प्रतिभा ठूलो कि भाग्य? यसमा धेरै बहसकर्ता धेरै मच्चिएर पक्ष/विपक्षमा उभिन सक्लान् तर जब डिक्रा वादीको स्वर एकपटक सुनेपछि भने प्रतिभाप्रति नतमस्तक हुनैपर्छ। डिक्राको जीवनको उतारचढाव, एउटी गायिकको उतारचढावमात्र होइन, एउटी प्रतिभाको उत्थान, पलायन र पुनर्आगमनको कथा पनि हो।
डेउडा भन्नेबित्तिकै सबैले झट्ट सुदूरपश्चिम सम्झिहाल्छन्। डेउडा र सुदूरपश्चिम एकअर्काका पर्याय बनेका छन्। डेउडाभित्र पनि अनेकन् विधा छन्। त्यसको एउटा विधा हो, ‘ठाडी भाका’। जसमा लामो स्वर दिएर एक्लैले विरह, वेदनाका शब्दहरू गुन्गुनाउने गरिन्छ। हो, त्यही ठाडी भाकालाई देश दुनियाँमा चिनाउने व्यक्ति हुन्, डिक्रा वादी। ५० को दशकपछि सुदूरपश्चिममा क्यासेटमा गीत सुन्नेको लहर चलेको थियो।
प्रत्येकका घरमा टेप रेकर्डर हुन्थे। टेप रेकर्डर नभएको घरै हुन्थेन। अझ सुदूरपश्चिमका अधिकांश मानिस रोजगारीका लागि भारत जान्थे। भारतबाट घर फर्कँदा सबैको हात हातमा टेप रेकर्डर हुन्थ्यो। र, त्यही टेप रेकर्डरमा डिक्रा वादीका ठाडी भाका सुन्दै धनगढी बसपार्कबाट परदेशीहरू घर फर्कन्थे। गाउँ पुग्नै लाग्दा ठूलो आवाजमा टेप रेकर्डरबाट डिक्रा वादीको गीत गुन्जन्थ्यो र पो गाउँलेहरू भन्थे–‘लाहुरे’ फर्केछ। हो, परदेशिएको लाहुरे घर फर्कँदा बजाउने गीत नै डिक्रा वादीको हुन्थ्यो। त्यो बेला क्यासेटमा डिक्रा वादीको ठाडी भाका हालिएन भने क्यासेट नै बिक्री हुँदैनथ्यो। कुनै बेला त्यही ठाडी भाका चर्चित बनाउने गायिका हुन्– कृष्णपुर, कञ्चनपुरकी डिक्रा वादी।
सुदूरपश्चिममा प्रायः सुनिने भाका भनेकै डेउडा हो। डेउडामा पनि दोहोरी डेउडा र ठाडी डेउडा छन्। ठाडी भाकामा एकल स्वरमा विरहका गीतहरू गाइने गरिन्छ, त्यसलाई नै भनिन्छ ठाडी भाका। हो त्यही ठाडी भाकाको गीतमा डिक्राको स्वर नमिसिए भाका नै अधुरो हुन्छ। कुनै जमाना थियो–डिक्रा वादीको गीत सुन्न गाउँभरिका मान्छे जम्मा हुन्थे र ‘क्यासेट प्लेयर अन’ गरिन्थ्यो। टेप रेकर्डरमा रिलवाला क्यासेट हालिन्थ्यो अनि डिक्रा वादीका गीत सुनिन्थ्यो। सुदूरपश्चिमको सांस्कृतिक चिनारी डेउडा गीतलाई यिनै डिक्राले माथि उठाएकी हुन्।
डेउडाको ‘ओरिजन’ ठाडी भाकालाई मानिन्छ। जसलाई पहिलोपटक डिक्राले आफ्नो सुरिलो स्वरमार्फत् देश/विदेश पुर्याएकी थिइन्। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा अहिले पनि ठाडी भाका गाइन्छ। तर क्यासेटको ‘रिल’मा गाउँघरका ठाडी भाकालाई कैद गर्ने सम्भवतः पहिलो व्यक्ति डिक्रा नै हुन्। ठाडी भाकामा विगत २७ वर्षदेखि स्वर दिँदै आएकी डिक्रा २०५२ सालदेखि औपचारिक रूपमा गायन क्षेत्रमा उदाएकी कलाकार हुन्।
सुदूर पश्चिममा गाइने ठाडी भाका र डिक्रा एक अर्काका पर्याय बनेका छन्। त्यो बेला उनले गाएका ठाडी भाका नसुन्ने सुदूरपश्चिममा कमै होलान्। उनको स्वर ठाडी भाका पारखीले मजाले खुट्याउँथे। गरिबी र अभावकै बीच पनि उनले १२ वटा एल्बम बजारमा ल्याइसकेकी छिन्। त्योबाहेक लगानीकर्ताको अरू फुटकर गीत त कति गाइन् गाइन्, कुनै हिसाबै छैन।
डिक्रा ठाडी भाकामा स्वर भर्न स्टुडियो पुग्थिन्। उनीसँगै सारंगीको तार रेट्न पुग्थे, उनका पति कित्थेवादी। जसरी ठाडी भाकामा डिक्राको नाम अग्रपंक्तिमा आउँछ, त्यसरी नै सांगीतिक क्षेत्रमा कित्थे वादीको नाम पनि जोडिन्छ। क्यासेटको जमानामा सारंगीमार्फत संगीत भर्ने व्यक्ति सुदूरपश्चिममा उनै कित्थे वादी थिए।
२०५२ सालतिर डेउडा गीत रेकर्ड भएपछि उनको स्वरले मध्य र सुदूरपश्चिममा एकछत्र राज गर्यो।
डोटेली गीत मन पराउनेहरू उनका गीत खोजी खोजी सुन्न थाले। धनगढी तथा महेन्द्रनगरबाट पहाडी रुट र पूर्वी रुटमा चल्ने सार्वजनिक सवारी साधनमा उनका ठाडी भाका गुञ्जन थाले। यहाँका एफएम रेडियोहरूले पनि उनका गीत बजाउन थाले। रेडियोमा समर्पित गर्ने स्रोतामाझ पनि डिक्राकै गीत रोजाइमा पर्न थाल्यो। सांगीतिक क्षेत्रमा डिक्रा एक अब्बल र सबैको आकर्षणकी केन्द्रविन्दु बनिन्।
पहिलो एल्बम ‘बसिबियाँलो’ निकालिसकेपछि ‘सारंगी’मा स्वर दिएकी थिइन् डिक्राले। उनको स्वर भएको एल्बमले बजार तताउन थालेपछि डिक्राको माग जताततै भयो। डिक्राको दोस्रो एल्बम ‘सारंगी’पछि उनलाई गायक अन्तराम बिष्टले पहिलोपटक काठमाडौँलगेर ‘बौजु’ एल्बममा स्वर दिन लगाए। ‘बौजु’ डिक्राको तेस्रो एल्बम हो। त्यसपछि उनको ‘सुनकेसरी’ एल्बमले बजार ततायो। डिक्राले अहिलेसम्म एक हजार भन्दा बढी गीतमा स्वर दिइसकेकी छिन्। ‘कति हो कति गीत गाएकी छु’ डिक्राले भनिन्।
विक्रम संवत् २०२० को दशकमा बाजुराको एक विकट गाउँमा जानकीको कोखबाट पहिलो सन्तानका रूपमा डिक्राको जन्म भएको थियो। बाबुको नाम बैरागी हो।उनीरूपमा जति राम्री थिइन्, स्वरत्योभन्दा बढी मीठो थियो। उनको स्वरले सबैलाई मोहनी लगाइदिन्थ्यो र पो उनको ठाडी भाका सुदूरपश्चिम र मध्यपश्चिमका स्रोतामाझ लोकप्रिय बनिन्।
डेउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ क्यासेटको जमानामा डिक्रा वादीको स्वरमा रहेको एउटा ठाडी भाका नराख्दा क्यासेट नै बिक्री नहुने गरेको स्मरण गर्दै भन्छन्, ‘स्रोताले क्यासेट किन्दा डिक्रा वादीको ठाडी भाका नभएको क्यासेट किन्दैनथे, त्यसैले पनि जोकोही कलाकारले क्यासेट निकाल्दा डिक्राको स्वरमा रहेको एउटा ठाडी भाका समावेश गरेकै हुन्थे।’ डिक्रा दलित समुदायभित्रको पनि वादी समुदायकी एक चर्चित नाम हो। जसको स्वर सुदूर पश्चिमका डेउडा पारखीको मनभित्र छ। डिक्राको स्वर नसुन्ने र नचिन्ने सुदूरपश्चिममा बिरलै छन्।
क्यासेटपछि सुस्ताएकी डिक्राको ‘कम ब्याक’
जुन क्यासेटमा डिक्राको स्वर हुन्थ्यो, त्यो क्यासेट खुबै बिक्री हुन्थ्यो सुदूरपश्चिममा। वरिष्ठ डेउडा गायक नरेन्द्रराज रेग्मी सुदूरपश्चिममा डेउडा पारखीका लागि डिक्राको स्वर लोभलाग्दो र आकर्षित भएको बताउँछन्। डिक्रालाई एकपटक गीतको भाका सुनाइदिए उनी त्यही भाकालाई उतार्छिन्। सुरुसुरुमा डिक्रालाई स्टुडियोमा गीत रेकर्ड गर्दा एकजनाले गीतको लय भन्नुपर्ने र उनले त्यही शब्दलाई ठाडी भाकामा गाउने गर्थिन्। यसरी एउटाले भनेको शब्दलाई टिपेर गीत गाउँदा गाह्रो हुन थालेपछि उनले गाउँमै प्रौढ शिक्षा लिइन्। प्रौढ शिक्षापछि भने उनी गीत गाउँदा कापीको पानामा लेखिएका शब्द आफैँ पढेर रेकर्ड गराउन थालेको रेग्मी बताउँछन्।
उनका अनुसार त्यो समयमा एल्बम निकाल्नेहरूले डिक्राको स्वर क्यासेटमा अटाउँथे। डिक्राको स्वर नभएको क्यासेट कमै बेचिन्थे र पो त्यो बेला डिक्रा ठाडी भाकाकी ‘हिरो’ नै थिइन्। त्योबेला क्यासेटमा गीत गाएबापत उनले पैसा पाउँथिन्। त्यहीबाट गुजारा चलेको थियो। क्यासेटको युग सकियो। उनी पनि हराइन्। एक दशकदेखि उनी गीत संगीतबाट टाढा थिइन्। डिक्रा कहाँ हराइन् थाहा थिएन तर डिक्राको स्वर सुनेकाहरूले भने उनलाई बिर्सन सकेका थिएनन्।
६० को दशकपछि सुदूरपश्चिममा मेला महोत्सवको रौनक छायो। मेला महोत्सवमा राष्ट्रिय कलाकार भन्दै काठमाडौँबाटै कलाकार ल्याएर यहाँका मञ्चमा गीत गुञ्जाइयो। तर आफ्नै घर/आँगनकी डिक्रालाई कसैले बोलाएन। क्यासेटमा गीत गाउन्जेल उनको महत्व थियो, क्यासेटको जमाना सकिएपछि उनका प्रशंसकले पनि बिर्सिए। मञ्चीय कार्यक्रममा उनलाई बोलावट कसैले गर्न सकेनन्। जीवन गुजार्ने पेसा गायकीले पुगेन। उनी मजदूरी गर्न थालिन्। देशकै प्रख्यात गायिका यसरी दैनिक छाक टार्न मजदूरीगर्न बाध्य बन्नुपर्यो।
क्यासेटमा उनको स्वर सुनेकाहरू, जो उनका ‘फ्यान’ थिए, तिनले उनीबारे सोधीखोजी गर्न थाले। तिनैमध्ये केहीले उनलाई काठमाडौँ लगे। राष्ट्रिय नाचघरमा उनको स्वर गुञ्जियो। डेउडा र ठाडी भाकामा दर्शकले भरपुर मनोरञ्जन लिए।साथमा उनकापति कित्थेले सारंगी रेटेका थिए। यो कार्यक्रमपछि भने डिक्राको चर्चा पुनः चुलियो। त्यसपछि पुनः सुदूर पश्चिमका साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा उनलाई बोलावट हुन थालेको छ। ‘मलाई फेरि ठूलठूला कार्यक्रममा बोलाउन थालिएको छ,’ डिक्राले भनिन्,‘वैशाख १ गतेकै दिन मलाई काठमाडौँमा ‘इन्द्रेणी’ कार्यक्रमले बोलायो। जहाजमै लग्यो र जहाजमै फिर्ता पठायो।’ काठमाडौँको कार्यक्रम भ्याएकै दिन गाउँमै सांगीतिक कार्यक्रममा पनि बोलाइएको थियो। अहिले सांस्कृतिक कार्यक्रम हुँदा डिक्रालाई अगाडि नै निम्तो आइपुग्छ।
ती दिन...
बसिबियालो एल्बममा स्वर दिएर क्यासेटको युगमा प्रवेश गरेकी थिइन् डिक्राले। त्यसअघि गाउँघरमै गीत गाउँदै अन्नपात संकलन गर्ने डिक्राको स्वर चिने डेउडा गायक नरेन्द्रराज रेग्मीले। त्यो समय थियो–२०५२ को। त्यतिखेर गीत रेकर्ड गर्न नरेन्द्रराज रेग्मी र गोरख थापासँग भारतको पलिया पुगेको सम्झँदै उनले भनिन्,‘पहिलो पटक स्टुडियोमा गीत गाउन म भारतको पलिया पुगेकी थिएँ।’ गीत गाउँदाका दिन सम्झँदै गायक नरेन्द्रराज रेग्मी भन्छन्,‘डिक्रालाई पहिलोपटक स्टुडियोमा गीत गाउन लगाउँदा एकजनाले गीतको लय भन्नुपर्ने र उनले त्यही शब्दलाई ठाडी भाकामा गाएकी थिइन्।’
पुर्ख्यौली पेसा नै थियो गायकी
वादी समुदाय प्रायः गाउँघरमा जाने, गीत गाउने र नाच्ने गर्छन् सुदूरपश्चिमतिर। उनीहरूको मुख्य पेसा नै गीत गाउने र गीतका माध्यमबाट मनोरञ्जन दिलाउने हो। गाउँघरमा गएर गीत गाएबापत् कथित उपल्लो जात भनिनेहरूले वादी समुदायलाई अन्नपात तथा पैसा दिन्थे। त्यहीबाट उनीहरू गुजारा गर्थे। त्यो कुनै समय थियो तर अहिले समाज बदलिएको छ। हो, त्यही पुर्ख्यौली पेसा गायकी अन्ततः डिक्रा भनेर चिनिने बाटो बन्यो। घरमा आमा बाले गाउने गीतको लय टिपेर नै उनले गायन सिकिन्। जब डिक्रा हुर्कँदै गइन् उनले गीत गाउनुलाई पेसा भन्दा पनि कलाका रूपमा आफूलाई निखार्दै लगिन् र सत्य सावित गरिन्। ‘तिम्रो स्वर मीठो छ भन्दै सबैले गाउन लगाउँथे,’ डिक्राले विगत सम्झँदै भनिन्,‘गीत गाएर सबैलाई सुनाउँदा सुनाउँदै स्वर निखारिएछ।’ त्यही स्वर अहिले पहिचान बनेको उनी बताउँछिन्।
अधिकारका लागि सिंहदरबार घेराउ
वादी समुदायले आफ्नो हक अधिकारका लागि २०६४ सालमा काठमाडौँ गएर सिंहदरबार घेराउ गरे। त्योबेला वादी समुदायकी नेतृ उमादेवी वादीले सिंहदरबारको गेट चढेर नारा लगाइरहँदा डिक्रा वादी पनि सँगै थिइन्। वादी समुदायका माग पूरा गर्ने भनेर सहमति गरेको सरकारले अहिलेसम्म पूरा नगरेको भन्दै उनले रोष प्रकट गरिन्। ‘वादी समुदायका माग पूरा गर्छौँ भनेर त्यसबेला आन्दोलन तुहाइयो,’ उनले भनिन्,‘अहिलेसम्म हाम्रा माग पूरा भएका छैनन्।’ साँझ खाए बिहान के खाने भन्नेमा वादी समुदाय रहेको बताउँदै उनले भनिन्,‘सरकारले वादी समुदायको गाँस, बास र कपासको व्यवस्था गर्नुपर्छ।’ त्यो बेला सरकारले घर बनाइदिने र लालपुर्जा भएको जमिन दिने भने पनि अहिलेसम्म मतलबै नगरेको उनको गुनासो छ।
अत्यन्त पिछडिएको समुदायबाट आएर पनि पहिचान बनाउन सफल डिक्रा आफ्ना अधुरा आन्दोलनका टुक्रालाई पुनः जोड्ने ध्याउन्नमा छिन्।
प्रकाशित: १० वैशाख २०७९ ०१:१३ शनिबार