१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

विरहको बाँसुरी

पश्चिमा प्रेम दिवसको मौसम चलिरहेको छ। यसबीचमा कैयौँ चकलेट बाँडिए, कैयौँ गुलाब कुल्चिइए, कैयौँ प्रस्ताव पारित भए र अधिकांशतः असफल प्रेममा परिणत भए।

असफल प्रेम के हो ? कसरी त्यसले विरह जन्माउँछ र अपराधबोध र विस्मात कसरी सिर्जनशील बन्न सक्छ भन्ने एउटा प्राचीन कथाले सिकाउँछ। ग्रिसेली मिथकमा एउटा पान नामक देउता छन्। उनी गर्भाधानका देउता हुन्। उनी सक्रिय यौनका पनि देउता हुन्। उनी पूर्वीय कामदेवका पश्चिमेली अवतार हुन्।

मिथकले भन्छ, उनी ग्रिसेली मिथकका सबैभन्दा सशक्त देउता जिउसका नाति तथा हर्मिसका छोरा थिए। उनको जिउ आधा मान्छेको र गोडा भेडाको थियो। मान्छेको टाउकोमा सिङ पलाएको थियो भने कान लामो थियो। पान सभ्य सभ्यताका असभ्य भगवान् हुन्। उनी भेडा गोठाले पनि हुन्। प्रकृतिमा रमाउने तर मान्छेका बीच पनि बस्नैपर्ने बाध्यतामा परेका भगवान् हुन्। रोचक चाहिँ चित्रकला तथा भित्तेचित्रमा उनलाई नग्न अवस्थामा देखाउँदा जहिले पनि ‘उन्मत्त भैरव’को अवस्थामा चित्रित गरिएको पाइन्छ। जबकि अन्य नाङ्गा भगवान्मध्ये कसैको लिंग पनि उन्मत्त देखाइएको पाइँदैन।

अरू ग्रिसेली भगवान्हरू सुन्दर, बौद्धिक र जिम्मेवार देखिन्छन्। पान भने सुन्दर छैनन्। उनी बौद्धिक पनि देखिँदैनन् न त सभ्य व्यवहार नै देखाउँछन्। सम्भवतः यौनजीवनमा मानिस सभ्य हुँदैन भन्ने प्रतीकस्वरूप उनी उभ्याइएका पात्र हुन सक्छन्। 

उनी हरेक सुन्दर चिजप्रति आकर्षित हुन्थे। एकपटक पान चन्द्रमाकी देवीप्रति आशक्त भए। चन्द्रदेवी सेलिन यी असभ्य भगवान्लाई उति मन पराउँदिन थिइन्। त्यसो त उनी आकर्षक नै कहाँ थिए र? तर सेलिनलाई फकाउन पानले अनेकन् उपहार दिए। उनी उपहार चाहिँ ग्रहण गर्थिन् तर प्रणय निवेदन भने अस्वीकार गर्थिन्।

एक रात जङ्गलभित्र एउटा उपहार लिन सेलिनलाई पानले डाके। कस्तो उपहार होला भन्ने जिज्ञासाले सेलिन जंगलको गहिराईमा रात्रिकालमै पुगिन्।

सेलिनका लागि बुनिएको भेडाहरूको ऊनबाट बनाइएको अत्यन्त सुन्दर ओढ्ने थियो। त्यो ओढ्नेको लोभमा सेलिन जङ्गलभित्र छिरिन्। भेडाको छाला ओढेर पान भेडाजस्तै बने र सेलिनछेउ पुगे। नक्कली भेडा बनेका पानले ऊनीको ओढ्ने ओढेका थिए। सुन्दर भेडा ठानेर सेलिनले माया गरिन्। भेडा बनेका पानले सेलिनलाई ढाडमा चढाएर जङ्गलको सयर गराए र अन्ततः प्रणय निवेदन स्वीकार गर्न बाध्य पारे।

आफ्नो कुरा मनाउन जस्तोसुकै काम गर्न पछि नपर्ने पानको यो बानी प्रायः सबैलाई थाहा थियो। एक त कुरूप देउता, त्यसमाथि कामदेवका अवतार, त्यसैले प्रायः कसैले रुचाउँदैनथे। त्यसमाथि सभ्यता त उनीबाट कोसौँ टाढाको अपेक्षा गर्नुपर्थ्यो। पानलाई आफ्नो शक्ति थाहा भयो, मैले जोडबल गरेर जस्तासुकै अनुपम सुन्दरीलाई हात पार्न सक्छु। उनलाई घमण्ड पलायो।

एक पटकको कुरा हो, पानले सिरिङ्क्स नामक अप्सरा देखे। अर्काडिया क्षेत्रको जङ्गलकी यी अप्सरा जति सुन्दर थिइन्, सिकारका लागि पनि उति नै प्रख्यात थिइन्। एक दिन पानले सिरिङ्क्सलाई सिकारमा जाँदै गर्दा देखे। देख्नेबित्तिकै पान मोहित भइहाले।

त्यसपछि उनले लामो समयसम्म सिरिङ्क्सले पछ्याइरहे। सिरिङ्क्स सधैँ उनीबाट तर्केर हिँड्थिन्। एक दिन भाग्दै गर्दा लाडन नामक नदी किनारमा पानले छोपिहाल्यो। जङ्गलको एकान्तमा उन्मत्त कामातुर पानको पञ्जामा पक्राउ परेपछि बचावटका लागि सिरिङ्सले जिउस भगवान्को पुकारा गरिन्। यो पुकाराबाट द्रवित भएर जिउस भगवान्ले उनलाई काँशको झ्याङ बनाइदिए।

अनुपम सुन्दरी सिरिङ्क्स अचानक काँशको झाडीमा परिणत भएको पाएपछि पान्थियन रिसले चुर भए। उनले काँशलाई टुक्राटुक्रा पारेर काटिदिए। काट्न त काटे तर आफूले गरेको कुकर्मप्रति उनलाई पछुतो लाग्न थाल्यो र रुन थाले। उनले रुँदै आफूले काटेका काँशका टुक्राहरूलाई चुम्बन गर्न थाले। आफ्नो श्वास काँशका डाँठ हुँदै गुज्रँदा सुन्दर आवाजमा परिणत हुन थाल्यो।

त्यही काँशको डाँठ उठाएर उनले साङ्गीतिक बाजा बनाए। विरहमा बजाइएको यो बाजाको धुनले उनलाई शान्ति दिन्थ्यो। उनले यो बाजालाई सिरिङ्क्स नामकरण गरे। समयक्रममा सो बाजा सुन्दर अप्सरा सिरिङ्क्सको नामले भन्दा पनि पानकै नामले चर्चित हुन थाल्यो। अहिले पनि यो बाजालाई ‘पान फ्लुट’ भन्ने चलन छ।

यसरी एउटा अपराधबोध, असफल प्रेमकथाले पानलाई चर्चित पात्र मात्र बनाएन, सर्वसाधारणले मिथकमार्फत उसलाई बचाइरहे।

प्रकाशित: २९ माघ २०७८ ०३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App