूको  तँतँ  र मम चल्थ्यो। दुवैको बिहे भयो। बिहेपछि पनि उनीहरूको भेटघाट भइरहन्थ्यो। व्यस्तताले यसपालि लामो समय भेट हुन सकेन।

शनिबार बिदाको दिन समय निकालेर सविता कविताको घर गई। कविताले खुसीसाथ स्वागत गर्दै भनिन् , ‘निकै दिन भेट नभएर जम्न पाइएन। आज आइस्। मोज गर्नुपर्छ है।’

होमा हो थपेर सविताले भनी, ‘लामो समयदेखि भेटघाट नभएकाले मलाई पनि धेरै न्याँस्रो लागिराखेको थियो। के गर्नु,उहाँको काम नै त्यस्तै छ। कहिले जापान,  कहिले युरोप, कहिले अमेरिका। फेरि ऊ  एक्लै हिंड्ने हो र! पुच्छर लागेर सँगसँगै हिंड्नुपर्ने। यसपाला त म छोरीको स्कुलको कारणले जान पाइँन।’

त्यही त  हामी पनि अफिसको कामले सधैं व्यस्त हुन्छौ। फेरि छोराको स्कुल, समय निकाल्नै सकिएन। एकछिन एकदिन पनि म नभई नहुने हाम्रालाई पनि। घर आइपुग्दा जताबाट पनि म  घर आइपुग्नै पर्ने। हामी दुवै कति भाग्यमानी रहेछौ है!’

धेरै पछिको भेट, मीठा गफ हुँदै थियो। कविताको छोराले सविताको छोरीलाई देखाउँदै भन्यो, ‘ममी, म र आस्था  ठूलो भएपछि बिहे गर्छौं है?’

सबै हाँसे। कविताका श्रीमानले सोधे, ‘विहे गरेर के गर्छौ छोरा?’

उसले अबोध पारामा भन्यो, ‘म  हजुरजस्तै हुन्छु। ब्याग बोकेर अफिस जान्छु। कागजमा साइन गर्छु। घुम्ने कुर्चीमा बस्छु अनि आस्था घरमा बस्छिन्। खाना बनाउँछिन्।  मेरो जुत्ता पालिस गर्छिन्। म गाडी किन्छु। घर आउँछु। आस्थालाई भुत्लाउँछु अनि लात्ताले हान्छु अनि ढोका बन्द गरेर सुत्छु।’

त्यत्तिकैमा आस्थाले अबोध पारामा लाडिंदै भन्छे,‘म बिस्तारै ढोका खोलेर खाना लगिदिन्छु। तिमीले खाना फालिदिन्छौ अनि म पनि नखाईकन सुत्छु!’

प्रकाशित: २६ वैशाख २०७९ १३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App