२५ श्रावण २०७९ बुधबार
कला

इन्टरनेट ब्ल्याङ्क!

यतिबेला जब म किबोर्डमा मेरा हात सलबलाइरहेका छन्, बिहीबारको यो निस्तब्ध रातमा म इन्टरनेट ब्ल्याङ्क छु। भनाइको अर्थ, अहिले काठमाडौंको म बसेको काँठमा कुनै दुर्घटनाका कारण इन्टरनेट केबल चुँडिएको छ। त्यसैले म इन्टरनेटसँग सम्बन्ध कुनै पनि काम गर्न सकिरहेको छैन। मेरो धेरै काम अड्किन पुगेको छ।

अचेल इन्टरनेटबिनाको जीवन हामी कल्पना गर्न सक्तैनौँ। इन्टरनेट हाम्रो दैनिक जीवनको अभिन्न अंग बन्ला भन्ने ३० वर्षअघि कल्पना समेत थिएन। मेरो पत्रकारिताको जीवनमा नेपाल प्रेस इन्स्टिच्युटले दिने पत्रकारिता र कम्प्युटर डेस्कटप तालिमका बेला एक्कादुक्का इन्टरनेट चलाउनुबाहेक खास अनुभव गर्न पाइएको थिएन।

पछि जुन कार्यालयमा पत्रकारिता गर्न थालियो, त्यहाँ खासखास व्यक्तिले खास खास समयमा मात्र इन्टरनेट चलाउन पाउँथ्यौँ। त्यो बेला यति सुस्त गतिको इन्टरनेट हुन्थ्यो कि सामान्य वेबसाइट खुल्न पनि समय लाग्थ्यो। यतिबेला भने बिजुली गतिमा नेट चल्ने समय आइसक्यो।

इन्टरनेट अब लक्जरी रहेन, यो हाम्रो जीवनको अभिन्न अङ्ग बन्न पुगेको छ। कतिसम्म भने यसको अपरिहार्यता त कोभिड १९ पछि शुरु भएको ‘वर्क फ्रम होम’ले समेत प्रमाणित गरिदियो ।

उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको लत अचेल टिकटक, फेसबुक म्यासेन्जर लगायतमा देख्न सकिन्छ। तर, यत्तिका तीव्र गतिमा डाटा ओसारपसार हुने प्रणाली कस्तो छ भन्ने कहिल्यै सोच्नु भएको छ?

अहिले हामीले चलाउने इन्टरनेट अधिकांशतः मुम्बईबाट प्राप्त गर्ने गर्छौं। मुम्बईले संसारभरि समुद्रमुनि बिछ्याइएको केबलमार्फत प्राप्त गर्ने गर्छ। मुम्बई मात्र होइन, सिंगापुर, टोक्यो, सांघाई होस् कि लण्डन, जोहानेसबर्ग, सिड्नी, न्युयोर्क आदि जे जति नाम लिनुहोस्, ती सबैलाई समुद्र मुनिको बिछ्याइएको सुपर हाइवे केबल नेटवर्कले काम गरिरहेको छ।

एक हप्ताअघि नेपालमा इन्टरनेटको गति केही सुस्त भएको थियो र त्यसको मूल कारण समुद्रमुनि विस्फोट भएको एउटा ज्वालामुखीले काम गरेको सूचना प्रसारित भएको थियो। त्यो ज्वालामुखीले इन्टरनेटको केबललाई क्षति पुर्‍याएकाले त्यसको असरस्वरूप नेपालमा इन्टरनेट सुस्त भएको जवाफ दिइएको थियो। यसले समुद्रमुनिको केबल कति संवेदनशील अवस्थामा रहेछ भन्ने जनाउ दिन्छ।

यसरी समुद्रमुनि बिछ्याइएको केबल हामीले चलाउने इन्टरनेटको मेरुदण्ड हो। यसैमार्फत डाटा सुपरहाइवे बग्ने गर्छ र यसले हामीलाई संसारभर जोड्ने गर्छ। यसले विभिन्न महादेशलाई जोडिरहेको छ, द्विपहरूलाई जोडिरहेको छ। यी केबलहरू समुद्रको सतहमा बिछ्याइएका हुन्छन्। यिनै केबलमार्फत संसारभरि हुने इन्टरनेट सप्लाईको ९५% भर पर्ने गर्छन्। बाँकी ५% भने स्याटेलाइटबाट पूर्ति हुने गर्छ। यही ९५% सञ्चारका लागि २०० वटा स्वतन्त्र प्रणालीमार्फत जोडिएका केबलको हामीले भर पर्नुपर्ने हुन्छ।

हामीले जब कुनै वेबपेज खोल्छौँ, त्यो बेला विदेशमा रहेका ती वेबसाइटका सूचनाहरू फाइबर अप्टिक केबल (तार)मार्फत लगभग प्रकाशको गतिका साथ तपाईंको कम्प्युटरमा देखापर्छन्।

एक दिनमा यी सञ्जाल (नेटवर्क)मार्फत १० ट्रिलियन डलर बराबरको आर्थिक लेनदेन भइरहेको हुन्छ र त्यो त स्विफ्ट प्रणालीमार्फत। स्विफ्ट प्रणाली एउटा बैंकिङ प्रणाली हो, जसले संसारभरिको बैंकको लेनदेन व्यवस्थापन गर्ने गरिन्छ। पछिल्लो समय क्लाउड कम्प्युटिङको तीव्र विकासले त झन् यस्ता डाटाको आदानप्रदान अझ बढ्न पुगेको छ।

समुद्रमुनि तार बिछ्याएर सञ्चार आदान प्रदान गर्ने क्रम नयाँ भने होइन। सन् १८५० को दशकबाट नै यो कार्यको थालनी भएको थियो।  

खासगरी १८४० मा स्यामुएल मोर्सले बनाएको मोर्स कोडबाट टेलिग्राम आदानप्रदान गर्ने सम्भावना देखिएको थियो। सन् १८५० को दशकमा बेलायत र फ्रान्सबीच यस्तै तारहरू बिछ्याएर टेलिग्रामका सूचना आदानप्रदानका प्रयासहरू भए। त्यस्तै १८५८ अगस्ट ४ मा बेलायत र अमेरिकाबीच सफल टेलिग्राम आदानप्रदानका लागि समुद्रमुनि तार बिछ्याएर सफल सञ्चार आदानप्रदान गरियो।

त्यसबेला बेलायतकी महारानी भिक्टोरिया र अमेरिकी राष्ट्रपति जेम्स मुकाननले पहिलो टेलिग्राम आदानप्रदान गरेका थिए। यस्तो टेलिग्राम बेलायतबाट अमेरिका पुग्न १७ घण्टा ४० मिनेट लागेको थियो। त्यो बेला यति चाँडो सूचना आदानप्रदान हुनु ठूलो सफलताको कुरा थियो।

त्यो बेला राष्ट्रपति बुकाननले यो केबल तारले मुलुकहरूप्रति शान्ति र सुव्यवस्था तथा गहिरो मित्रता बढाउन भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। तर यो तारले लामो समय काम गर्न सकेन। केही दिनको टेलिग्राम आदानप्रदानपछि केबलले काम गरेन। पछि सन् १८६६ मा मात्र दह्रो र भरपर्दो केबल जोड्न सफलता प्राप्त भयो।

अहिले त्यो संघर्ष एउटा कहानीमा परिणत भइसक्यो। अचेल त प्रविधिमा यति धेरै सुधार आइसक्यो कि, समुद्रमुनि दुईदेखि सात इञ्चको केबलले कम्तीमा २५ वर्ष मज्जाले काम गर्छ र त्यसमा रहेका प्रत्येक साना फाइबर धागाहरूले एक सेकेन्डमा १ लाख ८० हजार माइलको गतिमा डाटा दौडाउने काम गर्छ। ती केबललाई स्टिलले मोरिएको हुन्छ।

त्यसमाथि प्लास्टिकको गाता हुन्छ। यी फाइबरहरूको क्षमता एक सेकेन्डमा ४०० जिबीको डाटा ट्रान्सफर गर्न सक्छन्। यो भनेको एक पटकमा ३७५ मिलियन फोन कल गर्नु बराबर हो। समुद्रमा ओछ्याइएको एउटा केबलको सानो धागोमा कम्तीमा २०० वटा त्यस्ता फाइबर गाँसिएका हुन्छन्। भनाइको अर्थ, आठ वटा फाइबर अप्टिक धागाले एक पटकमा पूराका पूरा नेपालभरिका पुस्तकालयमा भएका पुस्तकहरूको डाटालाई काठमाडौँबाट मुम्बईमा जम्मा ४० मिनेटमा पठाउन सकिन्छ, (एउटा आँकलन!)

अचेल स्थापित नयाँ केबल खासगरी एसिया र अमेरिका जोड्ने फाइबर अप्टिक केबल (खासगरी फिलिपिन्स, दक्षिण एसियाली मुलुक र अमेरिका जोड्ने)को लम्बाई त १० हजार माइल लामो छ।

यी सारा फाइबर अप्टिक केबलका कारण हाम्रो इन्टरनेटमा निकै नै सुधार भएको छ र यही कुरा हाम्रो सबैभन्दा ठूलो समस्या बनिरहेको छ। यो त्यो बेला थाहा भयो जब गएको वर्षको जनवरीमा अफ्रिकी मुलुक टोंगामा ज्वालामुखी विष्फोट भयो। टोंगा जोड्न एउटै मात्र केबल जडान गरिएको थियो। टोंगा क्षेत्रको केबल ज्वालामुखी विष्फोटमा पर्दा पूरा प्रशान्त महासागर क्षेत्रमा रहेका अधिकांश द्विपको सञ्चार पाँच दिनसम्म अवरुद्ध भएको थियो। जसरी अहिले म इन्टरनेटको सहयोग बिना असहाय महसुस गर्दै यो लेखिरहेको छु, ठीक त्यसरी नै त्यस क्षेत्रमा पाँच दिनसम्म सञ्चारविहीनताको महसुस त्यहाँका सर्वसाधारणले गर्नुपर्‍यो।

त्यसो त जहाँ समस्या, त्यहाँ उपाय भनेजस्तो, फोनलाई सेटेलाइटमार्फत पुनस्र्थापित गर्नुपर्‍यो। तर सर्वसाधारणको पहुँचमा इन्टरनेट पुग्न दुई महिना लागेको थियो। समुद्रमुनि बिछ्याइएका यस्ता केबलहरू हरेक वर्ष कम्तीमा सयदेखि डेढ सयसम्म क्षति पुग्ने गर्छन्। ज्वालामुखी त एकादुई घटना भयो, अधिकांश अवस्थामा चाहिँ माछा मार्ने ठूला जहाजका एंकर तथा मेसिनहरूले पु¥याउने क्षति रहेका छन्।

पछिल्लो समयमा भने यस्ता क्षतिका अनेक उपाय अपनाइएका छन् र एउटा केबलमा क्षति पुगे, वैकल्पिक केबल उपयोग गरी त्यसमार्फत डाटा प्रसारण गर्ने गरिन्छ। यस्ता समस्या प्रायः भई नै रहन्छन्। सन् २००८ मा भएको एउटा दुर्घटनाका कारण इटाली र इजिप्टका केबलमा क्षति पुग्यो र त्यसले सारा युरोप, मध्यपूर्वी क्षेत्रमा असर पुग्यो। त्यसले इराकमा जारी अमेरिकी सैन्य गतिविधिलाई गम्भीर क्षति पुर्‍याएको थियो।

त्यसैले यस्ता केबलको रक्षा सबै देशको चिन्ताको विषय बन्न पुगेको छ। गएको फेब्रुअरीमा बेलायतले आफ्नो देशभरि इन्टरनेट सञ्चालन निर्बाध चलोस् भनी चार फरक फरक ठाउँबाट नेट कनेक्ट गर्ने गर्दछ। तसर्थ त्यहाँ टोंगाको जस्तो महिनौँ नेटरहित अवस्था हुने सम्भावना हुँदैन। नेपालमा भने इन्टरनेटमा पनि अन्य कुराजस्तै भारतमै निर्भर छ। त्यसैले चीनमार्फत जोड्ने र भोलिका दिनमा इन्टरनेट ब्ल्याङ्कको अवस्था नरहोस् भन्नेमा सचेत हुनुपर्छ।

न्युयोर्क, लण्डन, टोक्यो, हङकङजस्ता ठाउँमा एक सेकेन्ड मात्र पनि इन्टरनेट अवरुद्ध हुनु भनेको चर्को आर्थिक मूल्य चुकाउनु हुन्छ। देशलाई कंगाल बनाउन अचेल केही गर्नुपर्दैन, मात्र इन्टरनेट शून्यको अवस्थामा पुर्‍याइदिए पुग्छ। रुसले युक्रेनमाथि आक्रमण गर्दा भएका भौतिक क्षतिले भन्दा इन्टरनेटमा पुगेको क्षतिका कारण बढी समस्या झेल्नु परेको ताजा घटना छँदैछ।

बेलायती अर्थमन्त्री ऋषि सुनक गएको वर्ष एक रिपोर्ट पेस गरेका थिए, जसमा यस्ता केबलमा क्षति पुर्‍याउन सजिलो पनि भएकाले भविष्यमा देशकै सुरक्षामा खतरा उत्पन्न हुनसक्ने रिपोर्ट पेस गरेका थिए। ऋषिले २०१७ मा पेश गरेको एक रिपोर्टमा लेखेका थिए, प्रथम विश्वयुद्धका बेला बेलायतले सूचना आदानप्रदान गर्ने जर्मनकिा पाँच त्यस्ता केबलहरू काटेर सूचनाविहीनताको अवस्था ल्याएको थियो। शित युद्धका बेला अमेरिकाले सोभियत सूचना आदानप्रदान गर्ने समुद्र मुनिका केबलहरूमा जासुसीयन्त्र जडान गरी तिनका सूचना लिने प्रयास गरेको थियो।

सन् २०१४ ताका जब रुसले क्रिमियालाई आफूमा गाभेको थियो, पहिलो काम नै उसले केबल कनेक्सनलाई सुरक्षित बनाएको थियो। यस्ता केबलहरू प्रायः अन्तर्राष्ट्रिय संस्थाद्वारा नियुक्त कुनै कम्पनीले हेर्ने गरी छुट्याइएको हुन्छ। यसमा सरकारले उति धेरै ध्यान दिएको हुँदैन। तिनलाई कुनै दुश्मन मुलुकले सहजै क्षति पु¥याइदिन सक्छ। अमेरिकाको न्युजर्सीमा भएका केबल समुद्रसँग जोडिने पाँच गेटवेका बारेमा त त्यहाँ प्रायः चासो राख्ने सबैलाई थाहा हुने गरेको छ।

समुद्रमुनि बिछ्याइएका यस्ता केबलहरूलाई कुनै दिमाग सड्किएको मानिसले क्षति पुर्‍याउन चाह्यो भने सहजै काम फत्ते गर्न सक्छ। गएको वर्ष बेलायती सेनाका एडमिरल टोनी रेडकिनले समुद्रमुनि रुसले त्यस्ता केबललाई ड्रोनमार्फत पत्ता लगाउने, तिनलाई छेडछाड गर्ने, सूचना चोर्न उपयोग गर्न सक्ने क्षमता विकसित गरेको भन्दै सरकारलाई सचेत गराएका थिए।

यस्तो समस्या रोक्न के गर्न सकिन्छ भन्नेबारे पनि पर्याप्त छलफल नभएका भने होइनन्। केबल प्रोटेक्सन जोन घोषणा गर्ने, त्यस्ता ठाउँमा माछा मार्न बन्देज लगाउने, कुनै पनि यन्त्र वा जहाज लैजान प्रतिबन्धित गर्ने सम्भावना अझै रहेको बताइएको छ। यति मात्र नभई केबल रहेको क्षेत्र संरक्षित गर्न अन्तर्राष्ट्रिय कानुन नै निर्माण गरी यस्ता सामुद्रिक केबलहरूलाई क्षति गर्नु आपराधिक क्रियाकलापअन्तर्गत राख्न सकिने सुझाव दिइएको छ। यसैगरी यी केबलको सट्टामा अर्को वैकल्पिक केबल (डार्क केबल) निर्माण गर्ने सुझाव पनि दिने गरिएको छ।

आज राति मेरो घरको इन्टरनेट अवरुद्ध हुँदा मेरो घरमा भुइँचालो गएको छ भने पूरै देश केही दिनका लागि इन्टरनेट ब्ल्याङ्क भयो भने झन् के होला, कल्पना मात्र गर्न सकिन्छ।

प्रकाशित: १९ चैत्र २०७८ ०७:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App