२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

डा. विष्णुमाया परियारलाई सम्मान

सामाजिक अभियन्ता, मानवाधिकार, घरेलु हिंसा र दलित अधिकारबारे राष्ट्रिय योगदान र अन्तर्राष्ट्रिय छवि भएकी डा. विष्णुमाया परियारलाई नेपाल आएको मौका पारेर त्रिवि दलित युनियनले सम्मान र बधाई कार्यक्रम राखेर उनको योगदानको कदर गरेको छ।

दलित विद्यार्थी युनियन त्रिविको आयोजनमा त्रिवि परिसरमा भएको कार्यक्रमको संयोजन र स्वागत मन्तव्य दीपा नेपालीले दिएकी थिइन्।

विपिन विश्वकर्माको सभापतित्व र  राधिका बोहोराले सञ्चालन गरेको कार्यक्रममा कर्णाली प्रदेशका संसद् दानसिंह परियार र ‘आत्मसम्मान, मर्यादा र समता सबैको बराबरी’ अभियानकर्मी  संजिव कार्कीले परियारलाई सम्मान गरेका थिए।

प्रसिद्ध अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा. लिसा राइट ओफ्नरले लेखेको ‘द राइटर्स माइण्डसेट’ पुस्तकमा डाक्टर विष्णुमाया परियारको जीवन संघर्षको कहानी प्रकाशन गरेको छ।

दि राइटर्स माइण्डसेट पुस्तकको ६९२ पृष्ठमा विश्वका चर्चित ५२ जनाको जीवनी समावेश छ, जसमध्ये ५९१–५९४ बीच चार पृष्ठमा डाक्टर विष्णुमायाको जीवनी छ जसलाई विश्वका ११ सयभन्दा बढी स्कुल, कलेज र विश्वविद्यालयमा पढाइन्छ।

अमेरिका २७ सेप्टेम्बरलाई ‘विष्णुमाया डे’ घोषणा गर्छ र भव्य सेलिब्रेट गर्छ। हामी पनि हाम्री नेपाली चेलीलाई सम्मान गरौं। उहाँबाट प्रेरणा लिऔं। उहाँबारे नेपालका शैक्षिकस्थलमा पनि पढाइ होस् भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको अनेरास्ववियु नेतृ दीपा नेपालीको भनाइ छ।

कार्यक्रमका वक्ता मीमबहादुर परियार र संसद् परियारले विष्णुमायाको जीवनी नेपालको शैक्षिक पाठ्यपुस्तकमा राख्नुपर्ने माग गरे। सम्मानित व्यक्तित्व विष्णुमायाको संघर्ष, दुख र सफलताको कहानी सुन्दा दर्शकदीर्घामा दुख र हर्षको आँसु छचल्किएको थियो।स्वयं विष्णुमाया समेत आफ्ना दुख सुनाउँदा भक्कानिएकी थिइन्। देशविदेशमा योगदान र नाम भएको मान्छेबारे राज्य बेखबर हुनु, राजनीतिक पार्टीहरू र स्वयं दलितका संघ–संगठन मौन बसेकोमा दुख लागेको सहभागीको गुनासो थियो।

प्रकाशित: २१ चैत्र २०७८ ०४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App