२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

जेठो जुवाइँ

लघुकथा

कोषवल्लभ रेग्मी

‘यही त लाउनु होला नि!’ देवीप्रसादले बाह्र बर्ष पहिलाको बिहेको कोट पुछ्दै भने।

‘खै अर्को जोड्न सकिएन!’ श्रीमतीले मुख बिगारिन्।

‘हुन्छ। यो पनि राम्रै छ, अलि पुरानो त हो। दौरासुरुवाल पनि ऊ बेलाकै छ। यही लाएर जान्छु।’ उनले पुरानो रंग खुइलिएको छाला–जुत्ताको लेस मिलाउँदै भने।

‘ल म हिँडे! ए झोला!’ उनी फर्किए।

‘हिंडेपछि के बिस्र्या होला?’ श्रीमतीले झर्किदै एकपाटो चेन उत्रिएको पुरानो ब्याग दिइन्।

‘अलि खान्दानी जस्तो भएर बस्नु फेरि।’ उनले हिंडिसकेपछि सम्झाइन्।

भदैनीको बिहेको कसारे थियो। देवीप्रसाद पैदलै हिंडेर बेलुकी ५ बजे ससुराली पुगे। त्यहाँको रौनकै फरक थियो। सजिसजावट नै २/४ लाखको अनुमान गरे उनले। पार्किङ गेटमा गाडी र मोटरसाइकलहरूको लाम थियो। मानिसहरू आधुनिक सुटको पहिरनमा ठाँटिएका देखिन्थे। देवीप्रसाद झोला एकातिर राखेर एउटा पुरानो खटियामा बसे। उनको कान्छा सालाले पुलुक्क हेर्यो र उत्ता लाग्यो। कसैले उसलाई, ‘उहाँ को हो?’भनेर सोध्यो।

‘जेठी दिदीको...!’ उसले अलि बिस्तारै बोलेको जस्तो उनले महसुस गरे। भोकले लखतरान थिए। कसैले सोधपुछ गरेन तर पनि उनी उठेर पाकघरतिर लागे।

‘ढोकामा नबस्नुस्।’ कसैले उनलाई उत्ता धकेल्यो। तैपनि उनी जबर्जस्ती भित्र पसे। राजसी खानदान आहा! धेरैबेरको ढुकाइपछि कसैले उनको अगाडि केही खानेकुरा राखिदियो। कतै नहेरी उनले सबै खाए। अझै खाऊँखाऊँ हुँदाहुँदै उठे।

थकित भएकाले देवीप्रसाद ‘कतै ढल्कन पाए हुन्थ्यो’ भन्ने सोचमा थिए। अरू ठूलाबडाहरू गतिला शयनकक्षमा बिराजमान हुँदै उही अनुसारको गफ छाँटिरहेको सुनिन्थ्यो।

‘ए बाबु! कतै यसो ढल्कन पाए त..।’ उनले आँटैले जेठो सालालाई पुकारे।

‘मुमा,जेठो भेनालाई...!’ सालाले आमालाई सुनायो।

सासूले भण्डारकोठा बाहिरको चकटी मात्र बिछ्याइएको खाट देखाइन्।

‘मलाई हुन्छ’ भन्दै देवीप्रसाद देखाएको खाटमा गएर कोट खोलेर सिरानी लगाउँदै ढल्किए। निदाएका थिएनन्। आँखा मात्रै चिम्लिएका थिए उनी।

‘मलाई सबै सन्तोष छ तर यी जेठा–ज्वाइँचाहिं सारै गरिब भए।’ सासूले कसैसँग बोलेको झिनो आवाज उनको कानमा गुञ्जियो।

प्रकाशित: २८ माघ २०७८ ०७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App