२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

आदेश

लघुकथा

देवेन्द्र अर्याल ‘आँसु’

शहरमा लागूपदार्थको कारोबार, चोरी,  दुर्व्यसनर अन्य घटना दिन दुई गुना रात चौगुना बढ्न थाल्यो। ती घटनामा किशोर उमेरका केटाकेटी नै समातिन थालेपछि पुलिसलाई सबैतिरबाट दबाब बढ्यो।

सबैले आआफ्ना पक्षबाट त्यसलाई नियन्त्रण गर्न सक्दो प्रयास गरे तर त्यो सफल हुन सकेन।

टन्न पैसा लिएको तर बालबच्चालाई असल शिक्षा नदिएको भन्दै शिक्षकमाथि अदालतमा मुद्धा पनि दायर भयो।

बयानका लागि शिक्षकलाई अदालतमा उपस्थित गराइयो। कठघरामा उभिएर शिक्षकले जवाफ दिए, ‘किशोरहरू बिग्रनुमा हामी मात्र दोषी छैनौं। सम्बन्धित पक्ष धेरै छन् तर तपाईहरू शिक्षकलाई मात्र किन दोषी ठान्नुहुन्छ?’

‘किनकि तपाईहरूले उनीहरूलाई कुनै नैतिकमूलक शिक्षा दिनु भएन र  त्यसकारण उनीहरूले बाटो बिराउन पुगे। यसमा तपाईहरूकै दोष देखिन्छ।’ न्यायाधीशले जिकीर गरे।

न्यायाधीशको त्यस जवाफमा शिक्षकले आफ्नो उत्तर दिए, ‘हजुर! यसमा हाम्रो के दोष? बेलाबेलामा उपदेश,नैतिक कथा र ज्ञानगुनका कुरा भन्ने गरेका नै हौं तर के गर्नु सरकारले नै नैतिक शिक्षाको पठनपाठन बन्द गराएको छ।’  

शिक्षकको यस्तो जवाफ सुनेर तब तत्कालै न्यायाधीशबाट सम्बन्धित मन्त्रालय र मन्त्रीलाई परमादेश भयो, ‘नैतिक शिक्षा पठनपाठन गर्नू-गराउनू।’

अदालतको आदेशमाथि मन्त्रीले कुनै टिप्पणी गरेनन् खालि उनले ब्रिफकेसभरिको हरियो डलर मात्र सम्झिरहे जुन मोटो रकम नैतिक शिक्षा पठनपाठन नगर्ने आदेशमा उनले प्राप्त गरेका थिए।  

प्रकाशित: २९ माघ २०७८ ०२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App