५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

बूढो चिलाउने

संस्मरण

टंक भट्टराई

पहाडी गाउँघरमा विशेषगरी अलि बेंसी परेको स्थानमा चिलाउनेका बोटबिरुवाहरू जता पनि भेटिन्छन्। यी प्राकृतिक रूपमा आफैं उम्रिन्छन्। हुर्किन्छन्। कसैले रोप्नु पर्दैन। मान्छेले सकेसम्म जगेर्नाचाहिं गर्ने हो। घर, ग्वालीहरू बनाउँदा खपाउ काठको रूपमा प्रयोगमा आउने भएकाले यिनलाई ठूलो हुन्जेलसम्म हुर्काउने चलन छ। घरेलु प्रयोजन अनुसार कुनै चिलाउनेका बोट राम्ररी बढ्न नपाईकन पनि काटिन्छन् त कुनै निकै ठूलो हुञ्जेलसम्म पनि जोगाएर राखिन्छ र निकै काठ आउने भएपछि मात्र आराले चिरेर दलिन, झ्याल, ढोका आदि आवश्यकता अनुसारका काठ तयार गरी प्रयोगमा ल्याइन्छ।

चिलाउने चाम्रो काठ। चुर पसेको चिलाउने त अग्राखै जस्तो। बलियो काठ भएकाले गाउँघरमा सिपालु सिकर्मीहरूबाट यसको हलो, जुवा, हरिस, दाँदे, लिँडुल्को जस्ता कृषि औजारहरू पनि बनाइन्छ। अझ घरको प्रत्येक तलाको मध्ये भागमा त वारपार चिलाउनेकै निदाल लगाउने चलन छ। गाउँमा कसैले ढुङ्गामाटोको घर बनाउँदा निकै परपरदेखि समेत ताछतुछ पारेको सिङ्गै चिलाउने बोकेर घर ल्याउनमा सहयोग गरिदिन्थे गाउँलेहरू। निदाल निकै ठूलो भए त गरालै पनि लाउनु पर्थ्यो। अलिक सानो भए बलिया–बाङ्गाहरूले सिधै काँध हाल्थे। फेरि अर्को बलियाले पालो दिन्थ्यो। अरूहरूले बीचबीचमा होस्टेमा हैंसे थप्थे। मजस्ता ज्यान पनि नभाका बल पनि नभाका अलिक ठग्नेहरूचाहिं अरू मान्छेको बीचमा पसेर पूरै आफूले नै थामेको जस्तो गरी मरीमरी कन्न थाल्थे। जो ठग्छ उसैले ‘हैंसे–हैंसे’ र ‘बल देऊ भिउसिन’ भन्दै जोड–जोडले कराउँथ्यो।

चिलाउनेको काउछो  साह्रै मापाको। जिउमा लाग्यो भने चिलाएर हैरान। छालामा लाग्नासाथ अतिशय चिलाउने यही काउछोको विशेषताले नै होला यस रूखको नाम चिलाउने रहेको।

चिलाउनेको अवगुण भनेको यत्ति हो। नत्र, यसका अरू सबै गुणैगुण। चिलाउनेका सेउला खसी–बाख्राका लागि अत्यन्त उपयोगी। वसन्तको बेला चिलाउनेको सेतो फूल त्यस्तै मनमोहक। केटाकेटी बेला सुकेका चिलाउनेका दाना भुईंमा फननन घुमाउँदै भुरुङ खेल्दाको मजा त झन् बयान गरी साध्य छैन।

चिलाउनेका दाउरा उखपातै खरा। निकै समयसम्म पनि आगो रहिरहने। यसको रापैले मात्र पनि भात–तिहुन मजाले पाक्ने। त्यसैले जाडो याममा गोठ बसेका बेला बुढाहरू चिलाउनेका ठूलाठूला मुडा खोजेर ल्याउँथे र आफू सुत्ने ठाउँ नजिकै अगेनामा जोत्थे। मान्छे मात्र होइन, छेउमा बाँधेका बाछा–पाडा पनि यसको रापले जिउ तताउँथे।

धार्मिक, सांस्कृतिक दृष्टिले पनि चिलाउनेको महत्त्व उत्तिकै छ। कतिपय खस–आर्यहरूको कुलपूजामा चिलाउनेको रूख अनिवार्य मानिन्छ। चिलाउनेको रूखलाई बीचमा पारेर कुलपूजाका लागि मण्डप बारिन्छ।

बारीका पाटाहुँदि चिलाउने। वनपाखाहुँदि चिलाउने। गाउँघरमा जताततै चिलाउने। चिलाउनेको रूख बहुउपयोगी भएको र ग्रामीण जीवन तथा कृषिकर्ममा मान्छेसँग यसको अभिन्न सम्बन्ध रहेको हुँदा उहिल्यैदेखि चिलाउनेको नामबाट थुप्रै लोकगीत पनि बनेका छन्।

चिलाउनेको हलो–जुवा बिलाउनेको सैला,

सँगै जन्मिऊ सँगै हुर्किंऊ सँगै जाऊँ है पोइला।

फूल चिलाउनेको/लाइराखौं माया दिल मिलाउनेको।  

हाम्रो घरैनिर पल्लाघरको घर। पल्लाघरको घरपर्तिर मतानको घर। मतानको घर अलिपर्तिर सिरानघरको सानो पहरामुनि थोरै भिरालो परेको बाँझो पाखोमा एउटा चिलाउनेको रूख।

मैले जान्दादेखि नै त्यो चिलाउनेको रूख त्यहीं छ।

रूख बाङ्गो छैन। सिधा आकाशतिर गएको छ। भनिन्छ, ‘मान्छेहरूले काठको लागि सिधा रूख मात्र रोज्छन्। बाङ्गो छोड्दिन्छन्।’ तर, यो रूख सिधा भए पनि मान्छेबाट काटिनुपरेको छैन। आजसम्म जोगिएको छ। सिङ्गो रूख नकाटिए पनि झ्याम्म परेको भने छैन यो रूख। किनकि यसका हाँगाबिँगाचाहिं दाउराका लागि बर्सेनि छिमलिन्छन्।

जे होस् यो चिलाउनेको रूख उहिल्यैदेखि अविचल छ। यसका वरिपरि अरू रूखविरुवाहरू छैनन्। कुनै उत्सवमा गाडिएको लिङ्गजस्तो एक्लै ठिङ्ग उभिएको उभियै छ। उति साह्रो फैलिन नपाए पनि स–साना हाँगामा चराहरू आउँछन्। गीत गाउँछन्। नाच्छन्। रूखका टुप्पामा बसेर कागले हरेक वर्ष गुँड लाउँछ र बचेराहरू हुर्काएर लैजान्छ।

यो चिलाउनेको रूखमुनि दुई–तीनवटा फराकिला ढुङ्गाहरू छन्। पहिला त अझ निकै ठूला थिए तर घर बनाउनेहरूले फुटाएर लैंजादा केही होचा र साँघुरा भएका छन्।

यसको वरपर सानैदेखिको खेलखोर हो हाम्रो। मतानको काजी, पल्लाघरका रामजी, सिता ऊबेलाका बालदौंतरी मेरा। म तिनैसँग खेल्न त्यो चिलाउनेको फेदतिर जान्थें।

चिलाउनेको फेदमा हामी ढुङ्गाले बारेर सानो घर बनाउँथ्यौं। रूखको सेउला भाँचेर छानो हाल्थ्यौं। छेस्काका मान्छे बनाएर घरभित्र राख्थ्यौं। ढुङगाका भाँडामा माटाको भात–तिहुन पकाएर खान दिन्थ्यौं। आफू पनि खाएजस्तो गर्थ्यौं।

चिलाउनेको फेदमा हामी कहिले सिन्कीधुलो खेल्थ्यौं। कहिले गट्टी खेल्थ्यौं। बेला–बेला रूख चढ्ने प्रयास गर्थ्यौं। माथि जान नसकेपछि सुल्किंदै तल झर्थ्यौं। चिलाउनेको खस्रो बोक्राले भुँडीभरि दछार्थ्यौं।

हामी केटाकेटीका लागि यो चिलाउनेको रूखको आकर्षण भनेको सुकेर भुइँमा झरेका यसका दाना हुन्। हामी तिनै दाना बटुल्थ्यौं गोजीभरि अनि लामो भेट्नो भाँचेर ठिक्क बनाएपछि बुढी औंला र माझी औंलाले चेपेर चुड्की पारे जसरी भुइँमा छोड्दा दानो कलात्मक तरीकाले फननन घुम्थ्यो। भुइँमा फननन घुमेको दानो हेरेर हामी चकित पथ्र्यौं। यसरी भुरुङ खेल्दा जसले बढी घुमाउँछ उसैले जित्थ्यो।

खेल्दाखेल्दै हामी घरि ढुङगामाथि बस्थ्यौं। घरि चौरहुँदि लडीबुडी गथ्र्यौं। दिसा–पिसाव जता गरे पनि खुला। वरिपरि बसेर दिसा गरिसकेपछि तिनै ढुङ्गामाथि चाक रगड्थ्यौं। दिसा पुछेको भनेको त्यही हो। पानीले धुन त परै जाओस्,सेउलाले पुछ्न पनि आउँदैनथ्यो ऊ बेला। कि साना–साना ढुङ्गाले पुछ्ने कि अलि ठूला ढुङ्गामा बसेर चाक रगड्ने। त्यसपछि माटामा खेलेको धुस्रेफुसे्र ज्यान लिएर घर गएपछि हात पनि नधोई खपाखप भात खाने। यसैगरी बित्यो हाम्रो बाला जोवान। जे गरो त्यसैमा खुसी। त्यसैमा आनन्द। सभ्यता, ज्ञान, चेतना भन्ने कुरा त समयक्रममा बिस्तारै सिकिंदै जाने कुरा रहेछन्। यी सबै कुरा नजानीकनै निस्फिक्री ढङ्गको त्यो प्राकृतिक जीवन कति मीठो!

त्यो चिलाउनेको रूखैनिर पाँचवटा बाटा जोडिन्छन्। पश्चिमतिरका दुइटा बाटामा एउटा हाम्रो घर, मतानको घर र त्यहाँबाट पनि उँधो जाने बाटो। एउटा अम्बर, नवराज केसीकातिर तेर्सिएको बाटो। उत्तरतर्फ सिरानघर, च्यानडाँडा, माथ्लो स्कूल हुँदै दिक्तेल निस्किने बाटो। पूर्वतिरका दुइटा बाटामा एउटा चौबीसे–बाह्र बीसे र तिर्पालीका घरतिर जाने बाटो। एउटा आइतबारे खोल्सो हुँदै बाँझे–सिउरामे र भुजेलडाँडो निस्किने बाटो।

केटाकेटी उमेरदेखि खेलेहुर्केका ठाउँहरू पछिसम्मका लागि पनि प्रिय बन्दा रहेछन्। किनकि एक किसिमले त्यो ठाउँमा नजानिंदो ढङ्गले रस बसिसकेको हुन्छ। त्योसँग जोडिएका हरेक क्रियाकलाप र सम्बन्धहरू मनको अचेतनमा गहिरो गरी बास बसिसकेका हुन्छन् र ती बेला–बेलामा आँखा अगाडि झुल्किन आइपुग्छन्।

ठूलो भइसकेपछि पनि चिलाउनेको रूख वरपरको त्यो सानो परिवेश मेरा लागि प्रिय बनिरह्यो। चिलाउनेको रूखसँगको दौंतरी सम्बन्ध प्रगाढ बनिरह्यो।

गाउँमा छँदा म प्रायः हरेक दिन घाम अस्ताउने बेला त्यो चिलाउनेको रूख नजिकैका ढुङ्गामा गएर बस्थें। पारि जुरेथुम्काबाट घाम अस्ताएको हेर्थें। अहिल्यै उडेर जाऊँजस्तो जुरेथुम्कापारि खााम्तेलको मावलीगाउँ। दिखुवापारिका बुइपा–बसेरी, यतापट्टि सेरागाउँ, वनपाला, रातडाँडो, फलाँटे, कुइभीरढुङ्गा, खानीडाँडा, डाँडाखर्क लगायतका ठाउँहरू मजैले देखिन्थे त्यो चिलाउने पाखाबाट। मेरा हातमा प्रायः एउटा किताब सधैं हुन्थ्यो। कहिले गाउँमा उपलब्ध हुने उपन्यास र कथाका किताब। कहिले क्याम्पसका कोर्सका किताब। घरि किताब र घरि वरपरका दृश्यहरू हेर्दै समय गएको पत्तै नहुने। किताब पढ्न या साँझपख टहलिनको लागि म त्यो चिलाउनेको रूखभन्दा पनि अझै परपरसम्म जान्थें। आइतबारे खोल्सोवर्तिरको सिरानघरको बारी, तिर्पालीका घरमाथिको खरपाखो, रातोघर पछाडि बाँसझ्याङनिरको ढुङ्गो, रातोघरमाथिको सिउरामे डाँडो यी ठाउँसम्म पुग्थें म र प्रकृतिको त्यो एकान्तमा बेस्मारी रमाउँथे। बाँसका झ्याङ, खनिउँ, बडहर, पटमिराका रूखहुँदी चराहरू बास बसेको हेर्थें। चिरबिराएको सुन्थें।

पछिसम्म पनि गाउँघरमा छुट्टै शौचालयहरू थिएनन्। साँझपख त्यतै बारीका भित्ता, पाखा र अलि ठूला ढुङ्गामा बसेर पारितिर हेर्दै दिसा बस्नु र धुर्सुलको पातले पुछ्नुको मजा त झन् बेग्लै छ।

जुनेली रातको बेला आकाशको टहटह जून हेर्दै निकै अबेरसम्म म त्यतै हुन्थें। कति राम्रो घर–आँगन, बारीका पाटा र पाखा–भित्ताहुँदि पोखिएको जून! कति मनोहर रूखका पातहुँदि टल्किएको चाँदनी!

‘ए बाबुराम! भात खान आइज है!’ आमाले निकै चोटि बोलाइसकेपछि मात्र म त्यहाँबाट उठ्थें र गुन्गुनाउँदै घरतिर लाग्थें। पछि रञ्जना, रमिला अलि ठूला भएपछि भने आमालाई पालो दिन थाले। ‘ए बुबा! भात खान आउनु हरे होई!’ उनीहरू घरदेखि बोलाउँदै–बोलाउँदै पल्लाघर र मतानका घरसम्मै आइपुग्थे।

रूख–बिरुवाको प्राकृतिक जीवनचक्रले मान्छेको जीवनमा महत्त्वपूर्ण सन्देश लिएर आएको हुन्छ। फरक यत्ति हो कि मान्छेले त्यसलाई कसरी ग्रहण गर्छ। बुझ्छ या बुझ्दैन।

हेर्दाहेर्दै बतासको झोक्कासँगै चिलाउनेका पातहरू झर्न थाल्थे। बिस्तारै–बिस्तारै रूख नाङ्गिएर उजाड शिशिरमा उदास देखिन्थ्योे। समय सधैं एउटै अवस्थामा किन रहन्छ र! प्रकृतिको लय फेरिएसँगै वसन्तको बेला नयाँ चिउला उमारेर फेरि जवान बन्थ्यो चिलाउने। शरीरभरि बैंसालु फूलहरू फुलाएर हरेक वसन्तमा मुस्कुराउने  गर्थ्यो ऊ। कताकताबाट चराहरू फेरि रमाउँदै आउँथे। डाली–डालीमा बसेर गीत गाउँथे। फूलहरूमा दाना लाग्थे र परिपक्व भएपछि उसैगरी भुइँमा झर्थे।

ऋतुहरू फेरिएसँगै त्यो चिलाउनेको रूख वरपरका बारीहुँदि विभिन्न बाली लाग्थे। वैशाख जेठमा मकैका लहलह विरुवा, असारतिर धानचामर लागेका अग्ला बोट र त्यसपछि घोगा लागेका मकै। साउन–भदौतिर मकैका बाली भित्र्याएर टुप्पा थन्क्याएपछि कोदो रोप्ने बेला हुन्थ्यो। दसैंको बेला पूmल खेल्दै गरेको कोदो, बारीका डिलहुँदि फिंजिएका बोडीका लहरा र बारीका कान्लामा लरक्क लर्केको बाबियाले गाउँघर शोभायमान देखिन्थ्यो। कात्तिक–मङ्सिरमा कोदाका बाला टिपेर नल थन्क्याइसकेपछि भने चार–पाँच महिनाजस्तो बारी बाँझै हुन्थ्यो। बाँझो बारीमा हामी वस्तुभाउ चराउँथ्यौं। अलि ठूला गराहुँदि गोरु जुधाउँथ्यौं। कति मजा ‘होक्काँ....होक्काँ...!’ गर्दै गोरु जुधेको हेर्न। जुध्ने गोरुहरू प्रायः सिङ फुक्लिएर रगताम्मे हुन्थे। ‘हरूवा गोरु छेरुवा दाउ!’ हारेको गोरु छेर्दै भाग्थ्यो भने जित्ने गोरु अझ ‘होक्काँ...होक्काँ..!’ गर्दै र धुलो उडाउँदै अगाडिका दुइटै गोडाले पालैपालो छाती पिट्थ्यो।

गोरु जुधाइको प्रसङ्गमा ऊ बेलाको एउटा घटना अहिले पनि सम्झन्छु।

हिउँदको बेला एक दिन दिउँसो म सधैंझैं गोरु चराउन हिंडे। त्यही चिलाउनेको रूख अलि तल्तिरका गराहरूमा अरिंगाले र सिंदुरे गोरु चर्न थालेकाले म चिलाउनेको फेदमा बसेर युधिर थापाको उपन्यास पढ्न थालें। एकछिनपछि मतानका दाइले पनि आफ्ना वस्तु फुकाएर त्यतै लिएर आए। उनको गोरुलाई देख्नासाथ हाम्रो अरिंगाले गोरु ‘होक्काँहोक्काँ’ गर्न थाल्यो। नभन्दै दुइटा गोरु बारीका पाटामा धुलो उडाएर जुध्न थाले। हाम्रो गोरु ठूलो। मतानका दाइको अलिक सानो तर जब्बर। अरिंगालेले उनको गोरुलाई मार्न आँट्यो।

मतानका दाइले पनि छुट्याउन सकेनन्। उनले मलाई गुहार्न थाले। म सानो गाँठीको मान्छे, छेउमा गएर छुट्याउन सकिने अवस्था थिएन। गोरुले किचेर मार्लान् भन्ने डर। मैले चिलाउनेमुनिबाट यत्रो ढुङ्गो टिपेर अरिंगाले गोरुलाई हानेको त गोरुलाई नलागी मताने दाइको नलीखुट्टैमा पो परेछ। ‘मारिस् नि बजिया!’ मतानका दाइ थचक्क भुइँमा बसे। म डराएँ। उनका नलीखुट्टाबाट भल्भल रगत बगिरहेको थियो। एक छिनमा गोरु पनि छुट्टिए। मतानका गोरुले हार्‍यो। हाम्राले जित्यो। उता मतानका गोरुको सिङ फुक्ल्यो। यता मताने दाइको नलीखुट्टो फुट्यो।

‘आँखा ता हेर्नुपर्छ नि!’मतानका दाइ मतिर हेरेर खुट्टो समात्दै कराउन थाले। ‘गल्ती गरें दाइ! जानिनँ’ भन्दै मैले वनमारा माडेर उनका खुट्टामा लाइदिएँ। ढुङ्गाले हानेको प्रायश्चित गर्न त्यसको लगत्तै शनिबारे हाटको दिन मतानका दाइलाई दिक्तेल लगेर दामलीको होटलमा दुइटा च्वाइँरोटी, एक प्लेट आलुका चाना र एक कप चिया खुवाएँ। मैले पनि त्यत्ति नै खाएँ।

मैले निशाना ताकेर सिधा हान्न कहिल्यै जानिनँ। पल्लाघरका रामजी, हिमाल, खिला कान्छो परबाटै ढुङ्गाले हानेर जाँ भनो ती लाउँथे। ग्याँटिस त के ढुङ्गैले हानेर चरा मार्थे तर मैले कहिल्यै सिधा हान्न जानिनँ। एकतिर हान्यो अर्कातिर लाग्थ्यो। उनीहरूसँग खोप्पी, ढुस खेल्दा पनि जहिल्यै हार्थें। ‘ओफ’ खेल्दा कपडाका बलले ढुङ्गाका खापलाई छुन त परै जाओस् मान्छेलाई छुवाउन समेत हम्मे पथ्र्यो 

मलाई। डण्डीबियो खेल्दा त्यस्तै। भल्ने खोपिल्टामा राखेको डण्डीलाई परबाट बियोले ताकेर हानें भने काँ पथ्र्यो काँ। कहिलेकाहीं त मान्छेका टाउकैमा लाग्थ्यो।

गोरु जुधेका बेला ठ्याक्कै त्यस्तै भो। ढुङ्गाले गोरुलाई हानेको मतानका दाइलाई पो लाग्यो।

मेरो बालाजोवान, किशोर र जवानीका थुप्रै दिन मैले त्यो चिलाउनेको रूख र वरपरको परिवेशमा बिताएँ। यो बेलासम्म सेराखोलामा धेरै पानी बग्यो। बुढा–पुरानाहरू थुप्रै बिते। गाउँलेहरू कति बसाइँ हिंडे। डोजरे विकासको आतङ्क गाउँगाउँसम्म पुग्यो। जताततै बाटैबाटा। यही बाटाले गर्दा बारीका पाटा र पाखाभित्ताका थुप्रै रूख ढले। बिरुवाहरू मासिए। आज चराचुरुङ्गीको गानाभन्दा पनि मोटरसाइकल र गाडीका कर्कश आवाजहरू बढी सुनिन्छ गाउँमा। मान्छे प्रकृतिसँग होइन प्रविधिसँग रमाउन थालेको छ। रूखको फेद, वरपीपल चौतारी या नदी किनारमा बसेर प्रकृतिको लयमा आफूलाई समाहित गर्न बिर्सन थालिसकेको छ मान्छेले।

हिजोका बालदौंतरीहरू त आज कहाँ पुगे। म कहाँ पुगें तर पनि, त्यो चिलाउनेको रूख त्यहीं छ। अझै ढलेको छैन। अझै पालुवा फेरिरहेकै छ। पूmल फुलाइरहेकै छ। चराहरूलाई आश्रय दिइरहेकै छ। आजकल म शहरबासी भए पनि बेलाबेला गाउँ जाँदा त्यो चिलाउनेको फेदमा एकछिन बस्ने गर्छु। त्यो बाँझो चहुर र ढुङ्गाहरूमा बसेर ऊ बेलाका रमाइला क्षण सम्झने गर्छु। वारिपारि हेर्दै गीत गुन्गुनाउने गर्छु । जुनेली रात भए त झन् हुरुक्कै हुन्छु।

पात झर्दैमा केही हुँदैन। पर्खनुपर्छ। जीवनमा घुम्दै–फिर्दै वसन्त फेरि आइपुग्छ। प्रचण्ड गर्मी, कठ्याङ्ग्रिने जाडो, हुरीबतास र असिना–पानीदेखि आत्तिन हुँदैन। यसले मान्छेलाई अझ  दह्रो बनाउँछ। दुःख खप्न सक्ने बनाउँछ। एक्लै भएर केही हुन्न,अडिग भएर उभिन सक्नुपर्छ।

त्यो चिलाउनेको रूखले मलाई सिकाएका जीवनमन्त्रहरू हुन् यी।

म जन्मिएर माटोमा खेल्न थाल्दा

त्यो चिलाउनेको रूख उत्रै थियो।

कति काटिए उसका हाँगाहरू

कति निमोठिए पालुवाहरू

कति खप्यो उसले घामपानी र हुरीबतासहरू।

म बाँचेर पनि कतिचोटि मरें

मरेर पनि कतिचोटि बाँचें।

मलाई थुप्रै मृत्युहरूका माझ

नमर्न त्यसैले सिकाएको हो।

कति आर्तहरू खपेर जीवनका अँध्यारा गर्तहरूभित्र

हाँसेर बाँच्न उसैले सिकाएको हो।

(प्रस्तुत कवितांश लेखकको कविताकृति ‘साँझमा पहिलो तारा’ भित्रको ‘बूढो चिलाउनेको रूख’ बाट लिइएको हो)

–२०७८ माघ १०, नारानथान

प्रकाशित: २० फाल्गुन २०७८ ०७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App