२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

निर्णय

लघुकथा

गंगा खड्का

देवेन्द्र ५ वर्षको हुँदा उसकी ममतामयी आमाले संसार छाडिन्। महिलाबिनाको घर अस्तव्यस्त हुँदोरहेछ भन्ने बुझेपछि उसका बाबु दीपकले शर्मिलासँग दोस्रो विवाह गरे। उनी सौतेनी छोरा देवेन्द्रलाई असाध्यै माया गर्थिन्। ऊ पनि शर्मिलाको पुच्छर छोड्दैनथ्यो।

‘नानी आफ्नोतर्फबाट पनि एउटा बच्चा पाउनुपर्छ। पानी तताएर बाक्लो, अर्काको छोराछोरी कहिल्यै आफ्नो हुँदैनन्।’ बिहे गरेको एक वर्ष नि बित्न नपाई माइतीमा आमाले भनिन्।

‘अर्काको बाच्छाबाच्छी चाट्यो मुखभरि रौं। सौताको छोरालाई धेरै नपुल्पुलाऊ है शर्मिला। फेरि भोलिपर्सि टाउकामा टेक्ला नि।’ गाउँभरि शर्मिलालाई यसरी नि उचाल्नेका कमी थिएनन्।

बिस्तारै शर्मिलालाई सौतेनी रोगले च्याप्दै लग्यो। उनी देवेन्द्रलाई देख्नै नसक्ने भइन्। उनको पनि एउटा छोरा जन्मियो। दीपक पनि जोइटिङ्ग्रे हुँदै गएपछि देवेन्द्र आफूलाई एक्लो महसुस गथ्र्याे। उसलाई आफ्नो घर भावनात्मक जेलजस्तै लाग्थ्यो। एक रात  ऊ घर छोडेर भाग्यो।

‘कुच्चाले बढार्नुपर्ने कसिंगर हावा आई उडाइलग्यो।’ शर्मिलाको खुसीको सीमा रहेन।

केही वर्षपछि शर्मिलाका दुवै किड्नीले काम गर्न छाडे। दीपकले उनलाई बचाउन भरसम्भव प्रयास गरे। उनले किड्नी डोनर पनि पाए। शर्मिलाले नयाँ जीवन पाइन्। उनलाई डिस्चार्ज गर्ने दिनमा एक्कासि देवेन्द्र उनको अगाडि देखापर्‍यो।

‘मरी कि बाँची भनेर हेर्न आइस् कि क्या हो?’ शर्मिलाले भनिन्।

‘तिमीले एकपटक किड्नी डोनरसँग भेट्न पाए म त उसलाई पूजा गर्छु भन्थ्यौ। त्यसैले मैले उसलाई बोलाएको। अब पूजा गर्ने वा हिरालाई नचिनेर ढुंगा भनी नदीमा फालिदिने, त्यो निर्णय आफैं गर।’ दीपकले भने।

प्रकाशित: २८ माघ २०७८ ०६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App