मुक्तिनाथ शोसित
तिमी पाइला ढुंगा उक्लिंदै देउराली
अनन्त चूपचाप ईश्वर
मनको देउता बोकेर
शैशव फूलका गुच्छा
एउटा न्यानो अभिवादन
मन्दिर कक्षभित्र
केही सलेदो सकिएका दियोहरू
कतै वर्तन निख्रिएका विश्वास
मन गुडाउँदै चेतनाको धूप
हो त जिउँदै रहेछ ईश्वर
मनको पराग पगालेर
जब पोखिन्छ ज्योत्सना
अनि त शान्ति छ निश्वासमा
एकापट्टि ईश्वर छाम्नेहरू
उसको देवता उम्किएको देख्दैनन्
तर नजिकैबाट
चिसो पाइला टेकेर
गइसकेको छ
उसले खोज्दै हिंडेको भगवान्
शंकास्पद मानसिकतामा आमा पनि सामेल छिन्
नबोल्ने ढुंगा त के कुरा
धातुका जड ईश्वरमा खिया छ
अब कसलाई पुज्छ ऊ
जत ैपिरो र अमिलो
खै कता छ उसले उसलाई
खोजिरहेको गुलियो
एउटा हावाभित्र जीव देखेर
मूर्ति ढोग्छ
अर्को मूर्तिभित्र ईश्वर देखेर पत्याउँदैन
तिमी पथिक
म सहयात्री
लु हिंड जतासुकै भए पनि
म चित्र उतार्छु
थुप्रै रंग पोतेर सानो कुचीले
गजधम्म उभ्याउँछु
त्यो साझा भगवान्
अनन्त प्रकाश वर्षको
माथि सजीव छ
ससाना झिल्का
झोसिएर बल्दै निभ्दै
हाम्रो विडम्बना।
प्रकाशित: ९ चैत्र २०७८ ०४:३३ बुधबार