सत्या अधिकारी
रमेश होनहार गायक थिए। गायन क्षत्रमा छोटो समयमा स्थापित हुनेहरूमा उनी पनि पर्थे। उनीप्रतिको दृष्टिकोण समाजमा धेरै राम्रो थियो।
गाउँघरमा बोलिने स्थानीय भाषालाई टपक्क टिपेर गीतमा उन्न सक्नु उनको विशेषता थियो र त चर्चित थिए उनी।
स्वरका धनी उनी सबैका प्यारा थिए। गायनमा मात्र हैन, अभिनयकला पनि उस्तै अब्बल थियो उनको। आफ्ना गीतमा आफैंले गाउँघरकै वेशभूषामा अभिनय गर्दा दर्शक र श्रोताहरू धेरै कमाएका थिए उनले।
आजकल खोई किन हो कुन्नि पहिलाको भन्दा बढी चर्चामा आएका थिए उनी। सञ्चार माध्यमभरि छाएका थिए रमेश।
चोकचोकमा उनकै चर्चा चल्दथ्यो। चौतारीमा बाहरू मक्ख पर्दै उनैको गीतको कुरा गर्दथे।
यो विषयमा केही कुरो नबुझेको बबुरो म, फनफनी घुम्यो मेरो मथिंगल।
सरासर घर गएँ र रमेशका सबै गीत पालैपालो सुन्दै गएँ। सबै राम्रा थिए, हेर्न र सुन्नलायक।
अन्त्यमा एउटा गीतले नराम्रोसँग झट्का दियो मलाई। सोचें, ‘अब झनै प्रख्यात हुने भए उनी।’
विज्ञानले आजसम्म पत्ता लगाउन नसकेको मर्दहरूको पीर बिसाउने ठाउँ त उनैले पत्ता लगाएका रहेछन्।
प्रकाशित: ११ चैत्र २०७८ ०४:४९ शुक्रबार