अजित क्षेत्री
‘हो त्यो साँझ ऊ आएथ्यो। बाबु, गुन्द्रीमा बस भनेथें। ऊ भुईंमै बस्यो अनि रातो किताब पढ्न थाल्यो।’ बुढी आमैले भनिन्।
‘अनि के भयो नि आमा?’ मैले प्रश्न गरें।
‘कहाँ जान हिंडेको भनें। देश बदल्न हिंडेको भन्यो। कसका छोरा हौ भनें– बिरको भन्यो।’ यसपटक आमै अलिक भावुक देखिइन्।
‘कस्तो थियो नि ऊ।’ मैले थप प्रश्न गरें।
–आँखामा ज्वालामुखीको आभा थिए बाबु, साँढे मारेर फर्केको बाघझैं तेज थियो ऊ।
यसो भनिरहँदा आमैका आँखा रसाएका थिए। म उनले भनेका हरेक शब्द अक्षरमा कैद गर्दै थिएँ।
द्वन्द्वकालको उत्कर्षको समय थियो। देशका विभिन्न ठाउँमा विद्रोही माओवादी र सुरक्षाकर्मीको भिडन्तको खबर दिनहुँ आइरहेका थिए। फलानो ठाउँमा आज भएको भिडन्तमा माओवादीका यति मारिए र सुरक्षाकर्मीको उति मारिए। आज यति आतंककारीलाई यति गोली र बन्दुकका साथमा सशस्त्र फौजले पक्राउ गर्यो फलानो ठाउँमा एम्बुसमा परी यति सुरक्षाकर्मीको ज्यान गयो। आजकल दिनहुँजसोका अखबार र रेडियो टिभीमा समाचार यस्तै हुने गर्दथे।
यत्तिकैमा एकदिन खबर आयो–स्याङ्जा जिल्लाको मनकामना गाविसमा माओवादी र सेनाको मुठभेड भयो रे! केही मानवीय क्षतिको आशंका। कुरा एकैछिनमा सदरमुकामभरि फैलियो। मान्छेहरूमा कौतुहलता, डर र त्रासले एकैचोटि डेरा जमाउन थाल्यो।
जिल्ला प्रहरीका डिएसपी माधव नेपाललाई फोन गरें। उहाँले समाचार साँचो भए पनि पूर्ण विवरण नआएको बताउनुभयो। नजिकै रहेको ब्यारेकका प्रमुख मेजर यादवलाई भेटें। उहाँले अहिल्यै समाचार बनाउन हतारो हुने भन्दै पन्छिनुभयो। प्रशासन कार्यालयतिर गएँ। जिल्लाका सिडियो क्षेत्रीय सुरक्षा समितिको बैठकमा गएको सूचना पाएँ। कतैबाट घटनाको सत्यतथ्य र यकिन विवरण प्राप्त गर्न सकिन।
पत्रिकाको कार्यालयबाट फोन आयो। कार्यकारी सम्पादकले घटनाबारे तत्काल बुझेर समाचार फ्याक्स गर्नुपर्यो भन्नुभयो। मैले पनि नेपाली सेना र विद्रोही माओवादी लडाकु बिचमा स्याङ्जाको मनकामना गाविसमा मुठभेड भएको खबर प्राप्त भएको तर मानवीय क्षतिको विवरण प्राप्त नभएको आशयको समाचार तत्काल फ्याक्स गरें।
घटनालाई लिएर सदरमुकाम बजारभरि विभिन्न अड्कलबाजी र अफवाह फैलिरहेका थिए। माओवादी र सरकारी सुरक्षाकर्मीको दिनहुँजस्तै गोली हानाहानको अवस्था थियो। वर्षाको समय हुनाले केही दिनदेखि झरी परिरहेको थियो। झरी र बाढीका कारण गाउँ र शहर बिचमा यातायात असहज भएको थियो। सदरमुकामबाट २५ किलोमिटर जतिक दुरीमा रहेको भए पनि बर्सात् र माओवादी गतिविधिका कारण मनकामना र जिल्ला सदरमुकाम केही दिनदेखि सम्बन्ध–विच्छेद जस्तै अवस्थामा थियो।
गाउँघरतिर भर्खरभर्खर मात्र टेलिफोन पुगेको थियो। गाउँमा एकाध घरमा मात्रै पिसिओ र कर्डलेस फोन पुगेको अवस्था थियो। समाचारको तथ्य थाहा पाउन सो गाउँतिर सम्पर्क गर्न कुनै सम्पर्क सूत्र फेला पार्न सकिएन।
पत्रकारको कामै समाचार खोतल्ने। समाचारको फेदैमा पुगेर त्यसको मुल जरो खोतल्न अभ्यस्त हुन्छन् पत्रकार। अधुरो समाचारले मन झन् बेचैन भयो। अरू पत्रकार साथीहरूसँग पनि कुरा गरें। जिल्लामा उपस्थित मानव अधिकारवादी अगुवाहरूलाई भेटें। सबैले स्थिति गम्भीर भएको निष्कर्ष निकाले। मैले घटनास्थलको स्थलगत भ्रमण गर्ने प्रस्ताव राखें। सबैले अहिले जान नहुने सुझाव दिए।
अमेरिका, बेलायतदेखि मंगल ग्रहसम्मको जानकारी राख्छौं हामी तर आफ्नै आँगनमा भैंसी नाचेको पनि थाहा पाउँदैनौं। स्थलगत रिपोर्टिङबिना पत्रकारिता कसरी सत्यतथ्य र सफल हुन सक्छ? म घटनाको स्थलगत रिपोर्टिङमा जाने निधो गरें।
केही दिनको झरीपछि सदरमुकाम र आसपासको आकाश भर्खरै उघ्रन लागेको थियो। बिहानको खाना खाइसकेर म सदरमुकाम स्याङ्जा बजारदेखि राङ्खोला बजारतिर लागें। मनकामना जाने बाटोमा बिरुवा बजार पर्छ। राङ्खोला देखि त्यहाँसम्म जाने जिप छुट्नै आँटेको रैछ, चढें। जिपको छतमा म लगायत आधा दर्जन युवा बस्यौं। जिप हुइँकियो जिल्लाको उत्तरपूर्वी पहाडी कच्ची बाटामा।
एकजना अधिकारकर्मी साथी पनि मसँगै आएका थिए घटनाको स्थलगत अध्ययन गर्न। अरू साथीहरू डराएको ठाउँमा मसँग जान उनी तयार यसकारण भएका थिए कि मनकामना गाविससँगै जोडिएको बिरुवा बजारको एक विद्यालयका शिक्षकको रूपमा उनका पिताको सो क्षेत्रमा राम्रै इज्जत थियो अनि माओवादी या सेनाको सुराकी गर्न आएको भनी ग्रामीण क्षेत्रमा हामीमाथि गर्न सकिने सम्भावित अविश्वास हटाउन उनको पिताको परिचय महत्त्वपूर्ण माध्यम हुन सक्थ्यो।
करीब डेढ घण्टाको जीप यात्रापछि बिरुवा बजार पुग्यौं। भर्खरै जवानीमा पाइला टेकेकी कुमारी युवतीजस्तै थियो बिरुवा बजार। हरियो जंगल र घाँसे पाखाको फेदीमा कञ्चन पवित्र ज्याग्दी खोला अविच्छिन्न बगिरहेकी छिन्। यिनै ज्याग्दीको काखमा निदाएको छ सुन्दर बिरुवा बजार।
फाँटमा रोपिएका धान बिस्तारै हरिया हुँदैछन्। बजारले शहरीकरणतर्फ पाइला बढाउँदै छ। नयाँ घर बन्दैछन्। पसलहरू थपिंदैछन्। गाडीहरू धुलो उडाउँदै आउँछन्। पसलेहरू घर अगाडिको कच्ची सडकमा पानी छर्कन्छन्।
विद्यालय बन्द भएर विद्यार्थीहरू घर हिंडेका छन्। एउटाले एक्सिलेटर दबाउँदै स्कुले ठिटीको नजिकैबाट बाइक कुदाउँछ। बाइकको हावाले ठिटीको छोटो जामा माथितिर हुत्याइदिन्छ। छेउछाउका केटाहरू गलल्ल हाँस्छन्।
‘मर्न नसकेको मुर्दार’–ठिटीले हुइँकिंदै अगाडि पुगिसकेको बाइकतर्फ हेर्दै सरापी।
‘कसैको नभाको ठाँडो हाम्रै छेउबाटै दौडाउनुपर्ने, धुलो उडाउँदै’–साथमै हिँडेकी अर्कीले थपी।
‘खुब केटी जिस्काउने भाको, त्यसको खप्पर पल्टे नि हुने नि’–पहिले ठिटीले थिग्रिएको रिस निखार्दै गाली गरी।
वर्षा याम भएकाले कच्ची बाटो हिलाम्मे जस्तै थियो। बाइकमा सवार केटो केही अगाडि पुगेर चिप्लियो र लड्यो। आवाज सुनेर स्कुले ठिटाठिटीले बाइक लडेतिर नजर दौडाए।
‘तँलाई बोक्सी’–अघि सराप्ने ठिटीतर्फ हेर्दै एक स्कुले ठिटाले व्यंग्ग्य गरे। ठिटी शर्मले राती भई। अर्कीचाहिं बाइक लडेकामा बल्ल खाइस् भन्ने भावमा कुइनो ठोक्दै खुच्चिङ गरी। यो दृश्य हामी भर्खर खुलेको जस्तो देखिने पिसिओको बेञ्चमा बसी हेरिरह्यौं।
दिउँसोको चार बजिसकेको थियो। घाम बिस्तारै शयनकक्षतिर लम्कँदै थियो। बिरुवा बजारले पारि डाँडाको छायाँको पछ्यौरी ओढिसकेकी थिइन्। म भने पिसिओ चलाएर बसेकी क्षेत्रिनी युवतीसँग गफिन खोज्दै थिएँ।
‘जाम सर, ढिला भयो। दुई घण्टा उकालो हिँड्नु छ, पुगिन्न नत्र’– साथीले खोलापारिको भिरको बाटोतर्फ देखाउँदै भने। ‘जान्छौं है त’ मैले युवतीतर्फ हेर्दै अनुमति मागेको भावमा बोलें।
‘आउँदै गर्नुहोला है’–उनले मुस्काउँदै भनिन्। यस्तो लाग्यो उनले सत्यनारायणको पूजामा आउने निम्तोको सुपारी दिंदैछिन्।
फेरि आउने बाचा बाँध्न मन लाग्यो। हल्का मुस्कान बैना लगाई छाडें। अन्तिम पटक चार नजर एक भए। मनमनै तस्वीर खिचें। एक घुटुको थुक निल्न भ्याएछु।
मस्त जवानीमा बगिरहेको ज्याग्दी खोला तर्न सकिने अवस्था थिएन। लठ्ठे पुल तर्न लाग्यौं। स्कुले युवायुवती पनि पुल तर्न तँछाडमछाड गर्दैछन्। केही उरन्ठेउला केटा पुल हल्लाउँछन्। केटीहरू एक हातले कुमको झोला अँठ्याउँदैछन् र अर्को हातले पुलको लठ्ठो।
‘ऐले त्यहीं आएर खसाइदिन्छु है नाके, धेरै नहल्ला पुल’–एउटीले खाउँलाझैं गर्दै भनी।
‘लौ हेरम त डल्ली गाईको ताकत’–केटोले प्याच्चै भन्यो।
‘के भनिस्? फेरि भन्।’केटी चप्पल फूकालेर केटातिर दौडी। केटो हाँस्दै भाग्यो।
पुल तरियो।
त्यो ठाउँका लागि अपरिचित थियौं हामी। त्यसमाथि सेना, माओवादी वा जासुस कोही पनि त हुन सक्छ। यस्तै सोचेर होला स्कुले ठिटाठिटीहरू कोही पनि हाम्रोसामुन्ने परेनन्। बाटामा जम्काभेट हुने मानिसहरू पनि या त बाटै अर्कोतर्फ मोडे या त हामीलाई बेवास्ता गरे। मानिस मानिस बिचको सम्बन्ध हराएको बेला थियो त्यो।
यसअघि कहिल्यै यसरी मान्छेले मान्छेलाई बेवास्ता गरेको देखेको थिइन मैले।
खरभिर र जंगलको छेउछाउ हुँदै उकालै उकालो हिड्यौं हामी। माथि मनकामना र पारिपट्टि कोल्मा काहुले, सालडाँडा, चिन्नेबास, सेखाम, क्याक्मी र मल्याङ्कोट अनि चिसापानी क्षेत्रका हरिया वन नागबेली आकारमा मुस्कुराइरहेका थिए भने तल ज्याग्दी खोलाचाहिं काली गंगासँग मिलनका लागि छिटोछिटो दौडिरहेकी थिइन्।
बाटामा कुनै घर आँगनमा पुरुष देखापरेनन्। साथी भन्दै थिए– हामी अपरिचितलाई देखेर यहाँका युवाहरू परालमुनि या गाई गोठमा लुके। हुन पनि त्यो बेला गाउँका युवालाई माओवादीले भेटे जनसेनामा लैजाने र सेना प्रहरीले भेटे नानाथरी सवालजवाफ सोधेर सताउने या सुराकी बनाउने गर्छन् भन्ने जिल्लाभरि हल्ला थियो। भर्खरै माओवादी र सुरक्षाकर्मीको मुठभेडको खबरले पनि मानिसहरूमा थप डर पैदा भएको हुन सक्छ।
झिमिक्क साँझ पर्दा हामी मनकामनाको उपल्लो बस्तीमा पाइला राख्यौं।
साँझ परिसकेकाले पहिले गाँस र बासको जोहो गर्नतिर लागियो। ग्रामीण बस्ती भएकाले होटल रेष्टुराँ पाउनु कल्पना बाहिरको कुरा थियो। आफ्नो पूरा विवरण र ठेगाना बताएपछि बल्लबल्ल एउटा घरमा बास पाइयो। नेपाल आर्मीमा कार्यरत एकजनाको घर रहेछ त्यो। घरमा विधवा आमा मात्र रहिछन्। खाना खाइसकेर हामी तिनै बुढी आमैसँग गफ गर्न लाग्यौं।
आमैका छोरा पाँच वर्षदेखि नेपाल आर्मीमा कार्यरत रहेछन्। भित्तामा झुन्ड्याइएको आफ्नो छोराको फोटो देखाउँदै गुरुङ्नी आमैले भनिन्, ‘ऊ यस्तै थियो बाबु, काटीकुटी मेरै छोरा जस्तो। त्यो साँझपछि कहिल्यै फर्केर आएन त्यो।’
‘यहाँ माओवादीहरू आइरहन्छन् हो आमा?’ कुरा कोट्याउन खोजें।
‘सबै आउँछन् बाबु, कोही माओवादी हुन् भन्छन्, कोही शाही सेना र कोही पुलिस। नचिनिने भएर आउँछन् म बुढी मान्छेले कसरी चिनुम।’ आमैले रक्षात्मक जवाफ दिइन्।
‘त्यो भिडन्तको रात के भएको थियो नि आमा, भन्नुस् न।’ मैले कुराको चुरो समातें।
आमैले लामो सुस्केरा हालिन्। चारैतिर आँखा दौडाउँदै भनिन्, ‘भित्ताका नि कान हुन्छ भन्छन्, मलाई अप्ठेरो पो पर्ने हो कि?’
‘डराउनु पर्दैन आमा, जति देख्नुसुन्नुभयो, त्यति भन्नुस्। हामी तपाईंलाई अप्ठेरो पर्ने गरी केही काम गर्दैनौं।’ साथीले आमैलाई विश्वस्त पार्न खोजे।
‘जमाना खराब छ बाबु हो। देखे पनि नदेखे जस्तो र सुने पनि नसुने जस्तो गर्नुपर्ने अवस्था छ। साँचो...।’ बोल्दाबोल्दै रोकिइन् बुढी आमै।
‘साँचो के आमा? भन्नुस् न।’ नम्र हुँदै मैले भनें।
‘साँचो भन्नुपर्छ, त्यो केटालाई मारेकै हुन् बाबु।’आमैका कुरा सुनेर शरीरमा रक्तसञ्चार तेज भएजस्तो भयो।
‘गोली चलेको सुनियो, मरेको लास देखियो तर भिडन्त हो कि मारेर फालेको हो त्यो त दैव जानु न।’ आमैले अगाडि थपिन्।
‘कसले मारे उसलाई?
‘खोई बाबु, कसैले सेनाले मारे भन्छन्, कसैले सेनाले घाइते बनाएपछि आफ्नै साथीले गोली हानेर मारेको भन्छन्। कसैले भाग्दाभाग्दै लडेर मब्यो होला भन्छन्। कसैले माओवादी नै हैन कि पनि भन्छन्। के हो के हो।’ बोल्दाबोल्दै बुढी आमै उठेर बाहिर तिर निस्कन खोजिन्।
‘भैंसीलाई पराल दिएर आउँछु बाबु बस्दै गर है।’
आमै घरसँगै जोडिएको गोठतिर लागिन्।
एकछिनमै गुरुङ्नी आमै गोठबाट फर्किन्। एक सुरले बसेका रै’छौं। ‘यत्तिकै बेला भएको थियो होला बाबु हो।’ बुढी आमैको आवाजले झस्क्यौं।
‘माओवादीका ती दुई ठिटा यही कोठामा तिमीहरू बसेकै ठाउँमा गुन्द्रीमा बसेका थिए। भुटेको मकै र मोही खुब मिठो मुखले खाएका थिए। आमा तपाईंको छोरालाई शाही सेनाको नोकरी छुटाउनुपर्यो आखिर जो मरे नि नेपाल आमाकै छोरा मर्ने हो। नेपाल आमा नै रुने हुन्। आमा हामी जित्न चाहन्छौं तर मार्न होइन। यस्तै केके भन्दैथ्यो बा।’ बुढी आमै केही गम्भीर देखिइन्।
साथी र मैले उनले भनेका कुराहरू नोटबुकमा लेख्दै थियौं। अनि अगाडि के भयो आमा?–साथीले प्रश्न गरे।
‘यहीं बसेर रातो रंगको किताब पढ्दैथ्यो। आफ्नै छोरो जस्तो लागेर म पनि उसका कुरा सुनिरहेकी थिएँ बाबु। एक्कासि एउटा कटराइजको सर्ट,पाइन्ट लगाएको केटा आयो र उसको कानमा साउती ग¥यो तत्कालै तिनीहरू जान्छौं है आमा भन्दै निस्केर गए।’ आमैले भनिन्।
‘घटना चैं कतिखेर कहाँ घट्यो त आमा?’
–उत्सुक हुँदै मैले भनें।
‘तिनीहरू यहाँबाट हिंडेको पाँच मिनेटमै तल मुल बाटोतिर दुईतिन पटक बन्दुक पड्केको आवाज आयो। भोलिपल्ट अर्थात् हिजो त्यहाँ रगतको टाटो र उसले पढेजस्तै किताब भेटिएको थियो रे। लडाइँ भएको त कसैले देखेनन्।
‘कस्तो अचम्म है!’मैले भनें।
हिजो बिहान खरबारीमा घाँस काट्न जाँदा बिरे गुरुङकी जहानले दुईटा लास खरबारीमा देखेकी रे।’ आमैले एकै सासमा भनिन्।
‘कसको रैछ त आमा त्यो लास?’साथीले सोधे।
‘खै बाबु कसको हो, चिन्न सकिने अवस्थामा थिएन। मेरै घरमा आएको त्यै केटाको लास हो कि भन्छन् मान्छेहरू।’ आमैले केही कारूणिक स्वरमा भनिन्।
‘ढिला भयो सुत बाबु हो, म पनि सुत्न जान्छु।’ बुढी आमै अर्को कोठातिर लागिन्।
भर्खर निदाउन मात्र लागेका थियौं, बाहिर बुट बजेको आवाज आयो। एकैछिनमा थुप्रै मान्छे गल्याङ्गुलुङ् गरेको र यताउति हिंडेको प्रष्टै सुनियो। बिउँझिसकेको थिएँ। साथीलाई कोट्याएर बिउँझाएँ। दुवैले केहीबेर बाहिरबाट आएको आवाजलाई सुनिरह्यौं। हामी बसेको घरलाई कसैले चारैतिरबाट घेरा हालिसकेको बुझ्न हामीलाई बेर लागेन।
–मर्ने दिन त आजै पो रै’छ कि जस्तै भो।
डरले जिउ हल्लिन थाल्यो। ती माओवादी या सेना को होलान् र के गर्न लाग्दैछन्,केही बुझ्नै सकिएन। कतै हामी बसेको वरपर दुईतर्फी सेनाको बिचमा युद्ध हुन लागेको छ या हामीमाथि नैे पो कसैले आक्रमण गर्दैछ कि? मनमा विभिन्न आशंका उब्जिन थाल्यो। जो भए पनि हाम्लाई मारी हालेनन् र आफ्ना कुरा राख्न दिइयो भने पक्कै बाँचिनेछ भन्नेमा चाहिं म ढुक्क थिएँ। सायद साथी पनि। किनकि न हामी माओवादी थियौं न सेना प्रहरी या गुप्तचर।
कसैले जोडले ढोका ढकढक गर्यो।
‘को हँ यति राति?’ घरमुली गुरुङ्नी आमै चर्कै गरी बोलिन्।
‘ढोका खोल्नुस्।’ आदेशात्मक शैलीमा बाहिरबाट कसैले बोल्यो।
पल्लो कोठामा आमैले लालटिन बालिन् र लालटिन बोकेरै आमैले ढोका खोलिदिइन्। हामी दुई पनि उठिसकेकाले आमैले ढोका खोल्दा हामी आमैको पछाडि नै उभिएका थियौं।
‘तपाईंको घरमा को बसेका छन् हँ? सेनाको एकजनाले निकै ठाडो शैलीमा भन्यो।
उसले सोधी नसक्दै उसको र हाम्रो नजर जुध्यो।
‘सर नमस्कार, हामी हौं, पत्रकार..., स्याङ्जाबाट आएका।’ बोली पूरा नगर्दै उसले हाम्रो कठालो समातेर बाहिर तान्यो।
झिमिक्क साँझ परेर अँध्यारो भए पनि लालटिनको उज्यालो सेनाका जवानहरू आँगनभरि र यताउति पनि थुप्रैको संख्यामा रहेको देखें। केहीले हामीतर्फ बन्दुक सोझ्याएर पोजिसन लिएका थिए।
‘म पत्रकार, विभिन्न पत्रिका र एफएममा समाचार लेख्छु, रेडियो नेपाल र एन टिभीमा पनि। उहाँचाहिं मानव अधिकारवादी साथी।’ साथीतर्फ देखाउँदै मैले एकैपटकमा हामी दुवैको परिचय दिन भ्याएँ।
रेडियो नेपाल र एन टिभीको नाम लिएपछि उनीहरू केही सम्हालिए र हामीलाई केर्ही ज्जत दिएको शैलीमा हेरे।
–यी हेर्नुस्, परिचयपत्र।
हामी दुवैले परिचयपत्र देखायौं। हाम्रो परिचयपत्र हेरिसकेपछि उनी अलिक पर हटे। सेनाका एकदुई जनाले हामीलाई चिनेका रै’छन् , हात मिलाउन आए। कतिपयले ‘सरी सर, के गर्नु हाम्रो ड्युटी नै यस्तै हो’ भने।
अलिकति मुस्कान साटासाट भो।
‘सरी भाइहरू,आरामसँग सुत्नुहोला।’ अघि मेरो कठालो समात्ने चाहिंले सामान्य शैलीमा भन्यो।
‘हवस् त आमा जान्छौं’भन्दै सैनिकहरू ओरालो लागे।
त्यो रात धेरै बेरसम्म निदाउन सकेनौं। ढुकढुकी बढी नै रह्यो।
‘हजुरको कुरा सुनेर त मेरो आङ नै सिरिङ्ङ भो दाइ।’
बसको झ्यालबाट बाहिर हेर्दै मैले भनें।
‘त्यस्ता घटना त जीवनमा कति बेहोरियो कति।’ दाइले फुर्ति लगाए।
उमेरमा मभन्दा जम्मा ६ महिनाले मात्रै जेठा भए पनि म उनलाई आजकल दाइ भनी सम्बोधन गर्थें तर व्यवहार साथीको थियो। अरूको सामुन्ने तपाईं भने पनि एकान्तमा म उनलाई तिमी र कहिलेकाहीं तँ पनि भन्न भियाउँथें। दाइ भनिदिएपछि आफूलाई तँ भनेको पनि हेक्का राख्दैनथे उनी।
बस मुग्लिन आइपुगेको थियो। पोखराबाट हिंडेको करीब चार घण्टामा यतिखेर हामी मुग्लिनको एउटा होटलमा खाना खान छिर्दैथ्यौं।
खानाको अर्डर गरियो र टेबलमा खाना आइपुग्यो पनि तर मेरो मन पत्रकार दाइले सुनाएको घटना वरपर नै घुमिरहेको थियो।
‘दाइ ती मारिने माओवादी केटाहरू को रै’छन्, पत्ता लाग्यो त?’ अघिदेखि मनमा खेलिरहेको कुरा सोधें मैले।
‘त्यो भिरमा भेटिएको लास माओवादीको थिएन भाइ।’ दाइले जवाफ दिए।
‘हँ!’ मेरो मुखबाट अनायसै निस्क्यो। त्यसो भए कस्को त?
‘त्यो लासमध्ये एक तिनै अभागी गुरुङ्नी आमैको छोराको थियो जो सेनाबाट भागेर घर जाँदै थियो।’ दाइले लामो सुस्केरा हाल्दै बोले। कुरा सुनेर म अवाक् भएँ।
‘उसलाई कसले मार्यो होला? किन मार्यो होला? केही दिनसम्म मेरो मनमा यही प्रश्न ओहोरदोहोर गरिरह्यो।
प्रकाशित: २२ फाल्गुन २०७८ ०६:४१ आइतबार