१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

विद्यालय नाटक महोत्सव फागुन १३ गतेबाट

कोरोना भाइरस संक्रमणको त्रासका कारण रोकिएको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव फागुन १३ गतेबाट सुरु हुने भएको छ। महोत्सव चारदिनसम्म चल्ने आयोजक पोखरा थिएटरले जानकारी दिएको छ।  

यसअघि माघ ११ गतेदेखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिने तय भएपनि कोरोना संक्रमणका कारण रोकिएको थियो। महोत्सवका लागि गण्डकी प्रदेशका ८ जिल्लाका १२ नाटक छनोट भएका छन्। महोत्सवको लागि प्राप्त २४ नाटक मध्येबाट पहिलो चरणमा १६ नाटक छनोट गरिएको थियो। ती मध्येबाट पनि अन्तिम छनोटमा १२ नाटक परेको महोत्सव संयोजक समेत पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए।  

फागुन १३ गतेदेखि १६ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा हरेक दिन ३ वटा नाटकका दरले चारदिन नाटक मञ्चन गरिने उनले बताए। नाटक छनोटका लागि पुस २६ देखि माघ २ गतेसम्म विभिन्न जिल्लामा गएर अवलोकन गरिएको थियो। अन्तिम चरणका लागि उत्कृष्ट १० नाटक छनोट गर्ने भनिएपनि नाटकको प्रस्तुतीका आधारमा थप २ नाटकलाई प्रोत्साहन स्वरुप थपिएको उनले बताए।  

अन्तिम चरणको लागि नवलपुर जिल्लाबाट सबैभन्दा धेरै तीनवटा नाटक छनोटमा परेका छन्। जसमा लिलाबहादुर भण्डारीको लेखन तथा निर्देशनमा कुमारी प्राविको ‘हराएको खुसी, खगराज सापकोटाको लेखन तथा निर्देशनमा त्रिभुवन बाल माध्यमिक विद्यालयको जिम्मेवार को ? र अनामिका सापकोटाको लेखन तथा कमला कँडेलको निर्देशनमा बरचुली माध्यमिक विद्यालयको ‘सक्षम छात्रा’ शीर्षकको नाटक रहेका छन्।

कास्की जिल्लाबाट दुईवटा नाटक छनोटमा परेका छन्। जसमा मनोज अधिकारीको लेखन तथा सोनिया कार्की खत्रीको निर्देशनमा भानुभक्त आवासीय माध्यमिक विद्यालयको शान्तिको अशान्ति शीर्षकको नाटक र सुनिता ज्ञवालीको लेखन तथा निर्देशनमा धर्मस्थली आधारभूत विद्यालयको आरोह अवरोह शीर्षकको नाटक रहेका छन्।  

‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल मन्त्रका साथ आयोजना गरिएको महोत्सवमा गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रमुख सहकार्य एंव नेपाल संगीत तथा नाट्य–प्रज्ञा प्रतिष्ठान काठमाण्डौं र पोखरा प्रज्ञा–प्रतिष्ठान पोखराले सहकार्य गरेका छन्। 

प्रकाशित: २८ माघ २०७८ १०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App