१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला

साँच्चै,खोला धाराको चिसो पानीको मूल सुकेन!

कविता

दाजु,

उकालो भो

भिरालो भो

भारी  बोक्नुपर्‍यो

घोगाघोगा मकै फलेन

मनका मन धान फलेन

कोदाको खेती कामै नलाग्ने!

कुनाकुना भटभटे चलेन

ट्याक्टरले जोत्ने पाटा भएन

बुढा गोरुको पुच्छर कति निमोठ्नु?

बच्चा पढाउन बोर्डिङ भएन

ठिटा पढ्ने क्यापस भएन

सरकारी पाठशाला कामै नलाग्ने!

दाजै,

तिमी मुग्लिन मुन्तिर जानेबेला

गाउँका अवगुणको बखान

यसरी नै लगाको हैन त?

जानुपहिले

बर्सौसम्म गाउँको अवगुण पुराण लगाएर

जाने अघिल्लो दिन

पितृ तार्न एकाहा लगाएर,

बाले अन्तिम सास फेरेको तुलसी मोठमा

पानी चढाएर हिंडेको हैन त दाजै?

तिमीलाई आमझुत्तेको चामल पचेन,

खुदोमा ढिंडोले घाँटी पोल्यो

मकै भातमा मोहीले चिसो लाग्यो!

तर,

उताको विकासे धानको भात

ढोडे मुला, सेतो आलु

पानी जस्तो दूध कति मिठो हगि?

मधुमेह लागे पनि

प्रेसर बढे पनि

गर्मीले चिटचिट पसीना उठे पनि

उतै ठिक, उतै मस्ती!

तर दाजु,

तिमी गयौ भनेर 

ऐंसेलु पाक्न छोडेन,

काफलको बन उतै सरेन

पानी अमलाको भिरमा पहिरो गएन!  

साँच्चै,

खोला धाराको चिसो पानीको  

मूल सुकेन!

हर्कम बेंसीमा आँप फुल्न छोडेन!

अनि सुन न दाजु!

मुख्य कुरो त सिरान चोकमा

गुराँस फुल्न छोडेन!

तिमी गए पनि

उस्तै छ गाउँघर उस्तै छ पानीपँधेरी

उस्तै छ सिरान डाँडाका जंगल  

ढकमक्क गुराँसहरूले!

प्रकाशित: १२ चैत्र २०७८ ०४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App