विष्णु उप्रेती
‘आमा आज बिहानैदेखि यस्तो खरोखरो केको गन्ध आइरहेको छ? फेरि रातिदेखि नै डुङडुङ आवाज आउँदै छ,के हो? मलाई त मन भित्रभित्रै डर लागिरहेको छ।’
दश वर्षीय छोरी नीवाले भान्सामा आमालाई सोधी।
‘नानी,खोई के भन्नु र! यो सबै बारुद,बमगोला पड्केर आएको आवाज र गन्ध हो। यो सबै विदेशी शत्रुले युद्ध गर्दा पड्काएको मिसाइल, रकेट बमको हो। हाम्रो देशमा भीषण युद्ध भइरहेको छ। रसियन सेनाको हमलाले हामी पनि कति बेला खरानी भइने हो।’ भन्दै आमा सोफियाले छोरीलाई सम्झाइन्।
नीवाको अनुहार अँध्यारो भयो। निवाले यताउता हेर्दै रुन्चे स्वरमा भनी, ‘बाबा पनि कता जानुभयो? हामी पनि केही खाएर भागिहालौ न। लौन आमा, आज दुश्मन आउने जस्तो छ।’
छोरीको कुराले सोफियालाई पनि छटपटी बढ्यो। खिन्न हुँदै ढोकातिर हेरिन्।
ठिक्क उनका श्रीमान् सोकान पनि एउटा सानो झोला च्यापेर घरभित्र पस्दै भन्दै थिए, ‘हेर न, बजारमा नुन,तेल, मकै,दाल,प्याज केही सामान छैन। हड्तालले बल्लतल्ल एक केजी मकैको पीठो पाँच गुणा बढी दाममा पाइयो।’
छोरी निवाले फेरि बाबुको छेउमा गई छिटो घर छाडेर भाग्न रुँदै अनुरोध गरी।
छोरीको चिन्ता र आँसु देखेर सोकान पनि खिन्न भए र टाउकोमा हात राखेर टोलाए।
सोफियाले हतारहतार मकैको पिठोको तीन वटा रोटी बनाई। पानीको एकएक बोतल र तीन वटा रोटी च्यापेर गन्तव्यविहीन बाटो लागे यो सानो सुखी परिवार।
दुई किमी जति हिंडेपछि भीषण आवाजले बम पड्कियो। आकाश धुवाँले कुहिरीमण्डल भयो। पोको परेर तीनै जना ढले। झन्डै दुई घन्टापछि बिस्तारै होस खुल्यो। धन्न उनीहरू त बाँचे।
केही तङ्ग्रिएर सोकान र सोफियाले डिलमाथि चढेर आफ्नो गाउँतर्फ हेरे। उनीहरूको घर,गोठ,वस्तुभाउ सबै खरानी भइसकेको थियो तर यता निवाले भने तीन वटा रोटी च्यापेकै थिई।
प्रकाशित: ११ चैत्र २०७८ ०६:०५ शुक्रबार