दुलुमणि देवी उपाध्याय
हिमेश र सारुको वैवाहिक जीवन अरूहरूको भन्दा भिन्नै किसिमको थियो। एकदिन विद्यालयमा त्यसै बसिरहेका बेला सारुले मलाई यसप्रकार भनेकी थिइन्।
उनीहरूको मागी बिहे नै भएको थियो। दुवैको परिवार मध्यम वर्गीय र संस्कारी भएकाले एक अर्काको भन्दा आमा,बाबा, दिदी, बहिनी परिवारलाई धेरै समय दिनुपर्थ्यो सारुले।
उनलाई अचम्म लाग्थ्यो, हिमेश आजको दिनका केटा जागिरे भएर पनि आमा,बाबा परिवारलाई सारुलाई भन्दा धेरै प्राधान्य दिएको देखेर कहिलेकाहीं उनी विरक्त हुन्थिन्। भन्न पनि सक्तिन थिइन्। घरधन्दा, जागिर, छोराछोरीको देखरेख, खेती र बजार सबैथोक गर्नुपथ्र्यो उनले। तर कत्ति भने चाडपर्वमा, जन्मदिन, कुनै पनि स्पिसियल दिनमा हिमेशले उनलाई केही न केही उपहार नदिएको दिन पनि थिएन् र यसपालिको नारी दिवसको अघिल्लो दिन उनी हिमेशसँग धेरै रिसाएकी थिइन्। बोल्दाबोल्दै उनले हिमशलाई भनिन्, ‘हजुरले मलाई बिहे गरेर अर्धाङ्गिनी हैन घर सम्हाल्ने नोकर ल्याएको रहेछ।’
हिमेशले कालो अनुहार पारेर फुत्त बाहिर निस्किए।
राति खाना खाने बेलामा आए खाना खाएर सुत्ने कोठामा गए। नारी दिवसको उपलक्ष्यमा हिमेशले सारुलाई एउटा उपहार र उपहारको मास्तिर एउटा कागजमा ठुल्ठुला अक्षरले लेखिएको थियो -तिमी मेरो अर्धाङ्गिनी मात्रै नभएर सर्वाङ्गिनी हौ। किनभने बिहेको अघिबाटै मलाई मुटुको रोग थियो तर मेरो आमाबुबाले झुटको सहारा लिएर मेरो बिहे तिमीसँग भयो।
त्यो दिनदेखि आजसम्म मैले तिमीलाई भन्ने साहस गरेको थिइन तर आज तिम्रो कुराले मलाई भन्न बाध्य गरायो, कतै जीवनमा एक्लै भैहालेउ भने पनि तिमीलाई चल्न गाह्रो नपरोस् भनेर मैले यसरी सम्पूर्ण काम तिमीलाई एक्लै छोडिदिएको। कुनै दिन म संसारमा नभए पनि तिमी चल्न र आफ्नो संसार चलाउन सक्ने हौ भनेर म परैबाट हेरिरहन्थें। आज तिमी पनि पूरै सक्षम भएकी छौ र म पनि धेरै निरोगी भैसकेको छु। तिमीलाई हेरर मैले बाँच्ने प्रेरणा भेटें। अब मलाई मर्न पनि डर छैन।
प्रकाशित: ११ चैत्र २०७८ ०५:१५ शुक्रबार