२१ मंसिर २०७९ बुधबार
कला

प्रेमहीन प्रेम दिवसका गुलावहरू

कोरियामा नयाँ वर्ष (सलनाल) सुरु भयो। संयोग नै भन्नुपर्छ यो नयाँ वर्षको विदा र भ्यालेन्टाइन एकैपटक पर्‍यो। बजारमा रंगीन माहोल सुरु भइसकेको थियो। कोरोनाको कारणले समूहमा भेटघाट हुन प्रतिबन्ध लगाइएको थियो। लामो समयदेखि नेपाली र हाम्रो गाउँले गुल्मेली साथीरूसँग भेटघाट भएको थिएन।

यसपालिको बिदामा हामीले सउल जाने योजना बनायौं। कारण नेपाली साथीहरूसँग कहिलेकाहीं भेटिंदा पनि घरको नियाँस्रो निकै कम हुन्थ्यो। विप्लव, हरिश, राहुल र म सउल जान तयार भइसकेका थियौं। हामीसँग एउटै कम्पनीमा काम गर्ने कोरियन साथी हान छुङ यङले पनि सउल जाने इच्छा गर्‍यो। ऊ अहिलेसम्म सउल गएको रहेनछ। त्यसो त ऊ पनि कोरोना र कामको चापले निकै नियाँस्रिएको हुँदो हो।

हामी पाँच जनाको टिम वुसान ट्रेन स्टेसनबाट केटिएक्स एक्सप्रेस टेन चढ्यौं। ट्रेन चढेपछि एकमन त रमाइलो लाग्यो। फेरि अर्को मनले आफ्नै देश सम्झियो।

म कोरियाको विकास र आफ्नो देशको राजनीतिक अवस्था देखेर निकै भावुक भएँ। सरकारको ‘सुखी नेपाली र समृद्ध नेपालको नारा नारामा मात्र सीमित रह्यो। 

कोरियाका आकाश छुने भवन। आश्चर्यचकित हुने गरी आकाशमै बनेका नागबेली बाटो। अन्डग्राउनभित्रको शहर। कठै! मेरो देश कहिले होला विकास? कहिलेसम्म बन्ला पूर्वपश्चिम रेलमा जाने वातावरण? कहिले जान पाइएला झापाबाट अछाम? केरुङ, काठमाडौं र पोखरा रेल कहिले चल्ला? मनोरेल चलेर कहिले हट्ला काठमाडौंको दिक्कलाग्दो जाम र धुलो?

चालीसपचास वर्षअघि नेपालले कोरियालाई खाद्यान्न पठाउने कुरा सुनेको थिएँ। अहिले पचासौं हजार बेरोजगार युवा पठाउँछ। कोरिया शहरको विकास र नेपालको अवस्था देखेर दुःखी नहुने नेपाली को होला र?

साथीहरू ट्रेनमै निदाएका थिए। म देशको बारेमा सोच्दै बाहिरको मनोरम दृश्य हेर्दै कतिखेर खुसी हुँदै कतिखेर भावुक हुँदै थिएँ। केटिएक्स एक्पप्रेस ट्रेन सउल आइपुगेछ।

सउल कोरियाको राजधानी हो। हामी पुग्दा साँझ भैसकेको थियो। साँझमा सउल शहर झन् रमाइलो देखिने रहेछ। शहरभरि भ्यालेन्टाइन सप्ताह चलिरहेको थियो। प्रेमिल अँगालोमा बाँधिएका धेरै जोडी देखिन्थे। चाहे लिप्टमा तलमाथि गर्दा होस् चाहे ज्रेबाक्रसको रातो लाइटमा एकछिन पर्खिंदा होस् यिनीहरू एक अर्काको अँगालोमा कसिएर चुम्बन गर्न भियाइसक्थे।

त्यो दृश्य मलाई निकै रमाइलो लाग्यो। प्रेम त यस्तो होस्, जहाँ स्वतन्त्रता होस। कुनै डर नहोस, कुनै बन्धन नहोस्। यिनीहरूको प्रेम आर्दश लाग्यो। हाम्रो देशमा प्रेम गर्न कति धेरै डराउनुपर्छ। अहिले पनि नेपालमा खुलेआम प्रेम गर्ने वातावरण छैन कतिपयले त प्रेम गर्नु अपराध जस्तै मान्छन्।

कतिपय नेपाली जोडीले प्रेमलाई सस्तो खेलौना सोचिदिन्छन्। भावनामा बहकिन्छन् अनि एक जुनी पनि खुसी र प्रेमले नबाँचेका जोडी अर्को जुनीसँगै हुने वाचा गर्छन्।

धेरै प्रेमिल जोडीको हातमा रातो गुलाव थियो। प्राय सबै रेस्टुरेन्टहरू भरिभराउ थिए। एक जोडीले जेब्राक्रसमा बसिरहँदा चुम्बन गरे हान छुङ यङले त्यो दृश्य आँखा नझिम्काई हेरिरहेको थियो।

हामी नेपाली साथीहरू रेस्टुरेन्टमा रमाइलो गर्ने र त्यही बस्ने कुरा भयो। सँगै जोडिएका अर्को डान्सबारमा विदेशीहरू व्यापक देखिन्थे।

युवतीहरू डान्स गरिरहेका थिए। उनीहरूको सस्तो नजर जो कोही माथि सहजै पर्न सक्थ्यो। पनि छिर्‍यौं। साथीहरू मस्त गफिन थाले। हान छुङ यङ भने निकै भावुक देखियो। उसले हाम्रो भाषा बुझ्दैनथ्यो। कुनामा चुपचाप बस्यो। हामीले कहिलेकाहीं बेसरी हाँस्दा ऊ पनि मुस्कुराउने असफल प्रयास गर्थ्यो, तर पटक्कै उसको ओठमा मुस्कान सुहाएन।

नेपाली साथीहरू कोरियन र विदेशी केटीहरूसँग डान्स गर्न थाले। मैले पनि थोरै साथ दिएँ। हान छुङ यङको मधुर अनुहार देखेर मेरो मन खुलेन। शरीर साथीहरूसँग भए पनि मन उसैसँग पुग्थ्यो।

केही समयको रमाइलोपछि खाना खाने बेला भयो। सबैको अनुहारमा तारा चम्केका थिए। तर, उसको मुहारमा ग्रहण लाग्यो।

सुत्ने बेलामा नेपाली साथीहरूले खुब हल्ला गरे। उसले हाम्रो भाषा बुझ्थेन। मलिन अनुहार लगाएर मसँगै बस्यो। मैले कोरियन भाषामा किन निराश भएको सोधें। सुरुमा त बताउन चाहेन। निकै कर गरेपछि उसले आफ्नो कुरा यसरी राख्यो।

मेरो उमेर पैत्तीस वर्ष भयो। अहिलेसम्म म अविवाहित छु। कारण म निम्न वर्गीय परिवारको मान्छे। त्यसो त उसले कोरियामा पनि जातीय भेदभाव रहेको र आफू निम्न जाति रहेको कुरा पनि लुकाएन। ऊ बोल्दै गयो। मसँग चाहे जति सम्पत्ति छैन। केही समय अगाडि म कसैसँग रिलेसनसिपमा थिएँ। उसका लागि प्रशस्त खर्च गर्न नसकेपछि मलाई छोडेर गई। मैले उसलाई आफैंलाई भन्दा बढी प्रेम गरें। उसले मलाई भन्दा बढी पैसालाई प्रेम गरी।

तपाईले यो सउल शहरभरि गुलावको फूल बोकेर हिंडेको जोडी देख्नुभो हैन? त्यो सबै अभिनय हो। कोरियामा वास्तविक प्रेम पाउनु भनेको कहिल्यै नदेखेको मान्छेलाई सम्झनु जस्तै हो।

यहाँ मानवता र आफ्नोपन केही छैन। प्रेम छ त देखावटी छ। यहाँ भावनाभन्दा बढी आर्थिकता प्राथमिकतामा पर्छन्। कोरिया महिला प्रधान देश हो। यहाँ प्रायः पुरुषहरू महिलाको दास जस्तै छन्। नियमकानुन महिलाकै पक्षमा बढी छ। यहाँ कुनै केटीले प्रेम नगरेसम्म केटाको विवाह सम्भव छैन।

म दिनरात काम गर्छु। जेनतेन जिन्दगी चल्छ। काममा थाकेको बेलामा कसैको न्यानो स्पर्शको आश लाग्छ तर कल्पनामा मात्रै सीमित छ। बढ्दो यौवन र अत्यासलाग्दो मनलाई बिसाउन वेश्यालय जानुबाहेक अर्को विकल्प छैन। बोल्दाबोल्दै ऊ अलि भावुक देखिया। काम गर्दा सबैभन्दा बलियो देखिने कोरियनको मुटु कति कमजोर रहेछ।

ऊ बोल्दै गयो–तपाईलाई थाहा छैन होला? कोरिया आत्महत्या गर्ने एसियाकै उच्च स्थानमा पर्छ। यहाँ आफ्नो जिन्दगीसँग कोही पनि खुसी छैनन्। मिल्ने भए धेरैजसोले यहाँको नागरिकता त्याग्न चाहान्थे। यहाँ उल्लेखनीय रूपमा पुरुषहरू अविवाहित नै छन्। कारण आर्थिक कमजोर नै हो। सम्पन्न हुनु र खुसी हुनु निकै फरक कुरा हो। प्रेम दिवसमा गुलावकोे फूल बोकेर शहरमा डुलेजस्तो सहज छैन यहाँ प्रेमिल भएर बाँच्न।

उसका कुरा सुनेर म त निकै अचम्ममा परें। हामीले नेपालबाट देख्ने र नेपाली आँखाले हेर्ने कोरिया र वास्तविक कोरियामा आकाश–जमिनको अन्तर रहेछ। नेपाल कोरियाभन्दा मानवता र भावनात्मक हिसाबले निकै माथि रहेछ। भौतिक रूपमा देश सम्पन्न भए पनि आफ्नो देशको मौलिकता र संस्कृति बँचाएर जनतामा खुसी ल्याउन नसकिने हो भने कोरा विकास हुनु र नहुनुमा खासै फरक नहने रहेछ। उसका कुरा निकै नयाँ र चाखलाग्दा थिए। अरू पनि सुन्ने रहर लाग्यो। एउटै कोठामा सुतेका साथीहरूलाई निकै बोर लागेछ क्यारे , चुपचाप सुत्न आग्रह गरे। सायद कोरियनको दुःखको भाषा उनीहरूलाई मन परेन।

निदाउन खोजें तर सकिनँ। फेसबुक खोलें। इन्बक्समा धेरै मेसेज जम्मा भएछन्। रश्मिले ठट्यौली पारामा दुई ओठले गुलावको फूल च्यापेको फोटो पठाउन भियाइछे। एक समय म उसलाई धेरै मन पराउँथे तर समय हाम्रो पक्षमा उभिएन। जस्तो भए पनि उसलाई म असल साथीको रूपमा हेर्थें। उसका ओठले गुलाव च्यापेर पठाएको निकै प्रिय लाग्यो। इनबक्सका अरू मेसेजहरू त्यतिकै छोडिदिएँ।

रश्मिसँग मेरो दुई दिनअघि मात्रै कुरा भएको थियो। उसँग भएको संवाद कानमा ठोक्किरहे।

भिडियो कलमा मैले उसलाई जिस्क्याउँदै सोधेको थिएँ, ‘के छ प्रेम प्रणयदिवसको योजना?’

उसले हाहा गरेर लामो हाँसो हाँसी। मेरो खासमा तीन प्रेमी छन्। म भने कसैसँग सिरियस छैन। उनीहरू म भनेपछि हुरुक्कै हुन्छन्। अमेरिका र जापानमा एकएक जना र अर्को एकजना मेरो नजिकै बस्छ। मलाई यी तिनै जना खास लाग्दैनन्।

यो संसारमा प्रेम भनेको केही हैन। सबैथोक आवश्यकता हो। आफ्नोे आवश्यकता जहाँ पूरा हुन्छ मेरो प्रेम पनि त्यहाँ हुन्छ। म सबैलाई आफ्नै किसिमले समय मिलाउँछु। उनीहरूले मेरो दैनिकी धानिदिएका छन्। मेरो त प्रेम यही हो। विवाह त म यी तिनै जना तोरीहरूसँग गर्दिनँ। काठमाडौंमा आर्थिक हैसियत सम्पन्न भएको केटासँग मात्रै गर्छु। जसले मेरो सबै आवश्यकता पूरा गरोस्। पूरै शरीर गहनाले ढाकिदेओस्। यी प्रेमी त समय बिताउने माध्यम मात्रै हुन्। जसलाई म जतिबेला, जसरी पनि प्रयोग गर्न सक्छु। पुतली बत्तीको नजिक आएपछि डढाउनु बत्तीको धर्म हो। उसले मलाई यस्तो जवाफ लगाएकी थिई।

घडी हेरें। रातको बाह्र बजेछ। प्रेमबारे केही लेखूँ भन्ने हुटहुटी चलिरह्यो। जानुका अनलाइन रैछ। ऊ मेरो फेसबुकको साथी थिई। ऊ आधुनिक टाइपकी केटी हो। सामाजिक सञ्जालमा निकै मिठा र माथिल्लो स्तरको स्टाटस लेख्थी। कहिलेकाहीं स्याड पनि लेख्थी। मैले च्याट सुरु गरें। उसले पनि रिप्लाई गरिहाली। सामान्य कुरापछि प्रेमबारे तिम्रो धारणा के छ भन्दा उसले लेखी–प्रेम हावा रहेछ।उडाएर गयो। शीत रहेछ। पग्लिएर गयो। प्रेम नदी रहेछ। किनारा लगायो। म हावा शीत र नदी बनेर उसैमा समाहित भइरहें। मैले उसलाई अथाह प्रेम गरें मुनाले मदनलाई जतिकै। आगोले चितालाई गरेजस्तै उसको रूप नहेरी उसका औकात नहेरी। अपसोच! उसले आफ्नो औकात देखायो। मेरो हार्दिक प्रेमलाई गलत अर्थ लगाइदियो। सहनशीलतालाई कमजोरी ठान्यो। शरीरलाई उच्च र मनलाई निम्न स्तरको तराजुमा जोख्यो। मुटुबाट सुरु भएको सम्बन्ध आँखामा पुगेर सकियो। ऊसँग उज्यालोमा प्रेम गर्न डराउँथ्यो। अँध्यारोमा गरेको प्रेम सम्झौतामा छुटियो। अब बाँकी जीवनको उसैको नाममा समर्पण गर्छु।

कति फरक छ यी दुई नारीको प्रेममा। जानुकाको कुराले मन बिझायो। लाग्यो, प्रेम गर्न पनि ठुलो छाती हुनुपर्ने रहेछ।

जानुकासँग कुरा गर्दागर्दै कोरियाको बिहान हुन लागेछ। त्यसो त कोरियाको समय नेपालकोभन्दा तीन घन्टा अगाडि छ। म चुपचाप उठेर बाहिर कौसीमा निस्कें। म उठेर बाहिर आएको थाहा पाएपछि राहुल पनि मेरो पछिपछि आयो। मेरो नजिकै बसेर चुरोट सल्कायो। हिजो कोरियनसँग गरेको सबै संवाद सुनेको रहेछ । प्रेमबारे हाम्रो केही बेर बहस भइरहे।

उसले चुरोटको लामो सर्को तानेर भन्यो, ‘कहानी मेरो पनि उस्तै हो। फरक परिवेश, फरक भूगोल भए पनि प्रेममा टुट्ने मान्छेको मन उस्तै हुँदो रहेछ।

तिमीहरूको रातिको संवाद सुनें। रातभरि निन्द्रा लागेन। तिमी कतिबेला उठ्छौ भनेर पर्खेको थिएँ। मेरो कहानी पनि उस्तै छ, सुन्छौ नि? मैले इसाराले ‘हुन्छ’ भनें।

उसले आफ्नो कहानी भन्दै गयो। त्यतिबेला म त्रिचन्द्र कलेजमा आइएसी पढ्थें। ऊ विएसी फस्ट इयर पढ्थी। साइन्स पढे पनि त्रिचन्द्र कलेजमा धेरै साहित्यिक कार्यक्रम हुन्थ्यो। उसमा निकै कला थियो। उसको प्रस्तुति र रचना मन परेर मैले उसलाई फलो गरेको थिएँ।

केही समयमै हामी निकै नजिक भयौं। ऊ मसँग घुम्न, नाटक हेर्न र पानीपुरी खान खुब मन पराउँथी। मैले उसका ती इच्छा पूरा गरिदिन्थें। यी हर्कत हुँदाहुँदै हामी कति छिटै एक अर्काको प्रेममा परेछौं,थाहै भएन।

हामीमा खुब प्रेम थियो। दुई वर्षको अन्तरालमा ठुलो स्वरले बोलेको पनि याद छैन। झगडा त निकै परको कुरा।

मेरो आइएसी सेकेन्ड इयरको परीक्षा चल्दै थियो। उसको घरमा विवाहको कुरा चलेछ।

उसले एकदिन रुँदै भनी, ‘बरु म मृत्यु स्वीकार्छु तर विवाह गर्दिनँ।’

म आइएसी पढ्दै गरेको मान्छे। मेरो आफ्नै टुंगो थिएन। उसलाई कसरी स्वीकार्नु? केही समय पर्खन निकै अनुरोध गरें। उसको परिवारले जबर्जस्ती उसको अन्तै विवाह गराइदिए।

उसको विवाहपछि म आफू आफू रहिन। दुःख र पीडाको जञ्जालमा फसें। परीक्षा नमजासँग बिग्रियो। केही समय डिप्रेसनको सिकार भएँ।

जिन्दगी रोएर मात्रै नचल्ने रहेछ। काठमाडौंका हरेक गल्लीगल्लीमा उसका याद थिए। त्यसकारण कोरियन भाषा पढेर कोरिया आएँ।

कोरिया आएपछि काममा धेरै व्यस्त भइयो। ऊ बेलाबेलामा मेसेज गरिरहन्थी। मैले रिप्लाई गर्न समेत भियाउँदैनथे। एक विदाको बेला उसँग धेरै समय भिडियोकल भयो। उसले धेरै बाध्यताका कथा सुनाई।

अर्को बिहान उसले मलाई मेसेज गरी। हिजोको भिडियो कलले घरमा निकै समस्या भयो। मेरो त पारिवारिक अवस्था नै बिग्रिएला जस्तो छ।

ऊ पीडामा छे भन्ने ठानेर उसलाई ब्लक गरिदिएँ। ब्लक गरेको एक हप्तामै उसले सुसाइड गरिछे। यति धेरै प्रेम गरेको मान्छेको लास पनि देख्न पाइनँ।

जेनतेन आफ्नो मन सम्हालेर बाँचिरहें।

कोरिया आएको तीन वर्षपछि विदामा नेपाल गएँ। घरकाले केटी खोजेर राखिदिएका रहेछन्। नचाहँदानचाहँदै मागी विवाह भयो।

विवाह भयो। शरीर साटियो तर मैले श्रीमतीसँग मन साट्न सकिनँ। श्रीमतीलाई कहिल्यै प्रेम गरिनँ, गर्न सक्दिनँ र गर्ने पनि छैन। म वैवाहिक जिन्दगीसँग सम्झौता गरिरहेछु।

अहिले हाम्रो एउटा बच्चा छ। घरमा बाआमा खुसी छन्। समयसमयमा पैसा पठाइरहन्छु।

मैले आजसम्म श्रीमतीसँग प्रेमको अनुभूति गर्न सकेको छैन। कहिलेकाहीं लाग्छ। म उसलाई विवाह नामको सामाजिक बन्धनमा बाँधेर शारीरिक र भावनात्मक बलात्कार गरिहरहेछु। सूर्य र अग्नि साक्षी राखेर दुईचार वटा मन्त्र फुकेर विवाहको नाटक मञ्चन गर्दैमा प्रेम नहुने रहेछ। सामाजिक बन्धन र घरपरिवारको इज्जतको नाममा चलिरहेको हाम्रो यो प्रेमहीन सम्बन्ध खै कति समय टिक्ला।उसले चुरोटको लामो सर्को तान्यो।

उसको कुरा सुनेपछि लाग्यो मान्छेहरू यति धेरै बाध्यता र यति धेरै प्रेमहीन सम्बन्धमा पनि बसिराख्न सक्दा रहेछन्।

उज्यालो भइसकेछ। सबै साथी फ्रेस भइसकेछन्। त्यस दिन हामीले सउल घुम्ने योजना थियो।

कोरियाका विशेष चाडपर्व र लामा विदामा सउलको दोङदेमुन शहरमा नेपालको राजधानी काठमाडौंको असनमा जस्तै नेपालीहरूको भीडभाड हुने गर्थ्यो। नयाँ वर्षमा यहाँका सामाजिक संस्थाहरूले नेपालबाट राष्ट्रिय कलाकार बोलाउँथे भव्य कार्यक्रमहरू हुन्थे। तर, यो वर्ष न त कुनै प्रोगाम न त त्यो भीडभाड। प्रायः सुनसान देखिन्थ्यो नेपालीहरूको प्रमुख गन्तव्यस्थल दोङ्देमुन बजार।

नेपाली समाजका धेरै व्यवसायी दोङ्देमुन बजारमै रेस्टुरेन्ट र पसल व्यवसाय गर्छन्। तर, यो वर्ष कोरोनाले धेरैको व्यापार चौपट भएछ। कतिपय रेस्टुरेन्टहरू त बन्द भइसकेछन्।

हामीले बिहानको खाना दोङ्देमुन बजारको नेपालीमाझ प्रख्यात तीन नम्बर गेटको आडैमा रहेको एभरेस्ट होटलमा खायौं। त्यहाँबाट ट्याक्सी चढेर सउलको १६३ तले बिल्डिङको भ्रमणमा निस्कियौं।

१६३ तले बिल्डिङ कोरियाको सबैभन्दा अग्लो बिल्डिङ हो। हामीले त्यही बिल्डिङको १६३ औं तलाबाट सउल शहर नियाल्यौं। अहो! कोरियाको त्यो चमात्कारी विकास। शहरको माथिमाथि चलेका मनोरेलहरू। साँच्चिकै मनमोहक र सुन्दर देखियो। साथीहरूसँगको गफमा नेपाल र कोरिया बिच धेरै तुलना गरियो। दिनभरि हामी सउलकै सउल टावरदेखि संग्रहालयसम्म घुम्यौं। बेलुका राहुलको साथी गोरखातिरका एकजना दाइको कोठामा पुग्यौं। साथीहरू सबै मोवाइलमा व्यस्त भए। म दाइलाई खाना पकाउन सहयोग गर्न थालें।

उनले सोधे, ‘भाइ अविवाहित हो?’

मैले हाँसेर भने, ‘नेपालमा प्रेमिका मलाई पर्खेर बसेकी छ। अब छिट्टै गएर विवाह गर्छु होला।’

उनले भावुक हुँदै भने, ‘सबैको भाग्यमा प्रेम हुँदैन भाइ। माया गर्ने मान्छेलाई कहिल्यै धोका नदिनू। मैले पनि कसैलाई प्रेम गरिराछु तर मेरो प्रेम मभन्दा धेरै टाढा भागिसक्यो।’

उनको कहानी सुन्न मन लाग्यो।

दाइले आफ्नो कहानी सुनाए।

म त्यतिबेला आरआर कलेजमा एमए पढ्थे। ऊ मेरो क्लासमेट थिई। उसको घर दाङ, मेरो गोरखा। ऊ बाहुन परिवारकी थिई र म क्षेत्री।

पढ्नमा अब्बल भएकीले मैले राम्रो मान्थें।

एउटै क्लासमा भएकाले छिट्टै नजिक भइएछ। उसले एकदिन प्रेम प्रस्ताव राखी। मैले हुँदैन भन्दिएँ। कारण, हामीविच जात फरक थियो।

त्यसपछि उसले सम्झौतामा प्रेम गरौं भनी। जति समय सँगै बस्छौं । एक अर्काको भएर बाँच्ने कुुरा भयो।

म मास्टर्सको क्लासदेखि उसको बेडरुमसम्म पुगें। उसले खुब माया गर्थी। मलाई भने उसको खास माया लागेन। मैले उसको प्रेमलाई जवानीको प्यास सम्झिँरहें।

हाम्रो  मास्टर्स सकियो। उसको घरमा विवाहको कुरा चल्यो। मैले विवाह गर भनेर सम्झाएँ। ऊ धेरै रोई। घरमा विवाहको कुरा चलेपछि मसँग फोनमा रोइरहन्थी। मलाई उसको आँसु देखेर वाक्क लाग्थ्यो। ऊ रोएपछि फोन काटेर अफ गरेर सुतिदिन्थें।

उसले अति गरेपछि मोवाइलमा सीम चेन्ज गरिदिएँ। फेसबुकमा पनि ब्लक गरें।

पछि उसको विवाह भएछ। विहेमा सबै साथी गएछन्। मलाई पनि खुब सोधी रे।

उसको विवाह भएको एकदुई महिनापछि मलाई उसको बेसरी याद आउन थाल्यो। भेट्न मात्रै पाए हुन्थ्यो जस्तो लाग्थ्यो तर सम्भव थिएन। पुरानो सीम चलाएर फोन गरें तर फोन लागेन। फेसबुकमा अनब्लक गरें। उसले डिएक्टिभ गरेकी रहिछे।

धेरैपछि थाहा भयो। ऊ उसको श्रीमानसँग अमेरिका उडिसकिछे।

मलाई उसँग हुँदा उसको महत्त्व भएन। जब ऊ टाढा भई उसको सम्झना नजिक भयो। अहिले मलाई निकै पछुतो छ। अब त मैले चाहेर पनि ऊ मेरी हुन सक्दिन।

उनको कहानी पनि सबैको जस्तै रहेछ।

अपवादबाहेक प्रेमको अर्थ बुझेको मैले महसुस गरिनँ। मैले अहिलेको प्रेम प्रेमजस्तो देखिनँ। जात, धर्म, वर्ण, औकात र सम्पत्ति हेरेर गरिने प्रेम। प्रेम हो कि सम्झौता? खै कहाँ छ रोमियो–जुटियटको जस्तो आत्मीयता? राधा र कृष्णमा राधाको जस्तो समर्पण? मुना र मदनको जस्तो पर्खाइ? दुई दिनमा मन पराएर तेस्रो दिन वेक्रअप गर्नेहरू मायामा धोका पाए भनेको सुन्दा अचम्म लाग्छ। प्रेम त एउटा यस्तो खेल हो, जहाँ कुनै प्रतिद्वन्द्वी हुँदैन। दुवै पक्षको हार हुँदैन। जहाँ जीत नै जीत र खुसी नै खुसी हुन्छ।

आजभोलि धेरैले आफ्नो आवश्यकता र क्षणिक आकर्षणलाई प्रेम भन्दारहेछन्। एउटा गुलावमा र तीनवटा चकलेटमा प्रेमको किनबेच गर्नेहरूले आत्मिक प्रेमको अर्थ कति बुझे होलान्? प्रेमको अर्थ बुझेर प्रेम गर्नेहरूलाई कुनै प्रेमदिवस आवश्यक पर्दैन।

तैपनि नेपालमा करोडौंको गुलाव विदेशबाट मगाएर प्रेमहीन सस्तो बजारीय प्रेम दिवस मनाउनेहरूले शारीरिक सामीप्य र क्षणिक आर्कषणले मात्र जोडिएको सम्बन्ध प्रेम हैन भनेर कहिले बुझ्ने?

प्रकाशित: २७ माघ २०७८ १४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App