२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

लोकराज भट्टको उपन्यास ‘छाइल’ आउँदै

डोटीका लेखक कवि लोकराज भट्टको उपन्यास ‘छाइल’को आवरण सार्वजनिक गरिएको छ। डोट्याली सभ्यताको सुगन्ध दिने उपन्यास ‘बुक्स हिमालय’ले प्रकाशन गर्न लागेको हो। काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा प्रकाशक पवन शाक्य, उपन्यासकार लोकराज भट्ट र सम्पादक राजकुमार बानियाँले आवरण लोकापर्ण गरेका छन्।

‘जीवनमा धेरै किताब सम्पादन गरें। पढ्दा आनन्द आएका थोरै किताबमध्ये ‘छाइल’ एक हो’, सम्पादक बानियाँले भने, ‘यसमा वास्तविक अर्गानिक स्वाद छ।’ 

युवा पुस्ताले पढ्नै पर्ने उपन्यासका रूपमा छाइल आउन लागेको उनले बताए। ‘कथा युनिक छ। मिठो भाषाशैली र नविन परिवेशले तानिरहन्छ’, उनले भने, ‘पढ्न थालेपछि बिचमै छोड्न मन लाग्दैन।’

डोट्याली भाषाको शब्द ‘छाइल’को अर्थ हुन्छ–छाया। यस उपन्यासमा सुदूर पश्चिम प्रदेशको डोट्याली सभ्यताका छाया र प्रतिछाया सलबलाएका छन्। यसमा पुर्खाको संस्कृति, रहनसहन र स्वाभिमानको छाइललाई उजिल्याउने जर्मको गरिएको छ।

कार्यक्रममा सुदूर पश्चिमका सांस्कृतिक अध्येता एवं कवि हेमन्त विवशले ‘छाइल’ नेपाली साहित्यमा कोसेढुंगा बन्ने विश्वास व्यक्त गरे।

‘सुन्दर शब्दशिल्पका कारण पहिलो पानादेखि अन्तिम पानासम्म कतै रोकावट छैन। संवाद सूक्तिमय छन्’, विवशले भने, ‘यस उपन्यासलाई काव्याख्यान भन्न सकिन्छ।’

उपन्यासमा अनाम गाउँका एक युवाको सपना र संघर्षको हृदय पगाल्ने कथा छ। जीतुराजको बाल्यकाल र किशोरकाल हुँदै युवाकालसम्म उपन्यासले फन्को लगाएको छ। शहरमा अनेक हन्डर र ठक्कर खाँदै भौतारिएको जितु आखिर गाउँको विश्वविद्यालय भर्ना हुने भन्दै किन  फर्क्यो त? उपन्यासमा पाठकले यसको सुखद् समाधान पाउने छन्।

पिता र पुत्रबीचको सम्बन्ध पनि उपन्यासको सुन्दर पाटो हो। यसमा धेरै बाका जिन्दगीका नभनिएका आत्मीय कथा भेटिने छ।

डोटीको केआई सिंह गाउँपालिका, वायलमा जन्मेका भट्टको पहिलो आख्यान पुस्तक हो, ‘छाइल’। अत्यन्त उत्साही र जाँगरिला युवा लेखक भट्टको आख्यान-आगमन आशाप्रद छ।

छाइल ‘बुक्स हिमालय’को पहिलो उपन्यास हो। यसलाई फागुनमै बजारमा ल्याइने प्रकाशकले जनाएको छ।

पर्यटन क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि कार्यरत पवन शाक्यको समूहले पहिलो लकडाउनका बेला स्थापना गरेको बुक्स हिमालयले बालसाहित्य,किशोर साहित्यका साथै नियात्रा, जीवनी, निबन्ध जस्ता विविध विधाको पुस्तक प्रकाशित गर्दै छ।

प्रकाशित: ४ फाल्गुन २०७८ ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App