१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

कोलको गोरु

कथा

खेमराज पोखरेल

उसले परिवारलाई ठूलै ‘कुरवानी’ दिएको थियो। उसले त्यसबेला दरभंगाबाट ‘म्याट्रिकुलेसन’ पास गरेको थियोे। उसका बाबुले एक मानाको बन्दोबस्त गरिदिएकै थिए। पढाइदिएकै थिए। उसले राणाकालमा जागिर पाएको थियो।

उसका बाबुले भने,‘रे बेचना, छोड् देही जागिर, अपना काम कर, तु असगरे बेटा, के करते यी काज?’(बेचना छोडी दे जागिर, आफ्नो काम गर्, तँ एउटै छोरो होस्, कसले गर्छ यो काम?)

उसको नाउँ बेचना। बेचन साहु। उसका पुर्खा भारतबाट नेपालको बरहथवा हुँदै सप्तरीको कञ्चनपुरमा बसाइँ सरेको भन्ने उसले आफ्नै हजुरबाबाट थाहा पाएको थियो। यसै ठाउँमा पाँच पुस्तामा उसको परिवार बसेको छ। उसको पैतृक पेसा कोलमा तोरी पेलेर तेल बेच्ने थियो।

उसको नाम बेचना हुनुको पनि कारण थियो। उसकी आमाले ऊ अघि पनि लगातार तिन छोरा पाएकी थिइन्। एक अधिग्रो र दुई न्वारन नगरी नै भगवान्का प्यारा भएका थिए। एउटा धामीले भनिदिएको थियो,‘अब जन्मिने सन्तानलाई जन्मिनेबित्तिकै डुमको हातमा बेचिदिनू र डुमकै हातबाट फेरि किन्नू।’

ऊ जन्मिने बेलामा सुँडेनी पनि थिइन्, डुम पनि तयार थियो। उसलाई सालनालसहित त्यही डुमलाई चार आनामा बेचिदिए। डुमले उसको सालनाल काट्यो र एक थोपा पानी उसको मुखमा हालिदियो। उसका बाबुआमाले तत्क्षण नै दुई पसेरी धानमा डुमसँग किने उसलाई। बाहुनले खोई के नाम राखे कुन्नि तर ऊ बेचिएको छोरो भन्ने अर्थमा बेचना भयो।

ऊ विकासप्रेमी थियो। राणाकालमै भनसुन गरी स्कुल खोल्यो। आफैंले भवन बनायो र दरभंगाबाट काइते (कायस्थ) मास्टर खोजेर ल्यायो। घरमा राख्यो। खानबस्न फ्रि। यसबाट दुइटा फाइदा भयो। गाउँमा शिक्षाको ज्योति बल्यो। उसका छोराछोरीले घरैमा अक्षर चिने। उसले एउटा सार्वजनिक औषधालय पनि खोल्यो। कम्पाउण्डरलाई बरौनीबाट खोजेर ल्यायो। ऊ पनि उसकै घरमा बस्यो खानबस्न फ्रि। तराईको यो गाउँमा ऊ सुधारवादी भएर निस्क्यो।

उसको पुस्तैनी पेसा तोरीको तेल पेल्ने र गाउँ गाउँमा गएर बेच्ने थियो। चार गाउँमा उसको तेलको एकाधिपत्य थियो। पहाडबाट आउने पैकारी पनि उसकै घरमा ठोकिन्थे। पहाडका दोकानमा चाहिने खिर्चीमिर्चीको ऊ होलसेलर थियो। यसरी हेर्दा ऊ व्यापारमा जमेको थियो। जग्गाजमिन प्रशस्त जोडेको थियो। उसको बैठक घरमा ठूलाबडा मान्छेको आवतजावत हुन्थ्यो। ऊ सबै कुरामा प्रभावकारी थियो।

                     –                                              –                                        –

ऊ खिन्न भयो। आज उसकी श्रीमतीको श्राद्घ छ। छोराछोरी झरेका छन्। उसले मनमनै श्रीमतीलाई सम्झ्यो र मनमनै भन्यो,‘रे कन्किर्वाके म्या, बिस साल भगेले, तुँ अकेले चैल गेलिही, हमरा अ‍ैठाँ मन नैलगैछौ, कि करवे?’ (ए कान्छाकी आमा, बिस वर्ष भयो, तँ एक्लै गइस्, मलाई यहाँ मन लाग्दैन, के गर्ने?) उसले आँखाभरि आँसु पारेर श्रीमतीलाई सम्झ्यो।

उसकी श्रीमती राम्री थिइनन्। काली, पातली तर परिपाठ असाध्य जान्ने। आउनेजाने, हरुवाचरुवा, परपाहुना, छोराछोरी र नोकरचाकर सबैको परिपाठ मिलाएर व्यापार पनि हेर्ने। सानै उमेरमा बिहे भएको थियो। मुलुकी ऐन जन्मैकै थिएन। बालबिहा थियो। खासमा ऊ केही गर्दैनथ्यो। सेतो सफा धोती र कुर्ता लगाएर ऊ सधैं बाहिरै हिंड्ने घर त श्रीमतीले नै चलाएकी थिइन्। मर्ने बेलामा उसले लोग्नेकै काख रोजी। अरू रोए उनले हाँसेजस्तो गरेर प्राणत्याग गरिन्। श्वास रोकिएलाजस्तो भएपछि आफ्नो श्रीमान्लाई भनिन्,‘अहा दुःखी नै होऊ। एकबार त जाइके छे। वतै मिल्वे’ (तपाई दुःखी नहुनुस्। एकपल्ट त जानै पर्छ। उतै भेटौंला)।

ऊ बेसरी रोयो। यसअघि पनि ऊ रोएको थियो आमा मर्दा, बाउ मर्दा र माइलो छोरा नौ वर्षको उमेरमा ‘चेचक’ले मर्दा। अरू बेला कस्तै विपद् पर्दा पनि रोएको देखेका थिएनन् कसैले। खोलाले खेत लग्यो, घरमा आगलागी भयो, देसानले वस्तुभाउ सोत्तर भए, महामारी भयो तर पनि ऊ रोएको थिएन।

श्राद्धको कर्मकाण्ड सकियो। छोराबुहारी, छोरीजुवाइँ र नातिनातिना सबै लाखापाखा लागे। अचेल कोही छैनन् घरमा। पुरानो नोकर हरियाले भने छोडेको छैन। पुरानो टालीको घर बस्नलायक छैन। घडेरी जग्गामा बनमारा उम्रेको छ। मान्छे पाइन्नन्। खेती जग्गामा मोही धनी भएको छ। अचेल तेल मिल आए। कोलको व्यापार ऊ जस्तै सुक्यो। जेठो छोराबुहारी विराटनगर बस्छन्, कान्छो काठमाडौंमा। उनीहरू बाबुको मुखैमा भन्छन्, ‘बाबुजीके दिमाग नै पुग्ले। यतैक सम्पत्ति आ जग्गा काठमाडौंमे जोडदेतिए त आइ हमरासबके यी दुख करैला नै पड्तिए’ (बुबाको दिमागै पुगेन। यति सम्पत्ति र जग्गा काठमाडौंमा जोरिदिएको भए आज हामीले यति दुःख गर्नै पर्दैनथ्यो)। ऊ दुःखी हुन्थ्यो। यो श्राद्धमा पनि नआए हुन्थ्यो जस्तो लाग्छ उसलाई।

उसले खोलेको औषधालय सरकारी हेल्थपोस्टमा परिणत भयो र ठाउँ सर्‍यो। उसले खोलेको स्कुल सरकारी भयो। उसको नाम छैन। उसले घरअघि वरपिपल रोपेको थियो। त्यहाँ मान्छेलाई सिँयाल ताप्न वीरपुरबाट सिमेन्ट बोकाएर ल्याएर पक्का पाटी बनाएको थियो। गाउँलेलाई पानी खान इनार खनेको थियो। बाटो बढ्दा ती सबै काटिए, पुरिए। अब त कसैलाई पनि थाहा छैन कि यो बेचनाले खोलेको हो। ऊ छँदै उसको इतिहास हरायो। ऊ छँदै उसको योगदान मर्‍यो। ऊ छँदै उसकै अस्तित्व हरायो, ऊ नै हरायो। ऊ आफैं भन्छ, ‘यी स्कुल हम बनेने छिए, यी औषधालय हम स्थापना केलिए’ (यो स्कुल मैले बनाएको हो, यो औषधालय मैले स्थापना गरेको हुँ’) यो सुनेका अचेलका केटा भन्छन्, ‘सठिया गेल्छे यी बुढ्वा’ (पागल भएको छ यो बुढो)।

                 –                                  –                                          –

ऊ पचासी वर्षको बुढो भयो। उसले आफ्नै झोलिएका पिंडुलालाई मुसार्‍यो। हाडलाई मासुले छोडेको छ, मासुलाई छालाले छोडेको छ र छालालाई सबै आफन्त र इष्टमित्रले छाडेका छन्। उसले ऐना हेर्‍यो। अनुहारभरि अमिनले कित्ताकाट गरेजस्ता मुजाहरू छन्। उसलाई शरीरभरि तेल लगाउन मन लाग्यो। हरियालाई करायो, ‘रे हरिया, कनिक करू तेल ला त। हमरा डाँडमे मालिस क्या देही’ (ए हरिया, अलिकति तोरीको तेल ल्या त। मेरो ढाडमा मालिस गरिदे’)।

हरिया पनि आफैं पैंसट्ठी बर्से बुढो छ। अलिअलि दम्म पनि छ। तैपनि ऊ फुर्तिले आज्ञा मान्छ, ‘जी मालिक।’ तोरीको तेललाई बेचनाले यसो सुँघ्छ र पारखी नाकको कुरा हरियालाई भन्छ, ‘रे हरिया, एकरा के कहैछे शुद्घ करू तेल? सार ठगसब मिसावट क्यादेल्के’ (ए हरिया, यसलाई कसले शुद्घ तोरीको तेल भन्छ? साले ठगहरूले मिसावट गरिदिएछन्)। हरिया पनि बड्बडायो, ‘कि कर्वे मालिक? मिलवाला सब एहने करैछे’ (के गर्ने मालिक, मिलवालाहरु यसै गर्छन्)।

ऊ आफैं गुनगुनाउँछ, ‘गाउँ–शहर भगेले। विकास चैल एले। दया, माया पे्रम, सभ्यता, संस्कृति आ भाषा कमजोर भेले। इमान आ धर्म हर्‍या गेले। अपना बिरान भगेले। शान्ति चैल गेले। धुर्, एहन विकास भेले से’ –गाउँ–शहर भयो। विकास भित्रियो। दया, माया, प्रेम, सभ्यता, संस्कृति र भाषा कमजोर भयो। इमान–धर्म हरायो। आफन्त बिराना भए। शान्ति हरायो। छि, यस्तो पनि विकास हो त?)

उसलाई अचेल लाग्न थालेको छ कि मान्छे किन यस्तो भयो होला? मान्छे किन उन्मुक्त हाँसो हाँस्दैन? बाहिर चिटिक्कको लुगा त लगाउँछ तर भित्र कति कालो बोक्न सकेको होला? खोई के गर्छु भन्छ को नि मान्छे?

उसलाई उसका पिताले भनेका थिए–धनसम्पत्ति र मानसम्मानले मान्छे धनी हुन सक्तैन। धनी हुन मन, इमान र शान्ति चाहिन्छ। शान्ति धर्म र परोपकारमा मात्र हुन्छ। उसले जीवनमा त्यसै गर्‍यो। तोरीको तेलमा मिसावट गरेन। व्यापारमा बेइमानी गरेन। दुराचार गरेन। एक श्रीमती व्रत बस्यो। उसकी श्रीमती बितेपछि अर्को बिहे गर्ने दबाब परेको थियो छोराछोरीबाट। सायद उनीहरू घाँडो पन्छाउन चाहन्थे। स्कुल खोल्यो, औषधालय खोल्यो, पाटी चौतारा बनायो, बाटो बनायो, दान गर्‍यो र छोराछोरी पढायो। धर्म मान्यो।

उसको कुरो सुन्ने कोही छैन। त्यसैले ऊ हरियालाई सोध्छ, ‘रे हरिया, हमरा पास जग्गा जमिन छेबेकरे, ओतेक समाजसेवा केलिए, ध्यापुताके पढेलिए, अब ऊसब सहरमे जैम गेल्छे, धर्म केलिए, दानपुण्य केलिए, लेकिन हम कहाँ धनी भेलिए?’ (ए हरिया, मसँग जग्गाजमिन छँदैछ, त्यत्ति समाजसेवा पनि गरको छु, छोराछोरा पनि पढाएको छु, अब उनीहरू शहरमा जमेकै छन्, धर्म गरें, दानपुण्य गरें तर खोई म धनी भएँ?’)

हरियाले के बुझ्यो कुन्नि हाँस्यो।

उसलाई जीवनको अर्थ चाहिएको छ। पण्डितले भनेको सुनेको छ, ‘जीवन अनित्य छ, नाशवान् छ र शून्य छ।’

उसको मनमा प्रश्न उब्जेको छ,‘त्यसो हो भने मान्छे बाँच्नुको सार के हो? औचित्य के हो? संसार पानीको फोकाजस्तो छ भने संसारको कमजोर सृष्टि किन?

        –                                               –                                                        –

भर्खरै उसले चर्खा गोरूलाई सम्झ्यो। चर्खा उसको कोलको पछिल्लो गोरु थियो। उसले धेरै गोरुलाई कोलमा सधायो तर चर्खाको सम्झना तीव्र भयो उसलाई। यो चर्खा गोरु खुरुखुरु काम गर्थ्यो। इमानी थियो। छोपिएको आँखाको जिन्दगी लिएर कोल घुमायो। तराई र पहाडका तमाम मान्छेलाई तोरीको तेल खुवायो। जीवनसँग कहिल्यै प्रश्न गरेन। कहिल्यै नियतिसँग गुनासो गरेन। यस्तो थियो कि गुवाली (गोठ) बाट खोलिदिनेबित्तिकै कोलमा गएर उभिन्थ्यो। बुढो भएको थियो तर कहिल्यै बुढो भएँ भनेन।  

तेलको कोल व्यापारलाई आधुनिक मिलले प्रतिस्थापन गर्‍यो। चर्खा बुढो थियो। चर्खा गोरुलाई किन्न मुसलमान व्यापारी आए। घरपरिवार इष्टमित्र सबैले चर्खालाई बेच्ने सल्लाह थिए। उसले मानेन। उसले सबैलाई भन्यो, ‘नही बेच्वे, यत्तै मरते यी’ (बेच्दिनँ, यो यहीं मर्छ)। चर्खा थला पर्‍यो तर ऊ घरीघरी उठेर कोलतिर जान खोज्थ्यो। ऊ गुवालीमै मर्‍यो। पुरानो कोलको छेउमै मर्‍यो। उसको मासु, छाला चमारले लगे। चमारका जहान खुसी भए। मरेपछि पनि चर्खा गोरु संसारलाई काम लाग्यो।

बेचनाको मन भारी भयो। चर्खा गोरु धनी थियो। मनको धनी थियो। इमानको धनी थियो। ऊ औचित्यपूर्ण बाँच्यो। उसको जीवन पानीको फोका होइन। ऊ सारपूर्ण बाँच्यो। जिन्दगीभरि बाँच्यो। चर्खा कहिल्यै मरेन भने मान्छेले छिनछिनमा किन मर्नुपर्‍यो?

बेचनाले आफूलाई चर्खा गोरुसँग तुलना गर्‍यो। चर्खा गोरुजस्तै ऊ पनि आँखामा पट्टी लगाएरै जोतियो। उसले निमेषमै सोच्यो, ‘चर्खा एकपल्ट मर्‍यो। म त बारबार मरिरहेको छु। आफन्तका वचनले मरेको छु। परिस्थितिका प्रहारले मरेको छु। अहिले एक्लै मरिरहेको छु। कोही छैनन्। कम्तीमा चर्खा गोरुको त म थिएँ।’

ऊ बाहिर आँगनमा निस्क्यो। सेतो धोती मैलिन थालेको थियो। उसकी श्रीमतीले धोएजस्तो धोती त कहाँ पाउनु? आमाको जस्तो माया खोज्यो-कहाँ पाउनु? एउटा सहारा खोज्यो-कहाँ पाउनु? एउटा बलियो कठबाँसको लाठीको सहारामा उभियो। ऊ थरथर काम्दै थियो।

एकाएक उसको अनुहार उज्यालो भयो। भन्यो, ‘रे हरिया, यतै सुन् त, झुठ बाजै छे यी पण्डित सब। ग्याके पानी देलिही? चल् त अस्पताल, यी हमरा शरीर अस्पतालके दान ददेबे, ककरो त काम लग्ते न, आग लगाके कि हेते?’ (ए हरिया, यता सुन् त, झुटो बोल्छन् यी पण्डितहरू। गाईलाई पानी दिइस्,  अस्पताल हिंड् त, मेरो यो शरीर अस्पताललाई दान दिनुपर्‍यो, कसैलाई त काम लाग्छ नि, आगो लगाएर के हुन्छ र?

हरियाले केही बुझेन तर ऊ भन्दै थियो, ‘हेते मालिक।’

ऊ परपर हेर्दै थियो। सायद भन्दै थियो होला,‘सठिया गेल्छे यी बुढ्वा।’  

प्रकाशित: २ चैत्र २०७८ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App