२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

एकचालीसौं कथा दिवसमा मैनालीको सम्झना

साहित्यिक पत्रकार संघद्वारा एकचालीसौं कथा दिवसको  उपलक्ष्यमा  प्रथम नेपाली आधुनिक कथाकार गुरुप्रसाद मैनालीको सम्झना गरिनुका साथै लघुकथा वाचन सम्पन्न भयो।

संघले २०३८ सालदेखि कथा दिवस मनाउँदै आएको छ। संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य माया ठकुरीले प्रत्येक व्यक्तिले आफू उभिएको स्थान र सहयोग गर्नेहरूलाई बिर्सन नहुने बताइन्।

सो अवसरमा कथाकारहरू-हिरण्यकुमारी पाठक, मधुवन पौडेल, राधा कार्की, निर्मलरमण  पराजुली, मौनता थापा र श्रीराम राईले लघुकथा वाचेका थिए।

कार्यक्रमको दोस्रो चरणमा गुरुप्रसाद मैनाली र नेपाली कथासाहित्यबारे भएको संवाद कार्यक्रममा वक्ताहरूले मैनालीको योगदानलाई सम्झेका थिए।

संवाद कार्यक्रममा समालोचक प्रमोद प्रधानले नेपाली कथामा मैनाली सबै पुस्ताका लागि उत्तिकै उदाहरणीय भएको बताए। उनले नेपाली कथामा आधुनिकताको थालनी गरेको बताउँदै विषयवस्तु, संरचना, शैली र भाषा सबै दृष्टिले उनी नेपाली कथाका पहिलो आधुनिक कथाकार भएको पुष्टि गरे।

कथाकार गोविन्द गिरी प्रेरणाले  मैनालीका कथामा समाजको फैलावट र गहिराइ दुवै पाइने उल्लेख गरे।

कथाकार बाबा बस्नेतले मैनालीका कथामा नारी पात्रहरूमा विद्रोह  चेतना नभई पलायन प्रवृत्ति रहेको बताइन्। धेरै ठाउँ पुगेकाले विभिन्न ठाउँका भाषा, संस्कार, संस्कृति जस्ता सबै कुराको जानकार भए पनि  नारी पात्रलाई उठाउन नसक्नु दुखद् पक्ष हो।

त्यसैगरी समालोचक उपमा आचार्यले मैनालीका कथाहरू नेपाली साहित्यका मानक कथा भएको धारणा राखिन्।

संवाद कार्यक्रमका सहजकर्ता साहित्यकार डा.दामोदर पुडासैनी किशोरले मैनालीका कथाहरू मानक रहेको बताए। उनले कथामा नेपाली मन र समाजलाई नजिकैबाट उतारेका छन्। थोरै लेखे पनि उनको कथा उम्दा छन्। उनको योगदानलाई कसैले पनि बिर्सन हुँदैन।

कार्यक्रममा अमेरिकाबाट आएकी साहित्यकार मीना शाक्यलाई सम्मान पनि गरिएको थियो।

मुरारी सिग्देलले चलाएको सो कार्यक्रममा थाहा पुस्तकालयका उपाध्यक्ष शिव अधिकारी,  कथाकार मैनालीकी कान्छी बुहारी भारती मैनाली, विमल भौकाजी, डा. सिर्जना शर्मा, उषा केसी, कमला शाक्य, पारू तिमिल्सिना, मुना बोहरा, मधुसूदनप्रसाद घिमिरे, हेमा शर्मा लगायतको उपस्थिति थियो।

प्रकाशित: २० चैत्र २०७८ ०६:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App