९ जेष्ठ २०७९ सोमबार
कला

गीतामा मनका कुरा

पुस्तक

मन के हो ? भन्ने प्रश्न मानव जगत्को अहम् प्रश्न हो। अरू प्राणीको मन कस्तो हुन्छ अनि मान्छे र अरू प्राणीको मनको सारमा के भिन्नता रहेको छ भन्ने कुरा गहन अध्ययनको विषय हो। मनलाई विषयवस्तु बनाएर धेरै लेखकले धेरै कृतिहरू लेखेका छन्।

डा.अजय रिसाल मानसिक रोग विशेषज्ञ अर्थात् मनको अध्ययन गर्ने अध्येता हुन्। डा.अजय रिसालद्वारा लिखित पुस्तक ‘गीतामा मनका कुरा’ मा मनकै खोजी गरिएको छ। यस पुस्तकमा गीतालाई नयाँ तरिकाले, नयाँ दृष्टिले, नयाँ व्याख्या र शैलीसहित विश्लेषण गर्ने प्रयास गरिएको छ।

आध्यात्मिक कृति गीता

करिब ५ हजार वर्षपूर्व मोक्षदा एकादशीको पवित्र तिथिमा भगवान् श्रीकृष्णले अर्जुनका माध्यमबाट दिएको साक्षात् उपदेश हो गीता। गीता महाभारतको भीष्म पर्व अन्तर्गतको अद्भुत योगशास्त्र हो। गीता धेरै प्रकारका छन्–गर्भ गीता, उद्धव गीता, गोरख गीता, राम गीता, अष्टावक्र गीता आदि। तर यी सबै गीताहरूमध्ये श्रीमद्भागवत गीतालाई नै श्रेष्ठ गीता मानिन्छ।

धृतराष्ट्र र सञ्जयको प्रश्नोत्तरबाट गीता सुरु भए तापनि यसमा भगवान् श्रीकृष्णले कुरुक्षेत्रका बिचमा विमूढावस्थामा पुगेका अर्जुनलाई अत्यन्तै उत्तम ज्ञानविज्ञानको सन्देश दिएका छन्; जुन कालजयी छ र मानव मात्रका लागि अत्यन्तै उपयोगी छ।

वास्तवमा युद्ध कोसँग हो ? युद्ध के हो? युद्धको स्वरूप, तयारी र प्रतिफल के हो? युद्ध गर्ने वा नगर्ने? आदि सबालहरूको अत्यन्तै गूढ तर सरल, अत्यन्तै दार्शनिक तर व्यावहारिक, अत्यन्तै आध्यात्मिक तर वैज्ञानिक अन्तरस्वरूप भएको ग्रन्थ हो श्रीमद्भागवत गीता। गीताका प्रत्येक अध्याय आफैमा महत्त्वपूर्ण छन्; आफैमा परिपूर्ण छन्।

गीताको मूल प्रतिपाद्य विषय भने कर्मयोग, भक्तियोग, ज्ञानयोग, राजयोग, ध्यानयोग आदि रहेका छन्। गीता यस्तो ग्रन्थ हो, जसका प्रत्येक अक्षर आफैमा पवित्र छन्; प्रत्येक श्लोक प्राणदायी र ऊर्जादायी छन्। जति पढे पनि नयाँ लाग्छ, आकर्षक लाग्छ, उत्साहवद्र्धक र प्रेरक लाग्छ। यही नै गीताको सुन्दरता हो; विशिष्टता हो।

गीतामा अहिलेसम्म कति भाष्य लेखिए, कति टिप्पणी लेखिए, कति अनुवाद भए र कतिले गीतालाई आधार बनाएर ग्रन्थहरू लेखे; त्यसको लेखाजोखा छैन। धेरै भाषाका अनेकौँ विद्वान्हरूले गीतालाई स्रोत बनाएर कयौँ कृतिहरूको रचना गरेका छन्। गीतालाई आधार बनाएर लेखिएका अनेकौँ कृतिहरूमध्ये डा.अजय रिसालद्वारा लेखिएको वैचारिक कृति हो–गीतामा मनका कुरा।

‘गीतामा मनका कुरा’ कृतिको सार

मनोविज्ञानका हिसाबले भन्ने हो भने परामर्श नै सबैभन्दा ठूलो औषधी हो। सही समयमा सही तरिकाले सही ठाउँमा सही भाव र वृत्तिसहित सही सन्देश वा परामर्श दिनु नै सबैभन्दा ठूलो चिकित्सा हो। त्यही कुरा श्रीकृष्णले अर्जुनसित गरेका थिए।

यही कुरालाई स्वीकार्दै डा. अजय रिसालले ‘गीतामा मनका कुरा’ कृतिमा गीतालाई मनोविज्ञानको एक विशिष्ट ग्रन्थका रूपमा, उपचार सूत्रका रूपमा, जीवनसूत्रका रूपमा एवम् जीवन विज्ञानका रूपमा प्रस्तुत गरेका छन्। गीताको ऐतिहासिक, आध्यात्मिक, धार्मिक एवम् सम्प्रदायविशेषमा केन्द्रित टीकाहरूभन्दा भिन्न वैज्ञानिक एवम् मनोविश्लेषणात्मक अवधारणाका रूपमा यो कृति आएको छ।

यस कृतिमा कृतिकार रिसालले अर्जुनलाई मनोरोगी र कृष्णलाई मनोचिकित्सकका रूपमा नूतन विश्लेषण गरेका छन्। यस पुस्तकको प्रथम अध्यायमै अर्जुन मनोरोगीका रूपमा देखिन्छन्। द्वितीय अध्यायपछि मनोचिकित्सक श्रीकृष्णले अर्जुनको उपचार प्रश्नोत्तर अनि संवादद्वारा गरेका छन् एवम् विश्वरूप दर्शनको एघारौँ अध्यायलाई सम्मोहन पद्धतीय उपचार भनेर विश्लेषण गरिएको छ।

यो विश्लेषणमा गीताका सन्दर्भमा गरिएका अन्य विश्लेषणभन्दा भावगत नवीनता पाइन्छ। ‘गीतामा मनका कुरा’ मा चिकित्सकीय दृष्टिले पनि भागवत गीताको चिरफार गर्न सकिने रहेछ भन्ने प्रमाणित भएको छ। महाभारत कालीन रणभूमिमा अर्जुनको मनोदशालाई निदान गरी श्रीकृष्णले गरेको मस्तिष्क मन्थनलाई डा. अजयले मनोचिकित्सकीय एवम् मनोसामाजिक विश्लेषण गरेका छन्। भागवत गीताको श्रवण एवम् पठन धार्मिक र आध्यात्मिक विषयसँग मात्र सम्बन्धित नभई मनोसामाजिक एवम् सुस्वास्थ्यलाभसँग समेत सम्बन्धित छ भन्ने कुराको पुष्टि यस कृतिमार्फत भएको छ।

मनोचिकित्सकीय कसीमा ‘गीतामा मनका कुरा’

वर्तमान अवस्थामा मनोचिकित्साको विकासलाई हेर्ने हो भने यो विषय पश्चिमी दर्शनबाट नै प्रेरित भएको देखिन्छ अनि हामीले त्यसैलाई नै अनुसरण गर्दै आइरहेका छौँ। तर मनोचिकित्साका समस्याहरूलाई विभिन्न दृष्टिकोणबाट हेरिनुपर्छ भन्ने विश्वव्यापी मान्यता छ। मानसिक रोग लागेका हरेक मानिसलाई उसको सामाजिक, धार्मिक अनि सांस्कृतिक धरातलमा रही विश्लेषण गरिनुपर्दछ।

पश्चिमी दर्शनबाट प्रेरित पुस्तक या अध्ययनबाट शिक्षा लिएका हामीले आफ्नो सामाजिक, धार्मिक या सांस्कृतिक ज्ञानबिना मनोसामाजिक समस्याहरूको सही विश्लेषण गर्न सक्दैनौँ। अहिलेसम्म हामीले हाम्रो मनोचिकित्सकीय ज्ञानलाई हाम्रो धर्म र सांस्कृतिक दृष्टिकोणबाट हेर्ने र विश्लेषण गर्ने काम कमै मात्र गरेका छौँ। रोग शारीरिक कारणले मात्र नभई मानसिक कारणले पनि लाग्ने गर्दछ।

अहिलेको अन्तर्मुखी समाजमा त यसको सङ्ख्या आकासिएर गएको छ। अझ विकसित कहलिएका देशहरूमा त यसको चित्र कहालीलाग्दो नै छ। ती देशका सरकारहरू यस कुरामा धेरै नै संवेदनशील भएका देखिन्छन् र त्यसैअनुसारका प्रयास पनि भएका छन्। तर पनि यो मनोविकारको मूल जरो आफ्नै मन, बुद्धि, चित्त अनि अहङ्कारभित्र छ भन्ने सूक्ष्म तत्त्व नबुझिकन खालि औषधोपचारले र आधुनिक चिकित्सा पद्धतिले मात्र केही गर्न सक्दैन।

‘गीतामा मनका कुरा’ कृतिमा लेखक डा.अजय रिसालले मनसम्बन्धी रोगहरू र विकारहरूको चिरफार गरेर उपचार गर्नुपर्ने विचारलाई नै मुख्य सार बनाएका छन्। यस पुस्तकमा मनोरोग र अध्यात्मसँगको तादात्म्यका बारेमा खोतल्न खोजेका छन्। यो निकै चुनौतीपूर्ण कुरा हो किनभने मनोविज्ञानलाई श्रीमद्भागवत गीताजस्तो धार्मिक ग्रन्थको ज्ञानलाई समेटेर तुलनात्मक एवम् विवेचनात्मक प्रस्तुति गर्ने काम यस पुस्तकमा भएको छ।

एउटा मनोचिकित्सकको आँखाबाट गीतामा भएको अर्जुन–कृष्णको संवादलाई जुन मनोवैज्ञानिक विश्लेषण गरिएको छ, त्यो नयाँ पिँढीका लागि ज्ञानको शृङ्खलामा योगदान दिने कृति बन्ने अनुमान गर्न सकिन्छ। ‘गीतामा मनका कुरा’ लाई साहित्यपोस्ट डटकमले प्रकाशन गरेको छ।

प्रकाशित: १७ वैशाख २०७९ ०९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App