२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

दाइजो

लघुकथा

अम्बिका धिताल

‘युकेमा बसेर आएको केटालाई त्यही अनुसारकी केटी होली नि।’

रीमाले भनिन्, ‘धनी बाउकी एक्ली छोरी रे। पढ्न पनि मास्टर पास गरेकी छ रे। कतातिर जागिर पनि खान्छे रे भन्ने सुनेको।’

‘ए ! दाइजो त टन्नै दिन्छन् होला। कोठाको नाप लिन कहिले आउने हुन् कुनि?’ सुनिमाले थपिन्।

‘केके दाइजोपात दिंदा रहेछन्। त्यो नसुनौं भने पनि सुनिहालिन्छ नि।’ रीमाले होमा हो थपिन्।

केटीको कुरा छिनेदेखि नै यस्तैयस्तै कुरा सुन्न पाइएको थियो। कसैले भन्थे–केटी त बडो भाग्यमानी रहिछे।

कसैले भन्थे–धनी बाउको घरमा जन्मिनु नै भाग्य हो।

बिस्तारै बिहेको दिन पनि आयो। बाजागाजासहित झन्डै तीन सयको हाराहारीमा जन्ती लगेर जनकले छोराको बिहे गरे। बेलुकी छिमेकी रमेशकी बुढी रीमाले सोधिन्,‘भोजमा केके परिकार थियो? कत्तिको खर्च गरे त? बेहुलालाई केके र कति तोला जतिको सुन दिए?’

‘बुढीको प्रश्नमाथि प्रश्न थपिएको सुनेर रमेशले ‘तिमी महिलालाई यत्ति कुराको मात्र ध्यान छ है?’ भन्दै चुप लागे।

भोलिपल्ट जनकले आफन्त, साथीभाइ छरछिमेकी सबैलाई बोलाएर धुमधामसँग भोज खुवाए।

बेलुका रमेश घर आएपछि बुढीले फेरि सोधिन्,‘ए बुढा, आज सम्धिनी भेटमा केके गहना लेराएका थिए त भन्नुस् न मलाई कस्तो सुन्न मन लागिसक्यो अनि कति जनालाई भेट गरे त? भिडियो पनि खिच्नुभयो कि, हेरौं न। बेहुलाकी आमालाई त पूरै माथिदेखिको सेटै होला है?’

बुढीको कुराले दिक्क भएर रमेशले भने,‘हेर् बुढी! अब शिक्षित मान्छेले सुन र दाइजोसँग सम्बन्ध जोड्दैन सम्बन्ध त उसको आचरण र शीलस्वभावसँग जोड्ने हो। दाइजो भन्नु नै मिजासिलोपन र सरलपनका साथै महिलाको असल चरित्र हो। अर्को कुरा बिहे गरेर दुलहीले केके लिएर आई, दाइजो केके ल्याई र कति ल्याई भनेर चियोचर्चो गर्ने तिमीजस्ता मान्छेले दुलहीले केके छोडेर आई भनेर किन कहिल्यै सोच्न सक्दैनौ हँ?’ 

प्रकाशित: २७ माघ २०७८ ०३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App