इन्द्र नारथुङे
जब मन्दिरबाट,
जीवन गाइरहेका चराहरूको लय पछ्याउँदै
क्रमबद्ध बज्न थाल्छ घण्टाको टङटङ
र, म
चेतनालाई छोपेर ढुकढुकीले
रामनाम जपिरहन्छु।
जब चर्चको आँखीझ्यालहरूबाट
फुत्तफुत्त निस्किएर झन्कार संगीतको
फैलिएर हावाको तरंगमा
पातहरूलाई नचाउन थाल्छ
र, म
एक जोडा बन्द आँखाभित्र
क्राइस्ट चियाउँछु।
जब मस्जिदहरूको भित्तामा
छरेर उसैउसै स्निग्ध हिमाल
प्रत्येक प्रहर अल्लाह चिच्याउँछ
र, म
गुमाएर आफ्नो आकार
मोहम्मद उभिरहन्छु।
जब गुम्बाका मानेहरूमा
घुमिरहन्छ ‘ॐ मनि पद्मे हुँ’ सँगै
जीवनका अनगिन्ती रङहरू
र, म
टुक्रिएर अहंसँग
बुद्ध बाँचिरहन्छु।
तर जब,
धर्मको शब्दजालभित्र
बुनेर प्रत्येकले माकुरो सत्ता
एउटाले अर्कालाई गलत देख्छ
एउटाले अर्कालाई दुस्मन ठान्छ
र म,
नित्सेलाई पछ्याउँदै घोषणा गर्छु
यहाँ ईश्वर मरेर मान्छेभित्र.....
...मात्र सैतान बाँचिरहेछ।
प्रकाशित: २१ फाल्गुन २०७८ ०७:०४ शनिबार