२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

जनताको खुन-पसीना नपिउनुस् नेताज्यू

मुक्तक

श्रद्धा आचार्य

१) मुक्तक

चुनाव आउँछ झनै चिप्ला बात गर्नुहुन्छ,

स्वार्थ पूरा नभएमा हातपात गर्नुहुन्छ।

मासुभातमा बिक्ने कुरा नगर्नुस् नेताज्यू,

हाम्रो विश्वासमाथि किन घात गर्नुहुन्छ?

  २) मुक्तक

क्षुद्र बनी, बिनासुर–ताल खै किन गाउँदै छन्,

भीष्महरू भस्म बनाउने के शूल पाउँदै छन्।

पक्कै रहस्य लुकेको छ ती अभ्यस्त वैरीभित्र,

जसले सत्यको थुप्रोबाट झुट केलाउँदै छन्।

  ३) मुक्तक

सके सबैको प्रिय बनी जिउनुस् नेताज्यू,

दहीचिउरे आफ्नो मुख सिउनुस् नेताज्यू।  

इज्जतको नि सीमा राख्नुपर्छ मधुशालामा,

जनताको खुन-पसीना नपिउनुस् नेताज्यू।

 ४) मुक्तक

लाचार बनेर परिस्थितिले जुन गर्नुपर्छ,

जमाना नि कस्तो आयो बैगुन गर्नुपर्छ।

नातावाद र घुसले कार्य सफल हुन थाले  

हातमा शक्ति हुनेसँग भनसुन गर्नुपर्छ।

 ५) मुक्तक

सुखदुःखमा साथ दिई सँगै रुनुपर्छ,

वशमा ल्याउन उसको मन छुनुपर्छ।  

बहाना बनाउन कुनै जरुरत पर्दैन,

सम्बन्ध दिगो बनाउन इच्छा हुनुपर्छ।

प्रकाशित: ११ चैत्र २०७८ ०३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App