वन्दना घिमिरे
विवाह भएको एक वर्ष जति भएको थियो। मुख हेराइदेखि माइतमावलीसम्मका दक्षिणा जम्मा गरेर राखेकी थिएँ। सोचें, एउटा सुनको बाला बनाएर लाउन पर्यो। सुनारकोमा गएँ बाला बनाउन। दुईहजार पैसो पुगेन। बुढालाई बल्लतल्ल सुनाएँ। बुढाले भने, ‘दशैको मुखमा खर्च थपिने भया। विचार गरौंला।’
घटस्थापनाको अघिल्लो दिन दुई हजार थपेर एक तोलाको बाला बन्यो। आफ्नो हातमा लगाएको सुनको बाला हेरेर आफै मक्ख परे। भोलिपल्ट बिहानै गाडी चढेर घर गइयो। बेलुकी बुढाले कोठामा आएर भने,‘तिम्रो हातको बाला आमालाई ज्यादै मन पर्यो रे। अहिले आमालाई देऊ। म तिमीलाई पछि बनाइदिऊँला।’
मनमा औंसी लाग्यो तर मुख चन्द्रमा बनाएर बाला खोलेर दिएँ। जीवनमा कैयौं उतारचढाव आए। कहिले गहना बनाएर लाइयो। कहिले गहना बेचेर खाइयो।
वर्षौंपछि घटस्थापना आउन दुईचार दिन बाँकी थियो। शिक्षकको जागिर चौमासिक तलब बुझे। सोचें, ‘एउटा सुनको बाला बनाएर लाउन पर्यो। गएँ सुनारकोमा। मनपरेको बाला किनेर लगाएँ। घर आएँ।
साँझ छोराबुहारी समेत खाना खाँदै थियौं। बुहारीले भनिन्, ‘आहा कति राम्रो बाला मामु कहिले बनाइसेको?’
‘आजै बनाएको राम्रो छ?’
बुहारीले भनिन्,‘राम्रो रहेछ।’
भोलिपल्ट छोराले भन्यो, ‘मामु, हजुरकी बुहारीलाई ज्यादै मनपर्यो रे। हजुरको बाला अहिले बुहारीलाई दिनुस्। हजुरलाई म पछि बनाइदिऊँला नि।’
तुरुन्तै खोलेर छोराको हातमा राखिदिए। मनमा जमरे औंसी लाग्यो। उत्ति नै खेर बाको आशीर्वाद सम्झिएँ र मुहारमा पूर्णिमाको जून झुल्कियो।
–खान पुगोस्,दिन पुगोस्।
प्रकाशित: २२ वैशाख २०७९ ०८:२६ बिहीबार