ललिता ‘दोषी’
सुन्दर सिर्जनाकी धनी अन्जितालाई माया गर्ने थुप्रै प्रिय पाठक थिए। गहिरो नदी कुर्लिंदैन भनेझैं चर्चापरिचर्चा मात्र सिर्जना गर्नु उनको धर्म थियो। ‘लाई भन्दा देख्नेलाई लाज’ भनेझैं दुई पैसे साहित्यकारहरू फोस्रो चर्चा बटुलेर शिखर छुन्थे। त्यो देख्दा उनको मुटु छियाछिया हुन्थ्यो। कहिले त महिनौसम्म कलम नै समाउँदैन थिन्।
उनी निराश भएको देखेर आफन्तहरू सम्झाउँथे, ‘पटक्कै निराश हुनु हुँदैन। जसले जति नै पित्तललाई शिरमा राखेर हीरालाई खुट्टामा राखे पनि जुहारीको हातमा पुगेपछि पित्तल र हीराको मूल्य निर्धारण हुन्छ।’
आफन्तहरूले सम्झाएपछि सन्नाटा छाइसकेको उनको मनमा पुनः आशाका किरण उदाउँथे। उनी कलम चलाइरहन्थिन्।
एकदिन बिहानै मोबाइलमा म्यासेज आयो। त्यो हेरेपछि अन्जितालाई उडूँ कि गुडूँजस्तै भयो। उनले तुरुन्तै म्यासेज लेख्ने प्रतिष्ठित व्यक्तिलाई फोन गरिन्। उनले ‘हार्दिक बधाई छ’ भने। अन्जिताले ‘हार्दिक धन्यवाद’ भन्न भुलिनन्।
त्यसपछि सबै परिवारलाई आफूले पुरस्कार पाएको कुरा गरिन्। सबैले ‘एकदिन न एकदिन लाटाको खुट्टा बाटामा पर्छ’ भनेको ठीक नै रहेछ भने। सासू,श्रीमान,छोराछोरी, बूढा बाबुआमा लगायत सबै आफन्तले अझ प्रगति होस् भनेर आसिक दिए। अन्जिताकी छोरी आहानाले आमाको फोटो राखेर स्ट्याटस लेखिन्, ‘आज हाम्री आमाको सपना साकार भएको छ। उहाँका सुन्दर कथाहरूको उच्च मूल्यांकन गर्दै कैलाश वाङ्मय प्रतिष्ठानबाट रु. पचास हजार राशिको पुरस्कार दिने निर्णय गरिएको छ। प्रतिष्ठानका अध्यक्ष श्री प्रभासज्यू, प्रतिष्ठान परिवारप्रति हार्दिकहार्दिक आभार प्रकट गर्दछौं।’
स्ट्याटस् राखेपछि अन्जितालाई फेसबुकमा र मोबाइलमा बधाई दिनेहरूको घुइँचो नै लाग्यो।
उनी खुसीले गद्गद् हुँदै मोबाइलमा नै व्यस्त भइन्। बेलुकीको साढे पाँच बजेतिर फेरि एउटा म्यासेज आयो। अन्जिता सिँढी ओर्लिदै थिइन्। उभिएर यसो म्यासेज हेरिन्। भन्न रिंगटा चल्यो। सिंढीबाट खुरमुरिइन्। हस्पिटल पुर्याउँदा नपुर्याउँदै उनको प्राणपखेरु उड्यो।
हस्पिटलमा पुगेपछि टुक्रिएको मोबाइललाई जोडेर आहानाले रुँदै बाबुलाई म्यासेज देखाइन्।
लेखिएको थियो, ‘कृपया माफ गर्नुस्। आज अप्रिफुल हो।’
प्रकाशित: २१ चैत्र २०७८ ०८:३६ सोमबार