तुलसी पण्डित
आज मालिक र श्रमजीवीहरू बिचको सम्मेलन रे।
मैले आश्चर्य मान्दै सोधे, ‘यो कसरी सम्भव हुन्छ?’
–हो, यसलाई हामीले निकै अप्ठेरोको साथ सम्पन्न गर्न लागिरहेका छौ। यदि यो सम्पन्न भयो भने ऐतिहासिक हुनेछ।
–किन?
–यस्तो कार्य गर्न धेरै अप्ठेरो हुने रहेछ। उही वर्गमा भए खासै केही फरक नपर्ने रहेछ।
–कसरी सम्भव भयो त यो?
–पछि थाहा पाउनु हुनेछ।
तोकिएको समयमा कार्यक्रम सुरु भयो। श्रम गर्ने र न गर्ने दुई फ्याकमा थिए। श्रम गर्नेहरू प्राय सबै दुब्ला मरन्च्याँसे आङमा कपडा नभएका, खाली खुट्टा आएका थिए। साथै उनीहरू यौवनमा नै बूढा भैसकेका थिए।
श्रम नगर्नेहरू हेर्दैमा रहरलाग्दा थिए। मोटाघाटा उस्तै थिए। बढी मोटाएको कारण उनीहरूलाई हिंड्न गाह्रो थियो। हिंडेर आउन नसकेर होला करोडौं पर्ने कार ल्याएका थिए।
कार्यक्रममा बोल्ने वक्ताले बोल्दै गए, ‘श्रमिकको कारण हामी बाँचेका हौं। उनीहरूलाई श्रम नगर्नेले सहयोग गर्नुपर्छ। हेर्नुस् त उनीहरूको गति। हेर्दैमा डरलाग्दा र दयनीय छन्। कार्यक्रम सकियो।
बेलुका घर जाने बेलामा श्रम गर्नेहरूले न गर्नेहरूका लागि कोसेलीस्वरूप बोराका बोरा चामल,गहुँ,मकै,तरकारी र घिउहरू ल्याएका थिए। श्रम नगर्नेहरूले आफूले सकेका सामानहरू गाडीमा लोट गर्दै थिए। लोट गर्ने क्रममा उनीहरू एक आपसमा भन्दै थिए,‘मान्छे हेर्दा मात्र घिन लाग्ने। सामान त कति महत्त्वपूर्ण रहेछन्।’
प्रकाशित: ३ वैशाख २०७९ ०६:३३ शनिबार