चेतनाथ आचार्यद्वारा लिखित ‘रुइबा’ उपन्यासले नेपालको तामाङ संस्कृतिको पृष्ठभूमिमा आधुनिक नेपाली युवा वर्गले भोगेका समस्या उद्घाटन गरेको छ। यस उपन्यासका लेखक आचार्य मित्र राष्ट्र चीनको बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवामा विदेशी भाषा विशेषज्ञका रूपमा कार्यरत सिद्धहस्त साहित्यकार तथा स्तरीय लेखक हुन्।
उनका रित्तो कोठाको तस्बिर (२०६८), बुद्धको उपहार (२०७१), उपहार (२०७५) कथासंग्रह प्रकाशित छन्। त्यसैगरी मेरा आँखामा चीन (२०७२) र चीन चिहाउँदा (२०७४) लेख निबन्ध संग्रह प्रकाशित गरिसकेका आचार्यले रुइबा (२०७८) उपन्यास लिएर आएका छन्। यो उपन्यास फिनिक्स बुक्सले प्रकाशन गरेको हो।
आचार्यको रुइबा उपन्यास समसामयिक विषयवस्तु, नवीनतम् भाव, पात्रगत भाषा, आकर्षक अभिव्यक्ति शैली र झन्डैझन्डै नयाँ अलग उपन्यासको संरचनागत विशेषता बोकेको निकै प्रभावशाली चर्चित साहित्यिक कृतिका रूपमा देखिन आएको छ। प्रस्तुत कृति वर्तमान समयका ग्रामीण नेपाली युवायुवतीले भोग्दै आएका समसामयिक समाजका जल्दाबल्दा समस्या र घटनासँग सम्बन्धित चरित्रप्रधान उपन्यास हो।
रुइबा उपन्यासमा पाबाङको तामाङ संस्कृतिमा हुर्किएकी न्याउली तामाङका जीवनगाथासँग सम्बन्धित भएर समसामयिक समस्यालाई उद्घाटन गरिएको छ। न्याउलीसँग सम्बन्धित हुँदै आएका थरीथरीका राम्रा नराम्रा चरित्र बोकेका समाजका पात्र यहाँ देखापरेका छन्।
सोझी, अबोध, कर्तव्य परायण नारी हुन्, न्याउली। बाबु यार्सागुम्बा टिप्न जाँदा लडेर मर्नु, सोझो गरिब श्रीमान् टिबी रोग लागेर विदेशमै मर्नु आदि घटनाले न्याउलीको जीवनमा वियोगान्त मात्र भरिएको पाइन्छ। त्यति मात्र होइन, उनले सम्बन्धित निकाय कतैबाट पनि न सहयोग पाउँछिन् न त न्याय।
पाउनुपर्ने बिमा र क्षतिपूर्ति रकम पनि जालझेलबाट दलालले नै खाइदिन्छ। आफ्नै गाउँमा रहेर अनेक प्रयास गर्दा पनि एक पेट खाने र एक धरो लगाउने अवस्था हुँदैन। बाल बच्चा हुर्काउन नसक्ने निरीह समस्यामा परेर के गरौँ र कसो गरौँ जस्ता अन्योलग्रस्त अवस्था झेल्ने न्याउलीजस्ता थुप्रै गाउँले युवालाई ललाईफकाई अत्यन्त ठुल्ठूला सपना देखाउँदै विदेश पठाउने दलाल अहिले पनि गाउँघरमा छ्यासछ्यास्ती भेटिन्छन्।
आँखाभरि सपना साँचेर पसिनाको धारा बगाउने न्याउलीजस्ता युवापुस्ताका पसिनाबाट आर्जित सम्पत्तिमा मोज गर्ने सेते, गाउँका कार्यालयका कर्मचारीदेखि जिल्ला र केन्द्रसम्मका कर्मचारी जो दलालसँग मिलेमतो गरेर पैसा लिने समूह, सोझा सिधा युवायुवतीलाई सहरका रमझम र सुखसयल एवं सहज आयआर्जनका काल्पनिक सपना देखाएर सहरमा त्यसै के के न पाइन्छ, पैसा त्यसै थुप्रिन्छ भनेर उक्साउने जमात समाजका कुनाकुनासम्म फैलिएका छन्।
ग्रामीण क्षेत्रका ती कञ्चन पुस्तालाई शहर ल्याएर विभिन्न ठाउँमा बेच्ने टिमुरे, सोझा अबोध भर्खर गाउँबाट आएका मान्छेलाई पारिश्रमिक नै नदिई अभद्र गालीगलौज गर्दै काम शोषण गर्ने होटलकी साहुनी विमला, जागिरको लोभ देखाएर नारीलाई बलात्कार गर्ने कथित समाजसेवी र नेता मन्त्री एवं अनि महिलाको उद्दार गर्ने कथित संस्था नै खोलेर बलात्कारमा सोझा नारीलाई फसाउने दयादेवीजस्ता नारी उपन्यासका कुपात्र हुन्। त्यति मात्र होइन महिला मुक्तिको भाषण गरी हिँड्ने, समाजसेवीका नाममा चुस्ने जुकाहरू र उच्चस्तरका व्यक्तिको मात्र आवाज बोक्ने पत्रकारलाई पनि उपन्यासमा खलनायकका रूपमा उभ्याइएको छ।
विदेशमा सामान पुर्याउँदा सजिलै पैसा आउँछ भनेर झुक्याई अबोध युवायुवतीलाई लागुपदार्थ ओसारपसार जस्ता अवैध र घृणित काममा लगाउने विनोदजस्ता चरित्रका शोषक र ठग चरित्रहीन दलालहरूको वर्तमान समयमा जालो बनेको छ। यस्तै व्यक्तिको बिगबिगी रहेको छ समाजमा।
यस्ता व्यक्तिका क्रियाकलापबाट सोझा न्याउली र मदनजस्ता लाखौँ युवायुवतीको जीवन दुःखदायी कष्टकर र बर्बादी हुँदाहुँदै दुःखको कहिल्यै अन्त्य समेत नहुने कुराले पाठकलाई घरीघरी भावुक र शोकमग्न बनाउँछ। उपन्यासको मूल मर्म यही हो।
उपन्यासमा चित्रित पात्र, घटना र स्थान काल्पनिक हुन्, कोही कसैसँग मिल्न गएमा संयोग मात्र मानिनेछ’ भनेर लेखकले कृतिको सुरुमै जानकारी दिएको भए पनि कृति रचनाको पूरापूर सम्बन्ध सबै नियालेर हेर्दा यसका पात्रको नाम र केही ठाउँको नाम काल्पनिक भए पनि घटनाचाहिँ सत्यतथ्यमै आधारित छन् भन्ने लाग्छ।
न्याउली नामकी पात्र हाल वर्णित जेलमा नभेटिए पनि त्यस्ता समस्या भोगेका पात्र त्यहाँ भेटिने छन् भन्ने कुरा यी सबै वर्णित प्रसंगबाट प्रस्ट झल्किन्छ। अझ लागुपदार्थ ओसारपसारको व्यवहारलाई र यसको सञ्जाललाई पनि यहाँ चित्रण गरिएको छ। एक देशबाट अर्को देशमा लागुपदार्थ पेट र यौनांगमा राखेर ओसारपसार गरिने कुराको भेद पनि खुलाइएको छ।
ऐनमौकामा यसरी ओसारपसार गर्दा पनि कोही कसरी पक्राउ पर्दछन् अनि पक्राउ पर्नेहरूको जीवन कि मृत्युदण्डमा कि आजीवन कारावासमा बितेको हुन्छ भन्ने कुराको सविस्तार कथा रुइबाले पोखेको छ। उनीहरूको आफ्नो समाज परिवार र संस्कृतिगत रूपमा हुने अन्तिम संस्कार समेत समाप्त भएको हुन्छ भन्ने कुरा न्याउलीको रुइबा (वंश संस्कार) सम्म पनि हुन नसक्ने अवस्थाको चित्रण उपन्यासमा गरिएको छ।
राज्यको खोजखबरमा नपरेका र आफन्तको पहुँचभन्दा बाहिर रहेका न्याउली जस्ता पीडितको जीवनमा कहिले घाम लाग्ने हो भन्ने प्रश्न पनि रुइबा उपन्यासले जोडदार रूपमा उठाएको छ। मृत वंशगत संस्कारलाई समेत प्राप्त गर्न नसकेको अवस्थामा अन्तरतम मर्मलाई पात्रको चरित्रमा डुबेर उजागर गरिएको पक्ष नै रुइबा उपन्यासको सबैभन्दा सशक्त पक्ष हो।
शीर्षकले यसलाई अझ प्रमुख पीडाका रूपमा उजागर गर्ने सोच लिएको देखिन्छ। यो उपन्यास चीनको छन्तु कारागारमा रहेकी न्याउलीले पत्रकारलाई जेलमै भेट हुँदा आफ्नो पीडासहितको सबै जीवन वृत्तान्त सुनाएको शृंखलाबाट तयार भएको हो।
काठमाडौंको वर्णन गर्ने क्रममा सिनोखाने गिद्धहरूको गुँड रहेछ काठमाडौं (पृष्ठ १२३) सम्म भनेको पाइन्छ। यसबाट न्याउलीले काठमाडौंमा भोगेको पीडा अत्यन्तै कठोर र अमानवीय भएको प्रस्ट हुन्छ। काठमाडौंमा पनि विकास र नेत्रदाइ जस्ता मानवलाई मानवताकै हिसाबले हेरिनुपर्छ भन्ने पात्र पनि उभ्याइएको छ। ती पात्र पनि निरीह व्यक्तिका रूपमा रहेकाले पूरै काठमाडौं खलपात्रले भरिएको पापको खाल्डो हुन्छ न्याउलीका लागि। समग्रमा भन्नुपर्दा रुइबा उपन्यास समाजको कुरूप ऐना देखाउने एउटा झ्याल हो भन्दा अत्युक्ति नहोला।
चीनको कारागार व्यवस्था र कैदीहरूको जीवनयात्रा कथा पनि यसमा प्रस्तुत छ। केही मानवीय भावना र जीवन जिउने विधि कला त्यहाँको जेल जीवन बिताउने व्यक्तिलाई पनि प्रदान गरिएको उल्लेख छ।
प्रस्तुत कृतिमा न्याउलीको पुख्र्यौली थलो र त्यहाँ बस्ने तामाङ जाति एवं उनीहरूको संस्कृति, रीतिरिवाज, चालचलन र उनीहरूले बोल्ने नेपाली भाषाको लवजलाई निकै राम्रोसँग प्रस्तुत गरिएको छ। तामाङ भाषाका नाता सम्बन्ध शब्दलाई नै नेपाली भाषामा प्रयोग भएको छ। यो समग्र वर्णनलाई हेर्दा उपन्यासकार आचार्य तामाङ भाषा तथा संस्कृति र व्यवहारमा गहिरो ज्ञाताका रूपमा देखिएका छन्। यस सन्दर्भले र शीर्षक समेतले यो उपन्यास संस्कृतिपरक उपन्यासझैँ लाग्छ।
उपन्यास सरसर्ती हेर्दा सुरुको ‘सूत्रपात’ र अन्त्यको ‘जलेको हिमाल’ शीर्षकले संरचनागत नयाँपन दिएको छ। मर्माहत भावना र तामाङ संस्कृतिको जानकारीले विशेष आकर्षक बनाएको छ।
पढी नसकी नछोडौंझैँ लाग्ने आकर्षक अभिव्यक्ति शैली, पात्र अनुसारको भाषाको लवज, तामाङ संस्कृतिका विशेषतासहितको यो उपन्यास वर्तमान नेपाली युवा समुदायमा देखिने अत्यन्त पीडादायक समस्याको समुद्घाटन हो जस्तो देखिन आउँछ।
प्रकाशित: १९ चैत्र २०७८ ००:५३ शनिबार





