१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

पिण्ड

लघुकथा

त्रिलोचन ढकाल

धनिरामको घरमा पुरेतको आगमन भयो। उनी कुर्ता, पाइजामा, ज्वारीकोट र टोपीमा थिए। काँधमा पहेंलो रङको रुमाल पनि भिरेका थिए।

धनिरामले घरको छतमा स्वागत गरे। उनलाई यज्ञ स्थापना गर्ने ठाउँ तोकिदिए। पुरेतले यज्ञ स्थापना गर्नु स्वाभाविक थियो। उनले भने, ‘बाबु! मेरो काम गरें। अब तिमी पनि आऊ!’

धनिरामले टोपी उतारें। भेस्ट र कुर्कुच्चा सम्म पुग्ने गरी धोती धारण गरे। दक्षिण दिशातिर फर्के। मृत्युको आश्रय पाइसकेका बाआमा लगायत तिन पुस्ता, नातापाता र गुरु शिष्य आदिलाई सम्झे। तर्पण गरे। पिण्डदान पनि भयो।

पुरेतको आदेश आयो, ‘गाईगोरु छैनन्। पिण्ड नदीमा सेलाएर आऊ!’

धनिराम द्विविधामा परेको देखियो। आसपासमा बाग्मती, विष्णुमती, मनोहरा, हर्पन आदि नदी थिए। ती सम्झँदा उनलाई वाक्क होला जस्तो भयो। पुरेतले कुरा बुझिहाले र भने, ‘जहाँ पानी बग्छ,त्यहीं नदी हो। तिम्रो घरको छतमा पानीको धारा रहेछ। त्यहीं सेलाएर आऊ!’

धनिरामले पिण्ड लगेर पानीको धारामुनि राखिदिए। उभिन्नेबित्तिकै उनले देखे– दुई कागले लुछालुछ गरेर खाइसकेका थिए पिण्ड।

उनले भने, ‘गुरुजी, पितृहरूले पिण्ड खान्छन् त?’

‘खोई बाबु! मृत्युवरण गरेकाले आएर भनेका पनि छैनन्, जीवितहरूले गएर देखेका पनि छैनन्।’

प्रकाशित: ९ फाल्गुन २०७८ ०७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App