५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

प्रारम्भिक ज्योतिष शिक्षा

नयाँ कृति

नगेन्द्रराज रेग्मी

ज्योतिष विद्या भन्नेबित्तिकै नबुझीकनै हामी प्रायः गलत टिप्पणी गरिदिने गर्छाैं। यस्तो प्रचलन बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा डा.जनकराज भट्टले सुबोध शैलीमा यससँग सम्बन्धित एक कृति हालै प्रकाशन गर्नुभएको छ। फलित ज्योतिषसँग बढी रुचि राख्ने पाठकलाई केन्द्रविन्दुमा राखेर ‘प्रारम्भिक ज्योतिष शिक्षा’ नामक यो कृति बजारमा आएको हो।

मानव जीवनमा आइपर्ने अनुकूल/प्रतिकूल परिस्थितिको सामना गर्न शुभ–अशुभावस्थाको पूर्वानुमान गरी आफू हिंड्ने बाटो बन्द गर्ने र शुभ बाटो सफा र राम्रो पार्ने लगायतका क्रियाकलाप र विधिविधानहरूलाई सरल र व्यवस्थित बनाई पाठकवर्गलाई लाभान्वित तुल्याउन यो पुस्तक ज्यादै लाभदायक देखिन्छ।

सुगाको चुच्चाले ल्याएको खाम खोलेर ग्रहदशा बताइदिने ज्योतिषीहरू अद्यापि हामीसँग नभएका होइनन्। हुन पनि ठाउँ कुठाउँ बसेर व्यक्तिहरूका भविष्य र ग्रह दशा हेर्न र मन्साउन भनी बिनाअध्ययन बाटो–चौबाटामा बसेका चन्दनधारी केही स्वनामधन्य ज्योतिषीका कारणले यो क्षेत्र र व्यावसायलाई बदनाम नगराएको पनि होइन।

दुखी र अशान्त बनेर आएका व्यक्तिको भावनासँग खेलवाड गर्दै उनको मनोदशा आंकलन गरेर भविष्य बताउने यस्ता व्यक्तिका कर्तुतलाई चेतनाको स्तर बढाउँदै स्वयं हामीले चिर्नु आवश्यक भइसकेको छ र यसमा निकै हदसम्म सफलता मिलेको महसुस पनि हुँदैछ, जुन खुसीको कुरा हो।

आखिरी जसले जेजे भने पनि ज्योतिष विद्या एउटा विज्ञान हो। यति बजे र यति मिनेट जाँदा ग्रहण लाग्छ भनेको समयमा ठ्याक्कै चन्द्र ग्रहण लाग्नु अनि सूर्य ग्रहण यतिखेर लाग्छ भनेर एक वर्षअघि नै हिसाब गरी निकालेको तथ्य फरक नपर्नु भनेको के विज्ञान होइन? के गणित होइन? यस्तो गणित र विज्ञानजस्तो विषयलाई अपव्याख्या गर्नु कसैका  लागि पनि शोभनीय हुँदैन। यस्ता यावत् तथ्य, उदाहरण र घटनाक्रम थुप्रै प्रस्तुत  गर्न सकिन्छ।

मानिसको जीवनमा जन्मकुण्डलीले ठूलो महत्व राखेको हुन्छ। त्यसैले यसको अध्ययन सबैभन्दा प्रभावकारी, भरपर्दाे र गहिरो हुनैपर्छ। जसका कारण हाम्रो जीवनमा आउने शुभ अशुभ फल, ग्रहको जप, व्रत, पूजापाठ, दान, सम्बन्धित ग्रहको रत्नधारण, ग्रहशान्ति, वास्तुशास्त्रजस्ता विविध विषयवस्तुलाई लेखकले सरल ढंगबाट प्रस्तुत पुस्तकमा जानकारी गराउन सक्नु उहाँको लेखकीय कौशल हो। पुस्तकको शुभंयुमा डा.माधवप्रसाद पाण्डेयले भनेजस्तै– ‘यसका  प्रस्तुतिहरू प्रारम्भिक ज्योतिषकर्मीका लागि जिभ्रो परपराउने चटपटेजस्तै धेरै प्रकारका स्वाद दिने खालका छन्।’

यसमा पात्रो हेर्ने सरल विधि, इन्टरनेटबाट पञ्चाङ्ग हेर्ने तरीका, ग्रहदशा शान्ति, फलित ज्योतिषका व्यावहारिक पक्ष, उपयोगी मन्त्रहरू, सातैवटा वारको व्रत परिचय र व्रत कथा, कुण्डलीबाट आयु विचार, लग्न अनुसारका जन्मफल, राशि परिचयजस्ता विविध विषयवस्तुले स्थान पाएका हुँदा प्रस्तुत पुस्तक पाठकको रुचिको विषय बन्न पुगेको छ। त्यो बाहेक पृथ्वीनारायण शाह, राजा वीरेन्द्र, प्रसिद्ध गायिका लता मंगेशकर र साधारण पुरुषहरूका जन्मकुण्डलीको विश्लेषण गरेर यसलाई अझ रोचक र थप प्रभावकारी बनाइएको छ।

राजनीतिशास्त्रमा विद्यावारिधि गर्नुभएका डा.जनकराज भट्ट सोही विषयको प्राध्यापनमा व्यस्त रहँदारहँदै पनि ज्योतिषजस्तो गम्भीर र गहन विषयमा पनि उत्तिकै सशक्तताका साथ ज्ञानवद्र्धक र उपयोगी पुस्तक प्रकाशन गरिदिएर कृतकृत्य तुल्याइदिनुभएकोमा उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि उहाँको कलमले विश्राम नलिई यस्ता जनोपयोगी कृतिहरू प्रकाशनमा अग्रसर भइरहोस् भनेर शुभेच्छा प्रकट गर्दछु।

पुस्तकको नाम–प्रारम्भिक ज्योतिष शिक्षा

लेखक–डा.जनकराज भट्ट

प्रकाशक– डाँफे प्रकाशन प्रालि,बालाजु,काठमाडौं।

प्रथम संस्करण– २०७८ भाद्र

मूल्य– ३५५।–

पृष्ठ– २४५।

प्रकाशित: २३ फाल्गुन २०७८ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App