भगवान् गौतम बुद्धको जीवनमा धेरै उतारचढाव आएको देखिन्छ। त्यस्तै उनको जीवनमा घटेका विभिन्न घटनाका कथा पनि सुन्न र पढ्न पाइन्छ। यसै सन्दर्भमा बुद्धको एउटा घटना कथाका रूपमा यहाँ प्रस्तुत गरेको छु।
एकपटक गौतम बुद्ध एउटा सानो फोहोर गाउँनजिक रहेको नदीको किनारै किनार त्यो पनि भिजेको बालुवामा हिँडिरहेका रहेछन्। बुद्धको पछाडि पछाडि एउटा ज्योतिषी पनि आइरहेका रहेछन्। त्यस ज्योतिषीले १२ वर्षसम्म काशीमा ज्योतिषको अध्ययन गरेर आएका रहेछन्। एक त नयाँ ज्योतिषी, त्यसमा युवा भएकाले उनीमा नयाँ नयाँ जोस हुनु स्वाभाविकै भयो। उनलाई आफ्नो विद्याको प्रयोग गर्ने इच्छा भइरहन्थ्यो। भिजेको बालुवामा परेका बुद्धका पाइतालाको डोब देखेपछि उनले निहुरिएर हेरे। यति राम्रा पाइताला हुने होला भनी सोच्न थाले। पाइतालाको डोबमा देखिएका चिह्न हेर्दाहेर्दै उनी आश्चर्यमा परे।
किनभने उनले देखेको पाइतालाको चिह्न त चक्रवर्ती सम्राटको मात्र हुन्छ। चक्रवर्ती सम्राट यस्तो सानो गाउँमा त्यसमा पनि यस्तो फोहोर नदीको किनारमा नांगै गोडाले बालुवामाथि हिँड्नुनपर्ने हो। ती ज्योतिषीले ती पाइतालाका डोब चक्रवर्ती सम्राटको हुन नसक्ने आकलन गरे। उनले मनमनै भने– मैले १२ वर्ष ज्योतिषशास्त्र पढेर आएको त खेर गएछ। या त मेरो सारा विद्या खेर गयो, या त चक्रवर्तीजस्ता सम्राट यस्तो गाउँमा घुम्न आए होलान्।
उनले अझ सोच्न थाले— नांगा गोडाले चक्रवर्ती सम्राट दरबारबाटै बाहिर आउँदैनन्। अरू त के कुरा नांगा गोडा लिएर चक्रवर्ती सम्राट सिंहासनबाटै तल आउँदैनन्। यस्तो गर्मीको समयमा तातो बालुवामाथि, त्यो पनि फोहोर ठाउँमा उनी किन आऊलान् र?
पाइला पछ्याउँदै जाँदा उनले बुद्धलाई एउटा रूखमुनि विश्राम गरिरहेको देखे। बुद्धलाई देखेर उनी झनै आश्चर्यमा परे। उसले मनमनै भनिरहे— यो मानिस त चक्रवर्ती सम्राटजस्तै देखिन्छ तर भिखारी भइरहेको छ, भिक्षापात्र पनि सँगै राखेको छ। च्यातिएको चीबर लगाइरहेको भए पनि शरीर भने अत्यन्तै सुन्दर देखिन्छ, मुहारमा अभूतपूर्व आभा देखिन्छ। गोडामा जुत्ता नै छैनन्।
ती ज्योतिषी बुद्धको नजिक गएर बसे र भने– ‘मलाई असमञ्जसमा पारिदिनुभयो हजुरले, मलाई सहयोग गरिदिनुहोस्। मेरो १२ वर्ष त्यत्तिकै खेर गयो। यो मैले काशीबाट ल्याएको शास्त्र त बेकारमा गएछ। बेकारको यो शास्त्रलाई नदीमा फालिदिनुपर्यो। १२ वर्ष बेकारमा खेर गयो, अन्य कुनै काम गर्नुप¥यो। किनभने मेरो यो शास्त्रले भन्छ कि यस्तो पाइतालाको चिह्न केवल चक्रवर्ती सम्राटको मात्र हुन्छ। यो पाइतालामा चक्रका चिह्न छन्।’
हजुरको पाइताला एकपटक हेरौँ भन्दै अनुमति लिई ती ज्यातिषीले बुद्धका पाइतालामा हेरे। एकदम ठीक छ, स्पष्ट छ, कतै कुनै शंका नै छैन, यो पाइताला चक्रवर्ती सम्राटकै हो।
अनि बुद्धले भने– ‘तिमीले केही चिन्ता लिनुपर्दैन। शास्त्र फ्याँक्नु पनि पर्दैन। किनभने तिम्रो शास्त्र सबै मानिसमा लागू हुन्छ तर संन्यासीलाई लागू गर्ने प्रयास नगर्नू। ९९ प्रतिशत तिम्रो शास्त्र लागू हुन्छ। तर संन्यासीका हात र खुट्टाको रेखामा हुँदैन। चक्रवर्ती सम्राट पनि संन्यासी हुन सक्छ, यसमा के बाधा छ? संन्यास जसको जीवनमा पनि आउन सक्छ। यो त गरिब र धनी दुवैको जीवनमा आउन सक्छ।
ज्ञानी वा अज्ञानी, सुन्दर वा कुरूप सबैको जीवनमा पनि आउन सक्छ संन्यासी। संन्यासीको भाग्यसँग केही सम्बन्ध हुँदैन। तर तिमीले भाग्यको भरोसा लिन सक्छौ। तिमीले ठान्छौ कि भाग्यमा भए जे पनि पाइन्छ, अनि नपाए भाग्यमै छैन भन्छौ।
यो भाग्य भनेको तिमीहरूको बहाना मात्र हो, धोका नदिनु आफैँलाई। संन्यास नलिने हो भने नलिनू। तर यो कुरा बुझ्नु कि यो भाग्यको कुरा होइन, यो लेखिएको कुरा पनि होइन। किनभने संन्यासको अर्थ नै भाग्य, नियति र यो संसारको सम्पूर्ण बन्धनबाट माथि जानु हो।’
प्रकाशित: १९ चैत्र २०७८ ०१:१६ शनिबार