१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

मातृ वात्सल्य

लघुकथा

त्रिविक्रम पाण्डे

राति साढे एक बजे अकस्मात फोन आउँछ। छोराले फोन उठाउँछ त आमा बोल्छिन्,‘शुभ जन्मोत्सव छोरा!’

छोरो रिसाउँदै आमालाई भन्छ, ‘भोलि बिहानै फोन गरे भइहाल्थ्यो नि। यति राति मेरो निद्रा किन बिगारिदिएको?’

यति भनेर उसले फोन काटिदिन्छ। केहीबेरपछि फेरि उसलाई बुवाको फोन आउँछ। छोरो बुवाप्रति रीस दर्शाउँदैन, बरु भन्छ, ‘बिहान फोन गरेको भए हुन्थ्यो।’

अनि बुवा भन्छन्,‘मैले तिमीलाई यसकारण फोन गरें, तिम्री आमा बहुलाएकी छन् जो तिमीलाई यति राति फोन गर्छिन्। हुन त उनी आजभन्दा २५ वर्ष अगाडि नै पागल भएकी थिइन्। जब उनलाई डाक्टरले शल्यक्रिया गर्न भन्यो अनि तर उनले मानिनन्। बरु उनी मर्न तयार भइन् तर तिमीलाई असर पर्ला भनेर शल्यक्रिया गराइनन्।

त्यही राति साढे एक बजे तिमी जन्मिएका थियौ। त्यो दिन साँझ ६ देखि राति १ साढे एक बजेसम्म उनी कडा प्रशव पीडामा संघर्षरत थिइन् तर तिम्रो जन्म हुनेबित्तिकै उनले ती सारा पीडा बिर्सिदिइन्। उनको हर्ष अनि खुसीको सीमा रहेन। तिमी जन्मनुअघि नै डाक्टरहरूले सहीछाप गराएका थिए, कुनै केही अप्रिय घटना घटेको खण्डमा उनीहरू जिम्मेवार एवं जवाफदेही हुने छैनन्। यसरी तिमीलाई आज उनले वर्षौंपछि एकचोटि आकस्मिक रूपले फोन गरिन् त तिम्रो निद्रा खलबलियो। मलाई पनि उनी यसैगरी हरेक राति साढे एक बजे जगाउँछिन् र भन्छिन्, ‘हाम्रो छोराको जन्म यही समयमा भएको थियो। मात्रै यति भन्न मैले फोन गरेको हुँ...’ भन्दै बुवाले फोन राखिदिए।

छोरो दुःखी बन्छ र बिहानै घर गई आमाको खुट्टा ढोगेर माफी माग्छ तब आमा भन्छिन्, ‘हेर्नोस् त मेरो बाबु आयो।’ 

अनि छोराले बुवासँग पनि माफी माग्छ त बुवा भन्छन्, ‘आजसम्म यिनी भन्थिन्, हामीलाई कुनै चिन्ता छैन। हाम्रो चिन्ता गर्ने हाम्रो छोरा छ तर छोरा अब तिमी गइहाल। म तिम्री आमालाई भनुँला, कुनै चिन्ता नलेऊ। पहिले जस्तै अब पनि म सधैं तिम्रो ख्याल राखुँला।

तब फेरि आमा भन्छिन्, ‘भइइहाल्यो नि, माफी दिनोस्, छोरा न हो...!’

प्रकाशित: १९ फाल्गुन २०७८ ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App