९ जेष्ठ २०७९ सोमबार
कला

बेइजिङको सञ्चार विश्वविद्यालयमा केही घण्टा

नियात्रा

कुनै पनि सञ्चार माध्यममा कार्यरत व्यक्तिले अर्को सञ्चार माध्यममा गर्ने अवलोकन भ्रमण विशेष महत्त्वपूर्ण रहन्छ। त्यस्तो अवलोकनबाट उसले आफ्नो संस्थाका लागि नयाँ कुरा सिक्ने अवसर पाउँछ। यसबाट सञ्चारकर्मीको दृष्टिकोणलाई परिमार्जित गर्न सहयोग पुग्छ। एकैसाथ विचार, ज्ञान र अनुभव बढाउन भ्रमणको महत्त्वपूर्ण भूमिका रहन्छ। बाह्र दिन पहिलेदेखि हुँदै आएको दक्षिण पूर्वी प्रान्तहरूतिरको हाम्रो भ्रमणले चीनको प्राचीनता, चिनियाँ सभ्यता र त्यहाँको आधुनिकतालाई थोरै नै भए पनि नजिकबाट बुझ्न हामीलाई ठूलो मद्दत पुर्‍याएको छ। 

चीन अब बन्द हुन चाहँदैन। आधुनिक सञ्चार प्रविधि एवम् अन्य विविध क्षेत्रमा हुँदै आएका दू्रततर अत्याधुनिक विकासका कारण चीन अब विश्वव्यापीकरणको नवीनतम् महायुगमा महत्त्वपूर्ण उपस्थितिका साथ प्रवेश गरिसकेको छ। केही दिनको सामान्य बाहिरी अवलोकनबाट हामीले कति नै बुझेका हुन्छौं र त्यत्रो विशालकाय मुलुकको इतिहास र वर्तमानलाई ! तर पनि जति बुझ्दै छौँ, त्यसबाट हामीलाई चिनियाँ अतीत र वर्तमानका बारेमा केही न केही ज्ञान प्राप्त हुँदै आएको छ। विश्वकै एक महान् सभ्यताको जननी हो चीन। इतिहास र अतीतलाई नबिर्सिकन उसले आफ्नो वैश्विक यात्रा तय गरेको छ। चीन प्राचीन दार्शनिक कन्फ्युसियसका सन्देशहरूबाट हृदयको अँध्यारो चिर्दै आधुनिक ज्ञान र विज्ञानको यात्रामा अग्रसर भएको देखिन्छ।

हाम्रो मिडिया टोलीका चिनियाँ समन्वयकर्ता साओ लियाङले बेइजिङस्थित चीनको सञ्चार विश्वविद्यालय (कम्युनिकेसन युनिभर्सिटी अफ चाइना, सियुसी) घुमाउन लैजाने सूचना अघिल्लो साँझमा मात्र दिएका थिए हामीलाई। त्यसअनुसार हामी सन् २०१७, जुन १९ का दिन चाँडै ब्रेकफास्ट गरी ८ बजे वाङ्सु होटलको लबीमा जम्मा भइसकेका थियौँ।

साओ हामीभन्दा पहिल्यै आइसकेका थिए। उनको समयप्रतिको सजगताबाट हामी सबै परिचित छौं। एकदुई जना अझै कोठाबाट ओर्लिसकेका थिएनन्। केही बेरमा ती पनि ओर्लिए। हामी तत्काल सियुसीतर्फ लाग्यौँ। झन्डै २० मिनेटजतिमा हामी विश्वविद्यालय परिसरमा पुग्यौँ। चारपाँचवटा ठूला, अग्ला र अरू केही साना भवनहरूसहितको विश्वविद्यालय परिसर हरियालीयुक्त थियो। साओ भित्रतिर गए। सायद हामी आइसकेको सूचना दिन उनी त्यहाँको प्रशासनिक भवनतर्फ गएका थिए।

सञ्चार विश्वविद्यालयको प्राङ्गणबाट दुईजना कर्मचारीहरूले हामीलाई आज हुने कार्यक्रमकक्षतर्फ लिएर गए। हलमा पुगेको १० मिनटपछि कार्यक्रम सुरु भयो। पहिले सबैको परिचयात्मक कार्यक्रम थियो। त्यसपछि त्यहाँका निर्देशकले चिनियाँ सरकारबाट अवलम्बन गरिँदै आएका आर्थिक कार्यक्रमहरू के कस्ता छन्; तिनको परिणाम कस्तो आइरहेको छ; चिनियाँ सञ्चार जगत्मा केकस्ता नवीनतम् प्रविधिहरू प्रयोग हुँदै आएका छन्; चीन सरकारका नीति र कार्यक्रमहरूलाई कार्यान्वयन गर्न कस्ता रणनीतिहरू अपनाइएका छन् आदि विषयमा विस्तृत जानकारी दिए। उनले सञ्चार विश्वविद्यालयको स्थिति, त्यसका उत्पादनहरूले अन्य देशहरूमा पुगेर प्रभावकारी ढंगमा काम गरिरहेका र यस चिनियाँ सञ्चार विश्वविद्यालयप्रति विश्वकै प्राज्ञिक सञ्चार संस्थाहरूको ध्यानाकर्षण भएको पनि जानकारी दिए।

आफ्नो लामो मन्तव्यपछि हामीहरूलाई कुनै जिज्ञासा भए राख्न निर्देशकले आग्रह गरे। हाम्रो टोलीका साथीहरूले चिनियाँ आर्थिक नीतिका बारेमा केही प्रश्नहरू सोधेका थिए। चिनियाँ विशेषतासहितको समाजवादी कार्यक्रम लोकप्रिय हुँदै गइरहेको र चीनका लागि उत्तम आर्थिक कार्यक्रम नै यही रहेको बताएका थिए। उनी विश्वविद्यालयका प्राज्ञिक व्यक्ति रहेछन्।

अन्तरक्रिया कार्यक्रमपछि हामीलाई विश्वविद्यालय परिसरमै रहेको अर्को भवनमा स्थापित सञ्चार सङ्ग्रहालयको अवलोकन गराउने कार्यक्रम थियो। एउटी कर्मचारीले हामीलाई त्यसतर्फ लिएर गइन्। हामी सङ्ग्रहालयको अवलोकन गर्न एकतला माथि उक्लियौँ। गाइडले हामीलाई पहिले टेलिभिजन सङ्ग्रहालयतर्फ लगिन्। त्यसमा टेलिभिजनका आविष्कारक जे.एल. वेयर्डको फोटो, उनले आविष्कार गरी सार्वजनिक रूपमा प्रदर्शन गर्दाको फोटो र प्रथम संस्करणको टेलिभिजन सेट लगायत टेलिभिजनको विकासक्रममा वर्तमानसम्मकै अत्याधुनिक डिजिटल प्रविधियुक्त टेलिभिजन सेटहरू क्रमबद्ध राखिएका थिए।

चीनमा सन् ५० को दशकतिर टेलिभिजनको सुरुवात भएताकाका कार्यक्रम निर्माता, समाचार वाचकवाचिकाहरू एवम् निर्देशकहरूका परिचयात्मक विवरणहरू, त्यस बेला प्रयोगमा रहेका क्यामेरा, रेकर्डर, टेप, स्टुडियो, एडिटिङ सेट आदि उपकरणहरू बडो व्यवस्थित ढंगमा सजाएर राखिएका थिए। त्यसपछि प्रविधिमा आएको क्रमिक विकाससँगै प्रयोगमा ल्याइएका टिभी उपकरणहरूदेखि पछिल्लो पुस्ताको एचडी क्यामरा र अन्य उपकरणहरू समेत त्यहाँ व्यवस्थित ढंगमा सजाइएका थिए। हामी एकपछि अर्को कक्षतिर क्रमशः अवलोकन गर्दै गाइडको पछिपछि हिँडिरहेछौं।

चीनमा पत्रपत्रिकाको इतिहासलाई संस्मरण गराउने गरी राखिएको चिनियाँ एवम् अंग्रेजी भाषामा प्रकाशित पत्रपत्रिकाका कटिङहरू र पछिल्लो समयसम्ममा प्रकाशन हुँदै आएका पत्रपत्रिकाहरू सङ्गृहीत थिए।

विष्णु पन्थी छायांकन गर्दै (माथि), संग्रहालयभित्रको एक कक्ष (बीच) र संचार विश्वविद्यालयका पदाधिकारीहरुसँग  नेपाली मिडिया टिम।

यस्तै टेलिफोन, मोबाइल आदिका विकासक्रम देखाउने गरी अनेक आकार र प्रविधिका फोन, मोबाइल सेटहरू पनि सजाइएका थिए। यस्तो लाग्थ्यो, त्यो सङ्ग्रहालय सियुसीको मात्र नभई विश्व सञ्चार जगतकै सङ्ग्रहालय हो।

म त्यस बेला आफू कार्यरत संस्थालाई बारम्बार सम्झिरहेँ। २०४१ सालमा स्थापित नेपाल टेलिभिजनको एक कर्मचारी हुनुका नाताले मैले आफ्नै संस्थालाई सम्झनु स्वाभाविक थियो। साथमा प्रायः भइरहने ध्वनि इन्जिनियर अमित र क्यामरापर्सन विष्णुसँग म कुरा गर्दै छु। नेपाल टेलिभिजनमा सङ्ग्रहालयका नाममा २/४ वटा फोटो र एउटा सानो ट्रान्समिटरबाहेक अरू केही छैन।

पुराना क्यासेटहरू फेरि प्रयोग गर्न नसकिने अवस्थामा छन्। स्थापनाकालीन कर्मचारी एवम् कार्यक्रम निर्माता, प्रस्तोता, क्यामरापर्सन, ध्वनि नियन्त्रक आदिको कुनै विवरण वा स्मारक सामग्रीहरू राखिएका छैनन्। इतिहास भएर पनि संरक्षण नभएको अवस्थामा छ नेपाल टेलिभिजनको इतिहास। पुराना कार्यक्रमहरू या त मेटिए, या पुरानै फर्म्याटका टेपहरूमा ढुसी परेर काम नलाग्ने अवस्थामा छन्। टेप वा सङ्ग्रहालय त छ तर त्यसलाई अध्यावधिक टेलिभिजन प्रविधिअनुसार व्यवस्थित गरिएको छैन। अन्य ऐतिहासिक पक्षहरू सम्बन्धित सङ्ग्रहालयको त कुरै छौडौं।

नेपाल टेलिभिजनले नेपालकै पहिलो टेलिभिजन संस्था हुनुको गर्व गरिरहेको छ; जुन स्वाभाविक हो। त्यहाँ २०४१ साल यताको नेपालकै राष्ट्रिय इतिहासका महत्त्वपूर्ण घटनाक्रमहरूको श्रव्यदृश्य सामग्री सङ्गृहीत छन्। ती सामग्रीहरू प्रायःअध्यावधिक प्रविधिमा रूपान्तरण नगरिएका अवस्थामा छन्। केही सीमित तत्काल प्रसारित मनोरञ्जनात्मक सामग्रीहरू मात्र अध्यावधिक गरिएका छन्। इतिहासको ठूलो हिस्सा पुरानै अवस्थामा छ।विष्णु र अमित आफ्नो ड्युटीप्रति सजग छन्। उनीहरू महत्त्वपूर्ण भेटघाटका अवसरहरूको छायाङ्कन गर्दै छन्।

हामी गाइडलाई पछ्याउँदै पनि छौं। कति जतन र सङ्कलन गरेर बनाएका छन् त्यत्रो सङ्ग्रहालय ! त्यहाँको व्यवस्थापन तह कति दूरदर्शी ! नयाँ आउने हरेक पिँढीले विगत्को सञ्चार जगत्सँग सधैँ साक्षात्कार गरिरहन्छ। त्यस सङ्ग्रहालयमा चिनियाँ सञ्चार क्षेत्रको विगतदेखि वर्तमानसम्मको इतिहास मात्र संरक्षण एवम् सङ्ग्रहण भएको छैन; चिनियाँ इतिहासकै अभिलेखहरूको संरक्षण पनि गरिएको छ। भावी पिँढीले आफ्नो देशको इतिहासलाई त्यहाँ श्रव्यदृश्यका माध्यमबाट अध्ययन अनुसन्धान गर्न पाउने छन्। अर्कातिर सञ्चार क्षेत्रमा आएका वर्तमानसम्मका परिवर्तनका अनेक आयामहरूलाई त्यहाँ पुगेर अनुभव गर्न र सिक्न सक्ने छन्। सञ्चार क्षेत्रमा समर्पित ऐतिहासिक व्यक्तित्वहरूबारे पनि जानकारी पाउन त्यो सङ्ग्रहालयले मद्दत गर्ने छ।

सियुसीको स्थापना सन् १९५४ मा भएको हो। पत्रकारिता, सञ्चार, कला, इतिहास, सूचना प्रविधि, व्यवस्थापन, अर्थशास्त्र, कानुन, विज्ञान आदि अनेकौँ विधा एवम् विषयहरूको विकास र अनुसन्धानलाई योजनाबद्ध ढंगमा अघि बढाउँदै राष्ट्रिय विकास र समृद्धिका लागि टेवा पुर्‍याउने उद्देश्यका साथ चीनको शिक्षा मन्त्रालयले सियुसीको स्थापना गरेको हो।

सियुसीमा १५ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् भने ४ हजारभन्दा बढीले अनेकौं विषयमा डक्टरेट (पिएचडी) गरिसकेका छन्। सियुसीअन्तर्गत १ लाख ४० हजार जति पूर्व विद्यार्थीहरू संसारका ७० भन्दा बढी मुलुकमा पुगेर आआफ्ना विशेषज्ञताको क्षेत्रमा काम गरिरहेका छन्। त्यस्तै, लाखौंको सङ्ख्यामा विश्वविद्यालयका विद्यार्थीहरू स्वदेशमै सञ्चार माध्यमहरूमा सम्पादक, रिपोर्टर, समाचार प्रस्तोता, अनुवादक, निर्देशक, निर्माता आदिका रूपमा कार्यरत छन्।

सियुसीले रेडियो, टेलिभिजन तथा सामाजिक सञ्चार वा डिजिटल मिडिया प्रविधिको अनुसन्धान एवम् अध्ययन गर्न सञ्चार सङ्ग्रहालयकै स्थापना गरी तत्सम्बन्धि योजनालाई मूर्त रूप दिँदै आएको छ। सियुसीबारे यस्तै अनेक जानकारी हामीलाई दिइयो।

सङ्ग्रहालयको अवलोकनपछि सियुसीकै तर्फबाट हामीलाई दिउँसोको खाना (लञ्च) को व्यवस्था गरिएको थियो। लञ्चपछि केहीबेर त्यस विशाल सियुसी भवनको सुरम्य बाहिरी परिवेशतिर टहलियौँ। त्यहाँको हरियालीयुक्त स्वच्छ र शान्त वातावरणले हामीलाई खिचिरहेको थियो। त्यहाँ पुगेको झन्डै ३ घण्टामा हामी बाहिरियौँ।

चीनले मानव सभ्यताकै निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको ऐतिहासिक तथ्यबाट विश्व अपरिचित छैन। आधुनिक चीन आफ्नो इतिहासको गौरवलाई स्मरण गर्दै वर्तमान समयको गतिलाई पछ्याइरहेछ। चिनियाँ सञ्चार विश्वविद्यालयले त्यहाँको सञ्चार जगत्को बहुआयामिक इतिहासलाई संरक्षण गर्दै एक्काइसौँ शताब्दीले ल्याएका अवसर एवम् चुनौतीहरूलाई उपयोग र आत्मसात् गर्दै अन्तर्राष्ट्रिय प्राज्ञिक सञ्चार संस्थाको हैसियतमा आफूलाई उभ्याइसकेको अनुभव गर्न सकिन्छ। 

प्रकाशित: २४ वैशाख २०७९ ०७:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App