१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

लक्ष्मण अर्यालका दुई लघुकथा

लघुकथा

लक्ष्मण अर्याल 

१) प्रवाह

नयाँ राहदानी हेरेर मुस्कुराइरहेको छोरालाई बाबुले भन्यो, ‘कान्छा, अब तँ पनि जाने नै भइस् हैन त?’

कान्छाले मुन्टो हल्लायो र भन्यो, ‘यहाँ के छ र बस्ने त बा?’

बाबुले दलिल पेस गर्दै भन्यो, ‘सुन्दर प्रकृति छ संसारकै भन्दा भिन्न। गौरवमय इतिहास छ। सगरमाथा छ, लुम्बिनी छ, पशुपति छ अनि छ जनकपुरधाम। राराको नीलो निलिमा र फेवाको शालीनता अनि माछापुच्छ«ेको भव्यता र अन्नपूर्णको स्निग्धता।’

कान्छाले बाबुलाई सोध्यो, ‘बा, तपाईं अहिले ६० को हुनुभो हैन? अब २०/३० वर्ष बाँच्नु होला। आनीबानी र व्यवहारले तपाईं कर्मयोगी हुनुहुन्छ। त्यसैले पुनर्जन्ममा विश्वास गर्नुहुन्छ जस्तो लाग्दैन। के तपाईं भन्न सक्नुहुन्छ त बा–तपाईंको अब बाँकी २०/३० वर्षमा यो देशलाई लाउकेहरूले बस्नलायक बनाउलान्?’

बाबुसँग कुनै उत्तर थिएन।

छोराले तातेको फलाममा फेरि घन ठोक्यो, ‘नयाँ पुस्ता भूगोल र इतिहासको गौरवभन्दा अर्कै थोक खोजिरहेछ बा! पुख्र्यौली सम्पत्तिको गौरवभन्दा मान्छेले जस्तै बाँच्न पाउने अधिकारको सुनिश्चित आजका पुस्ताले लक्ष्य बनाएका छन्।’

बाबुका सम्झनामा मेची कोशी र नारायणी आए जो अनन्त वर्षदेखि अनवरत बगिरहेका छन्। सोचे–अब यो नदीको वेगवान् प्रवाहलाई कति दिन पो रोक्न सकिएला र?

२) जीत

अदालतमा छेपाराको बाक्लो उपस्थिति थियो।

छेपाराको तर्फबाट वकालत गरिरहेको वकिल भन्दैथ्यो, ‘मान्छेमाथि कारवाही हुनुपर्छ श्रीमान्। छेपाराको धर्म खोसियो।’

अचम्म, छेपाराको वकिल पनि मान्छे थियो र मान्छेका तर्फबाट पनि मान्छेले नै वकालत गर्दै थियो।

हेर्नेहरू अदालतभरि असरल्ल थिए। ‘मान्छेमाथि छेपाराको मुद्दा’  सुन्दा पनि उदेकलाग्दो विषयले मान्छेलाई मुद्दाले तानेको थियो।  

कठघरामा उभिएर एउटा छेपाराको नाइकेले भन्यो, ‘जीवनका लागि रङ फेर्ने हाम्रो धर्म मान्छेले लुटे श्रीमान्! मान्छेमाथि सशक्त कारबाही होस्।’

अदालतमा चर्को बहस चल्यो। अब यो मुद्दा छेपाराले नै जित्छन् गाइँगुइँ भो। मर्ता क्या नही कर्ता –मान्छेको वकिलले  कायल भएर २४ घण्टाको समय माग्यो। प्रधानन्यायाधीश पनि मान्छे नै थियो। जातीय विषय भएकाले उसले पनि मान्छेको वकिलको मागलाई सम्बोधन गर्‍यो।

२४ घण्टापछि अदालत फेरि बस्यो। सबै जना उपस्थित भए तर छेपाराका तर्फबाट वकालत गर्ने वकिल आएन। निकैबेरपछि प्रधान न्यायाधीश समुस्कान बोल्यो, ‘छेपारा हो, खै तिम्रा वकिल?’

एउटा बुढो छेपारो कठघरामा उक्लिएर बोल्यो, ‘हाम्रो वकिलले रङ फेयो।’

उसले यो पनि भन्यो, ‘आफ्नै जातीय वकिल तयार नहुँदासम्म यो मुद्दा मुल्तवीमा राखियोस् श्रीमान्!’

तर, मुद्दाले त्यसै दिन किनारा पायो, मान्छेहरूले जिते।

प्रकाशित: ९ वैशाख २०७९ ०६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App