अप्सरा भट्टराई
हामी ब्यूटीपार्लर जाँदै थियौं। जिजु बुबा आउँदै गरेको नातिले देखेछ। मेरो टाउको सारीको आँचलले उसले छोपिदियो। हामीलाई हतार थियो। त्यसैले छलेर हिंड्यौं। साथीको नातिको व्रतबन्धको निम्तो थियो। हामी त्यहाँ पुग्यौं।
बटुककी हजुरआमा निकै झकिझकाउ थिइन्। जग्गेको छेउछेउमा डालाहरू सजाइएका थिए। ठूलो नाङ्लोमाथि चाँदीका पाथी र मानामा चामल भरिएका थिए। त्यसमाथि खुद्रा पैसा जनै सुपारी राखेर सजाउँदै थिइनँ। निम्तारुहरू आउँदै थिएँ।
मेरा देउरानीहरू पनि आएका रहेछन्। सँगै बस्यौं। बात मार्दै भिक्षाका सामान किस्तीमा मिलायौं। मौका पाउँदा उनीहरूले मसँग गुनासो पोखे, ‘ससुरा र जेठाजुलाई कपाल छोपेर मात्रै आदर गरेको हुन्छ र दिदी? जमाना कहाँ पुगिसक्यो। परिवर्तन भनेको हामीले घरबाट नै सुरु गर्नुपर्ने हैन र?’
मैले भनें, ‘हेर न! लागेको बानी थाहै नपाई म त छोपिहाल्दिरहेछु। अब तिमीहरूले जस्तै म पनि छोप्दिन नि है।’
मेरा कुरा सुनेर उनीहरू खुशी भए।
उसैबेला ससुरा बुवा पनि टुप्लुक्क आइपुग्नुभयो। देउरानीले हत्त न पत्त मेरो टाउको छोपिदिइन्। मलाई अगाडि लगाइन्। हामी बुवाको अगाडि पुग्यौं।
बुवाले हाम्रो परिचय आफ्नो साथीसँग गराउनुभयो। अहिलेका जमानाका बुहारी भएर पनि पुरानो संस्कार कायम राख्न सकेकोमा उहाँले बुवालाई बधाई दिनुभयो। हामीलाई पनि आफ्नो छोराका लागि वधू खोज्ने जिम्मेवारी सुम्पिनुभयो।
हामी त्यहाँबाट हिंड्यौं। देउरानीहरूलाई कोही नभएको अवसर पारेर सोधें, ‘यत्रो खर्च गरेर बनाएको कपाल तिमीहरूले पनि छोपेछौ त। तिमीहरूलाई के भयो आज?’
सानी देउरानीले भनिन्, ‘ससुरा बुबालाई देख्दा सासू आमाको अन्तिम वचन सम्झिएँ दिदी! त्यसैले मैले सबैको कपाल छोपिदिएको!
उहाँले सधैं भन्नुहुन्थ्यो,‘परिवारमा एकता भयो भने कसैले पनि हेप्दैनन!’
प्रकाशित: ५ फाल्गुन २०७८ ०५:२९ बिहीबार