१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

साँढे

लघुकथा

शेखर अर्याल

विश्वमा साँढेको विगविगी हुनाले पाशुपत क्षेत्र पनि अछुतो थिएन। शिवभक्त हुनाले उसको तागत चानचुने कहाँ हो र? अझ त्यसमा पश्चिम दिशाबाट डामेर छोडिएको बहर साँढे।

श्लेषमान्तकको हरियालीमा स्वच्छन्द विचरण गर्ने कैलीका सन्तानलाई आफ्नो अस्तित्व जोगाउन हम्मेहम्मे परेको थियो।

कैलाशबाट शिव बोले, ‘ए बाहान, के हो तेरो चाला हँ? किन यसरी उपद्रो मच्चाउँछस् हँ?’

‘के गर्नु भगवान्, म त उन्मत्त भएको छु, बम अणु बमले। यहाँका साँढेलाई पनि उन्मत्त बनाएको छु।’ बहरको गर्जन थियो।

‘म त श्लेषमान्तक वनमा विचरण गरेका कैलीका सन्तानमा बिज छर्न आएको हुँ।’ साँढे बहरले सिङमा माटो लगाउन थाल्यो।

–किन यसरी सिङ भाँच्ने तरखरमा लाग्छस्? के तेरो बैंस उम्लिएकै हो त?’

‘हो, के गर्छाै तिमी?’ बहर जंगियो।

‘ए साँढे, तैंले यहाँका साँढेलाई दानापानी र घाँसपानी खुवाएर हाम्रा कैलीका कोर्लीमाथि आँखा गाड्छस्।’ शिवले डम्बरु बजाउँदै भने।

यस्तो कुरा सुन्नासाथ पाशुपत क्षेत्रका साँढेहरू पनि डुक्रिँदै सिङमा माटो लगाएर शिवलाई नै आक्रमण गर्न थाले।

बगालको मूल साँढेले भन्यो,‘होइन शिवजी, किन रिस गरेको? यो त हाम्रो दोहन गर्ने साथी बन्यो।’

‘बन्छ साथी, यो त स्वार्थी चमेराको नाइके हो, नाइके?’ पाशुपतका केही साँढे कुर्लिए।

‘विदेशी साँढे चाहिँदैन, हाम्रो अस्तित्व लुट्न पाइँदैन’ भन्दै चर्दै गरेकी कैली कराई।

कैली र साँढेको दुई समूह बन्यो। केही साँढे विदेशी साँढेको नेतृत्वमा कैलीका पछि लागे।

पशुपतिका उम्दा साँढेसँग मितेरी गाँस्दै आएको साँढेलाई अब पाटी नलगाई भएन।’ कैलीको समूह जुरमुरायो।

‘यसले त हाम्रो अस्तित्व नै नामेट पार्ने भयो।’ केही साँढे र कैलीले सिङ उदाए।                                    

प्रकाशित: ५ चैत्र २०७८ ०८:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App